धेरै युवा विदेशिएकाले अर्थतन्त्र सुस्ताएको हो?
ठूलो संख्यामा युवा विदेशतिर लागेकाले बजारमा उपभोग्य वस्तुदेखि घरजग्गा लगायतका क्षेत्रमा माग घटेको व्यवसायी तथा विज्ञहरूको मत छ।
व्यवसायी भन्छन्- बजारमा वस्तु तथा सेवाको माग घटेको छ। माग नै नभएपछि उत्पादन पनि घटेको छ र व्यवसाय चौपट छ।
विदेशबाट वस्तु आयातको तथ्यांकले पनि बजारको कारोबार बढ्न नसकेको देखाउँछ। पछिल्ला दुई आर्थिक वर्षमा आयात घटेको छ। यो आर्थिक वर्षमा समेत आयात झनै खस्किएको छ। आयात बढ्न नसक्नुको अर्थ हो, बजारमा माग शिथिल छ। अर्थात् अपेक्षाअनुसार, चिजबिज खपत भइरहेको छैन।
सरसामग्री र उपभोग्य वस्तुको माग नबढेको मात्रै होइन, घरजग्गाको कारोबार पनि न्यून छ। तीन वर्षअघिको तुलनामा किनबेच आधामा झर्नुले घरजग्गा किन्न खोज्नेको संख्या घटेको देखाउँछ। बजारमा माग नै घटेपछि व्यवसाय गर्न चाहिने रकम ब्यांकमा थुप्रिन पुगेको छ। अर्थशास्त्रको भाषामा ब्यांकिङ क्षेत्रमा तरलता अत्यधिक हुन पुगेको छ।
अर्थतन्त्रमा यस्तो शिथिलता केले निम्त्यायो? व्यवसायीहरू सरकार र नेपाल राष्ट्र ब्यांकतिर औंला सोझ्याउँछन्। उनीहरू सरकार र राष्ट्र ब्यांकले लिएको माग खुम्च्याउने नीतिका कारण अर्थतन्त्र मन्दीमा गएको आरोप लगाउँछन्।
कोभिड-१९ महामारी लगत्तै विदेशी मुद्राको सञ्चिती तीव्र गतिमा घटेपछि सरकार र राष्ट्र ब्यांकले आयात रोक्नेदेखि ब्यांकको ब्याजदर बढाउने र ब्यांकिङ क्षेत्रको कर्जा प्रवाहलाई घटाउनेसम्मका नीति लिएका थिए। यसको प्रभाव अहिलेसम्म परेको व्यवसायीको दाबी छ।
यद्यपि, सरकारले आयात रोक्ने खालका सबै पूराना नीति फेरबदल गरिसकेको छ। घरजग्गाको कारोबार बढाउन कयौं लचिला नीति अघि सारेको छ। रेमिटेन्सको वृद्धिले विदेशी मुद्राको सञ्चिती पनि अहिलेसम्मै सर्वाधिक पुगेको छ। लगानी गर्न वित्तीय प्रणालीमा फालाफाल रकम छ। तैपनि न बजारको माग बढेको छ न त व्यवसायी खुशी देखिन्छन्।
कतिपय जानकार भने अर्थतन्त्रको अहिलेको शिथिलताका पछाडिको कारण मान्छन्, युवा विदेशगमन। बढी उपभोग गर्ने उमेर समूह नै ठूलो मात्रामा विदेश पुगेपछि देशमा वस्तु र सेवाको माग खस्किएको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।
रेस्टुरेन्ट जानेदेखि नयाँ कपडा लगाउने र बढी सरसामग्री प्रयोग गर्ने समूह यही हो। ‘‘सबैलाई थाहै छ, बढी उपभोग गर्ने उमेर समूह युवा हुन्। कोभिड-१९ महामारीपछि ठूलो संख्यामा युवा विदेश गएसँगै बजारमा माग घट्यो, जसले अर्थतन्त्रलाई धेरै हदसम्म सुस्त बनाउन भूमिका खेल्यो,” श्रेष्ठ भन्छन्।
