लय समात्दै गौतमबुद्ध विमानस्थल, नियमिततामा अझै आशंका
चार वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल त बढेको छ तर स्थानीय व्यवसायी उडान नियमित हुनेमा ढुक्क छैनन्।
साढे दुई वर्ष आन्तरिक उडानमै सीमित बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान शुरू भएका छन्। चार वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेसँगै स्थानीय व्यवसायी खुशी भएका छन्। तर, यसअघि जस्तै केही समयपछि रोकिने पो हो कि भन्ने आशंका देखिन्छ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल भैरहवाबाट चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरेको देख्दा खुशी लागेको बताउँछन्। सँगसँगै यो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसम्म मात्र हुने हो कि भन्ने अर्यालको चिन्ता छ। “भैरहवाबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भयो भने उद्योग व्यवसाय, पर्यटन क्षेत्रसँगै सिङ्गो लुम्बिनी प्रदेशको विकासमा टेवा पुग्नेछ,” उनी भन्छन्।
त्यस्तै, अन्तर्राष्ट्रिय उडान नियमति हुँदा लुम्बिनीसँगै कर्णाली, सुदूरपश्च्मि र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुनेछ। आन्तरिक तथा बाह्य पर्यटक बढ्ने मात्र नभई वैदेशिक रोजगारीका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने अध्यक्ष आर्यालको भनाइ छ।
देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो। यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो। २०७९ जेठ २ मा यसको उद्घाटन भएको थियो। उद्घाटन गरेकै दिन उडान थालेको जजिरा एअरलाइन्सले आठ महीनापछि पुस ६ मा विभिन्न कारण देखाउँदै रोकेको थियो।
हिमालयन एअरलाइन्सले पनि उस्तै निर्णय गर्यो। अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको केही समयमै रोक्यो।
अहिले जजिरा एअरलाइन्सले फेरि उडान शुरू गरेको हो। जजिरासँगै नेपाल एअरलाइन्स, थाइ एअर एशिया र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक वज्राचार्य बताउँछन्। “विमानस्थलको उद्घाटन भएको साढे दुई वर्षपछि फेरि अन्तर्राष्ट्रिय उडान शुरू गरेका छौं,” उनी भन्छन्।
थाई एअर एशियाले कात्तिक २३ देखि उडान गरेको छ। त्यस्तै, जजिरा एअरवेज, फ्लाइ दुबई र नेपाल एअरलाइन्सले कात्तिक २४ बाट उडान शुरू गरेका हुन्।
चारै एअरलाइन्सको उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर तालिका बनिसकेको विमानस्थलका प्रवक्ता वज्राचार्य बताउँछन्। उनका अनुसार, नेपाल एअरलाइन्सले साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ। काठमाडौं-भैरहवा-दुबई उडान हुनेछ।
यस्तै, जजिरा एअरलाइन्सले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा-कुवेत उडान गर्नेछ। थाई एअर एशियाले सोमबार र बिहीबार भैरहवा-ब्यांकक उडान गर्ने तय भएको छ। फ्लाई दुबईको विमान हरेक दिन दिउँसो १ः४५ बजे भैरहवामा अवतरण गर्ने र २ः४५ बजे उड्ने तालिका छ।
त्यस्तै, कतार एअरवेजले कात्तिक २७ गतेबाट उडान गर्ने भएको छ। प्रवक्ता वज्राचार्यका अनुसार कतार एअरवेजले दोहा-भैरहवा-काठमाडौं दैनिक उडान गर्ने तय भएको छ।
अहिले गौतमबुद्ध विमानस्थलबाट दैनिक १५ वटा आन्तरिक उडान हुँदै आएका छन्। बुद्ध एअरले काठमाडौं-भैरहवा नौ वटा र पोखरा-भैरहवा एउटा उडान गर्दै आएको छ। त्यस्तै, यती एअरलाइन्सले काठमाडौं-भैरहवा तीन वटा उडान गरिरहेको छ