हुन् पनि २०७० सालयता लगातार घटिरहेको वैदेशिक रोजगारीमा जाने क्रम कोभिड-१९ महामारीपछि उल्टिन पुगेको थियो। पछिल्ला तीन आर्थिक वर्षमा त झण्डै २५ लाख युवाले वैदेशिक रोजगारी (नवीकरण समेत) र अध्ययनमा जान अनुमति लिएका छन्। यसबाहेक भ्रमण भिसामा गएर उतै बस्ने तथा अवैध बाटोमार्फत जानेको संख्या पनि कम छैन। बढी उपभोग्य वस्तु खपत गर्ने युवाको विदेशगमनसँगै माग घटेको हुनसक्ने आकलनलाई यी तथ्यांकले बल पुर्याउँछ।
नेपाल राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा त युवाको विदेशगमनका कारण अझै माग घट्ने आकलन गर्छन्। ‘‘बजारको माग स्वाट्टै घट्नुमा युवाको विदेश पलायन मुख्य कारण हो,” थापा भन्छन्, “देशभित्रको निराशा र विदेशको आकर्षणले गर्दा युवा पलायनले अर्थतन्त्रको समष्टीगत माग थप घट्ने जोखिम छ।”
युवा विदेशगमनले घटाएको माग
नेपाली युवाको विदेशतर्फको यात्रा नयाँ होइन। उच्च बेरोजगारी, सीमित आम्दानीका अवसर र राजनीतिक अस्थिरताले उनीहरूलाई विदेशतर्फ धकेलिरहेको छ। तर, यसका प्रत्यक्ष असर पछिल्लो समय थप गहिरिँदै गएका छन्। जानकारहरूका अनुसार, युवा विदेशगमनसँगै आन्तरिक उपभोगमा आएको गिरावटले खुद्रा व्यापार तथा उत्पादनमा पनि व्यापक असर गरेको छ भने कृषि र निर्माणजस्ता क्षेत्र समेत प्रभावित भएका छन्।
२०५० सालको दशकबाट बढ्न थालेको नेपाली युवाको विदेशगमन २०६० सालको दशकको अन्तिमसम्म आइपुग्दा चुलिएको थियो। आर्थिक वर्ष २०७०/७१ मा पाँच लाख २८ हजार युवाले वैदेशिक रोजगारीमा जान अनुमति लिएका थिए। यो त्यति वेलासम्मकै उच्च संख्या थियो।
त्यसपछिका वर्षमा भने युवाको विदेशगमन उल्लेख्य रुपमा घट्न थाल्यो। कोभिड-१९ महामारी उत्कर्षमा पुगेको आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ६७ हजारमा झर्यो। यसले वैदेशिक रोजगारीको आकर्षण कमजोर भएको हो कि भन्ने सन्देश दियो। तर, त्यसपछिको वर्ष २०७८/७९ मा ६ लाख ३७ हजार युवाले वैदेशिक रोजगारीमा जान अनुमति लिए। त्यसपछिका वर्षमा यो क्रम झन् बढ्यो।
आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार र आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार युवाले वैदेशिक रोजगारीको अनुमति लिएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन-असोज) मा पनि एक लाख ७० हजार जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिइसकेकाले यो वर्ष पनि गत वर्षकै हाराहारीमा विदेशिने संकेत देखिन्छ।
बितेका तीन आर्थिक वर्षमा वैदेशिक अध्ययनका लागि तीन लाख २५ हजार जनाले अनुमति लिएका छन्। यी सबै जोड्दा पछिल्ला तीन वर्षमा वैदेशिक रोजगारी (नवीकरण समेत) र विदेशमा अध्ययनका लागि करीब २५ लाख युवाले अनुमति लिएको देखिन्छ।
वैदेशिक रोजगारीमा गएको यही समूहका कारण बजारमा खाद्यान्नदेखि मोबाइल फोन र मोटरसाइकलसम्मको माग घटेको राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठ बताउँछन्। ‘‘देशभित्र उत्पादन उल्लेख्य नबढे पनि चामलको आयात समेत घट्नुले खाने मुखको संख्या घटेको प्रष्टै देखिन्छ,” श्रेष्ठ थप्छन्, ‘‘सबैभन्दा धेरै उपभोग गर्ने समूह विदेश गइरहेकाले बजारमा धेरै हदसम्म माग घटाएको छ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले भनेजस्तै चामलको खपत घट्नुले खाने मुखको संख्या घटेको आकलन गर्न मिल्छ। जस्तै, आर्थिक वर्ष २०७८/७९ मा नेपालमा धान-चामल गरी ११ लाख ३० हजार टन आयात भएकोमा आर्थिक वर्ष २०८०/८१ मा चार लाख १० हजार टन हाराहारी मात्रै आयात भएको छ। जबकि, यो बीचमा देशमा धानको उत्पादन पाँच लाख ९४ हजार मेट्रिक टन मात्रै बढेको छ। पछिल्ला दुई वर्षको धान चामलको आयात पछिल्लो दशकको थोरैमध्येमा पर्छ।
कोभिड-१९ महामारीको अवधिमा कामका लागि खाडी र मलेशियादेखि भारतसम्म पुगेका नेपाली मुलुक फर्किएका थिए। त्यसले गर्दा खाद्यान्नदेखि अन्य उपभोग्य सामाग्रीको माग बढाएको थियो। त्यसयता आयात घटेको छ। जस्तै, युवामाझ लोकप्रिय मोबाइल फोनकै आयात पनि उल्लेख्य घटेको छ। अर्थतन्त्रमा कोभिड प्रभाव नपरेको ६ वर्षअघि नै नेपालले वार्षिक झडै ४३ लाख वटा मोबाइल फोन भित्र्याउने गरेकोमा गत वर्ष यो संख्या ३६ लाख हाराहारीमा खुम्चिएको छ।
अझ योभन्दा पनि ठूलो फेरबदल त युवाले धेरैजसो चलाउने ल्यापटप र नोटप्याडमा देखिन्छ। गत आर्थिक वर्षमा एक लाख १५ हजार वटा मात्रै ल्यापटप भित्रिए, जबकि तीन वर्षअघि एक लाख ९० हजार ल्यापटप भित्रिएका थिए।
व्यवसायीहरू कपडा र जुत्ताको कारोबार समेत घटेको बताउँछन्। फेसनप्रेमी हुने भएकाले जुत्ता र कपडा छिटोछिटो किन्नेमध्ये युवा नै धेरै हुने काठमाडौंको असनमा लत्ताकपडाको व्यापार गर्ने विनोद श्रेष्ठ सुनाउँछन्। ‘‘मेरा धेरै ग्राहक विदेश गइसके। यसले गर्दा बिक्री धेरै नै घटेको छ,” श्रेष्ठ भन्छन्। उनको अनुभवले देशभरि नै देखिएको समस्या झल्काउँछ।
यस्तै, पेट्रोलियम पदार्थको समेत आयात घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा सात लाख ३९ हजार किलोलिटर पेट्रोल आयात भएकोमा २०८०/८१ मा ६ लाख ८८ हजार किलोलिटरमा झरेको छ।
युवा पंक्ति विदेश सोहरिएसँगै मोटरसाइकलको बजार नै असाध्यै खस्किएको व्यवसायी बताउने गरेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको दुईपाङ्ग्रे समितिका अध्यक्ष अभिक ज्योति गत वर्ष मोटरसाइकलको बिक्री पछिल्लो एक दशकमै सबैभन्दा कम रहेको बताउँछन्। अध्यक्ष श्रेष्ठका अनुसार, वर्षेनी तीन लाख ५० हजारसम्म दुईपाङ्ग्रे बिक्री हुने गरेकोमा गत वर्ष त्यो संख्या एक लाख १७ हजारजतिमा खस्कियो।
उनी यो वर्ष भने एक लाख ५० हजारजति बिक्री होला कि भन्ने अनुमान गरिएको सुनाउँछन्। ‘‘दुईपाङ्ग्रे सवारी चढ्ने अधिकांश युवा नै हुन्,” श्रेष्ठ भन्छन्, “हाम्रा डिलर र बिक्रेताले के भन्ने गरेका छन् भने दुईपाङ्ग्रेको बिक्री घट्नुमा युवाको विदेश पलायन पनि मुख्य कारणमध्ये एक हो।”
भन्सार विभागको आयातको तथ्यांकले पनि बजारमा माग बढ्न नसकेको प्रष्टै देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा नेपालले १९ खर्ब २० अर्ब रुपैयाँको मालसामान विदेशबाट मगाएको थियो। कोभिड-१९ महामारीका कारण अघिल्लो वर्ष आयात रोकिएकाले २०७८/७९ मा केही बढेको हुनसक्ने भए पनि यो आयातले बजारको बलियो मागलाई संकेत गर्छ। तर, आर्थिक वर्ष २०७९/८० मा आयात १६ खर्ब ११ अर्ब रुपैयाँमा झर्यो। गत आर्थिक वर्ष २०८०/८१ मा पनि आयात बढेन, झन् खुम्चिएर १५ खर्ब ९३ अर्ब रुपैयाँमा ओर्लियो।
आयातलाई देशको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा अझ प्रष्ट तस्वीर देखिन्छ। पाँच वर्षअघि आर्थिक वर्ष २०७५/७६ मा देशको अर्थतन्त्रको आकारका तुलनामा ३६.८ प्रतिशत रहेको आयात गत वर्ष २७.९ प्रतिशतमा खुम्चिएको छ। अर्थतन्त्रको आकारका तुलनामा गत वर्षको आयात पछिल्लो १२ वर्षयताकै न्यून हो।
यो वर्ष पनि आयात बढ्ने छाँट देखिएको छैन। भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महीना (साउन-असोज) मा नेपालले तीन खर्ब ९० अर्ब रुपैयाँका सरसामग्री विदेशबाट किनेको छ, जबकि यो बितेको वर्षको यहि अवधिको तुलनामा ४.१ प्रतिशत कम हो। गत वर्षको पहिलो तीन महीनामा नेपालले चार खर्ब आठ अर्ब रुपैयाँको मालमत्ता विदेशबाट झिकाएको थियो।
देशमै उत्पादन बढेर आयात खस्किएको भने होइन। बजारमा माग घटेका कारण देशभित्रका उद्योगले उत्पादन क्षमताका तुलनामा निकै न्यून उत्पादन गरिरहेको उद्योगी बताउने गरेका छन्। तथ्यांकले पनि त्यसको पुष्टि गर्छ।
राष्ट्र ब्यांकका अनुसार, आर्थिक वर्ष २०८१/८१ को पहिलो ६ महीना (साउन-पुस) मा देशभित्रका उद्योगको उत्पादन क्षमताको औसतमा ४२.९ प्रतिशत मात्रै उपयोग भइरहेको देखिएको छ। अर्थात्, उद्योगहरूले उत्पादन क्षमताभन्दा निकै थोरै मात्र उत्पादन गरिरहेका छन्। दूध, चकलेट, चाउचाउ, चिया, बियर, पेय पदार्थ, चुरोट, कपडाजस्ता उपभोग्य वस्तुको उत्पादन नराम्ररी खस्किन पुगेको तथ्यांकले देखाउँछ।
राष्ट्रिय तथ्यांक कार्यालयको औद्योगिक उत्पादन सूचकांकले पनि औद्योगिक उत्पादन बढेको देखाउँदैन। गत आर्थिक वर्ष २०८०/८१ मा औद्योगिक उत्पादन सूचकांक १२२.५७ मा सीमित भयो, जबकि यो अघिल्लो वर्षको तुलनामा समेत न्यून हो। गत आर्थिक वर्षको पहिलो दुई त्रैमासमा त उत्पादनमूलक क्षेत्रको आर्थिक वृद्धिदर नकारात्मक नै हुन पुगेको थियो।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक रेशम थापा महंगो भए पनि मन परेको चिज किनिहाल्ने भएकाले युवाको खरीद व्यवहार अन्य समूहभन्दा फरक हुने बताउँछन्। ‘‘बजारमा मागको शिथिलताका पछाडि युवाको बढ्दो विदेशगमन एउटा कारण हो। यद्यपि, यो मात्रै कारणले अर्थतन्त्र शिथिल भएको भन्न मिल्दैन,” थापा भन्छन्, “संघीयताको फितलो कार्यान्वयन, सुस्त भएको निर्माण र सरकारी खर्चको सुस्तताले पनि अर्थतन्त्रमा चाहिए जति माग सिर्जना भइरहेको छैन।”
दीर्घकालीन घाटा
बजारको माग घटेर शिथिलताको शिकार भएको अर्को महत्त्वपूर्ण क्षेत्र हो, घरजग्गा व्यवसाय। सरकारले चलायमान बनाउन अनेकौं प्रयास गरे पनि घरजग्गा बजारको शिथिलता यथावत छ। अहिले घरजग्गा खोज्नेभन्दा बेच्न चाहनेको संख्या धेरै भएको व्यवसायी बताउँछन्।
तथ्यांकले पनि बजार चलायमान भएको समयभन्दा अहिले घरजग्गा किनबेचको संख्या आधाले घटेको देखाउँछ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत असोजमा देशभरि ३० हजार ५२७ वटा घरजग्गाको किनबेच भयो। यो गत वर्षको असोजको तुलनामा करीब एक चौथाईले कम हो। घरजग्गाको बजार राम्रो भएको वेला मासिक कारोबार ७५ हजारभन्दा माथि पुगेको थियो।
गत जेठमा देशभरि ६१ हजार १६१ वटा घरजग्गा किनबेच भएसँगै बजार चलायमान हुन थालेको अनुमान गरिएको थियो। तर, त्यसयता हरेक महीना घरजग्गा किनबेच शिथिल हुँदै गएको छ। नेपाल आवास तथा जग्गा विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरे मुलुक छोडेर सधैंका लागि विदेशमा बस्न चाहने युवाको संख्या बढेसँगै शहरी क्षेत्रमा घरजग्गाको माग घट्दै गएको बताउँछन्। ‘‘स्थायी रुपमा विदेशमा बस्न जानेको बढ्दो संख्या, खासगरी विद्यार्थीको संख्या बढेसँगै घरजग्गाको माग स्वाभाविक रुपमा घट्छ,” घिमिरे भन्छन्, “घरजग्गा किनेर राख्न चाहनेहरू विदेश जान खोजिरहेका छन्। यो अहिलेको मात्र होइन, दीर्घकालसम्मकै समस्या हो।”
पछिल्ला वर्षमा अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देशमा विद्यार्थीका रुपमा जाने युवाको संख्या ठूलो छ। उनीहरूमध्ये धेरैको उद्देश्य तिनै मुलुकमा दीर्घकालीन रुपमा आवासको अनुमति लिने हुन्छ। पछिल्लो समयमा जापान, दक्षिण कोरियाजस्ता देशमा अध्ययनका लागि जाने क्रम पनि ह्वात्तै बढेको छ। यद्यपि, यी मुलुकले अहिलेसम्म नेपालीलाई स्थायी अनुमतिको प्रक्रिया सजिलो बनासकेका छैनन्। पछिल्लो समय त विद्यार्थी मात्रै होइन, नेपालमा विभिन्न पेशा व्यवसायमा सक्रिय व्यावसायिक समूह समेत स्थायी रुपमा विदेशमै बसोबास गर्ने उद्देश्यले देश छोडिरहेको जानकारहरू बताउँछन्।
स्थायी रुपमा विदेशमै बस्ने खोज्नेहरूले उतै आवास पनि जोड्ने हुँदा नेपालमा रेमिटेन्स पठाएर घरजग्गा किन्ने सम्भावना निकै सीमित हुन्छ। बरु, उनीहरू नेपालमा रहेको घरजग्गा समेत बेचेर आफू बसेकै मुलुकमा रकम लैजाने गरेको घिमिरे बताउँछन्। ‘‘स्थायी रुपमा विदेशमा बस्न जानेले नेपाल रकम पठाउनु त परै जाओस्, ढिलोचाँढो नेपालको घरजग्गा बिक्री गरेर समेत विदेशमा रकम पुर्याउँछन्, जसले गर्दा घरजग्गाको माग घट्छ, आपूर्ति बढ्छ,” घिमिरे भन्छन्।
अस्ट्रेलियाले गत वर्ष सार्वजनिक गरेको तथ्यांकले त्यहाँ घरजग्गा व्यवसायमा लगानी गर्नेमध्ये नेपाली मूलका नागरिक सातौं स्थानमा छन्। राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठ पनि छोराछोरी स्थायी रुपमा विकसित मुलुकमा बस्न थालेपछि बुवाआमा पनि सँगै जाने भएकाले घरजग्गा सहित बजारमा माग झन् घटाउनसक्ने बताउँछन्।
राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका पूर्व कार्यकारी निर्देशक थापा युवाको विदेशगमनसँगै बजारको माग घटेको मात्रै होइन, देशमा उत्पादनशील क्षमता समेत निकै कमजोर भएर गएको बताउँछन्। अझ, स्कूलको पढाइ सक्ने बित्तिकै विदेश हानिने चलन झाङ्गिदा युवा जनशक्तिले उच्च शिक्षामा ध्यान नदिने गरेकाले मानव पुँजी निर्माणमा असर परेको छ। ‘‘यो अहिले मात्रैको कुरा होइन, यस्तो प्रवृत्तिले मुलुकलाई दीर्घकालसम्म हानी गर्छ। खासगरी मानव पुँजी निर्माण र मुलुकको उत्पादनशील क्षमतामा निकै घाटा पुग्छ,” थापा भन्छन्।
देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाईको योगदान गर्ने र लाखौं मानिसलाई रोजगारी प्रदान गर्ने कृषि क्षेत्र बढी प्रभावित भएको छ, युवाको विदेशगमनका कारण। गाउँमा युवा नहुँदा धेरै परिवारले आफ्ना खेतबारी सम्हाल्न सकिरहेका छैनन्। कामदारको अभावले कृर्षिमा लागत बढ्दा खेतीबारी बाँझै छोड्ने गरिएको छ। यो ग्रामीण अर्थतन्त्रको लागि ठूलो समस्या बनेको विज्ञहरू बताउँछन्।
राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठ चाँहि मानिसको चरित्र नै एक ठाउँबाट अर्को ठाउँमा सर्ने भएकाले अवसर देखेर अन्यत्र हिड्ने मानवीय स्वभावलाई नियन्त्रण गर्न नसकिने बताउँछन्। युवाको विदेशगमनले तत्कालका लागि अर्थतन्त्रको माग घट्दा असर गरेको देखिए पनि दीर्घकालमा नेपालीहरू संसारभरि फिजिँदा व्यापार, लगानी तथा पर्यटन आदिका हिसाबले मुलुकलाई लाभ हुनसक्ने उनको तर्क छ। ‘‘अहिलेको परिवर्तनलाई आत्मसात् गर्नुको विकल्प छैन,” श्रेष्ठ भन्छन्, “बरु देशमा युवाको संख्या रित्तिदै जाने हो भने नेपालमा स्थायी बसोबास गर्न चाहनेलाई पनि स्वागत गर्न नीति खुकुलो बनाउनेतर्फ सोच्नुपर्ने हुनसक्छ।”
विदेशगमनबारे थप सामग्री: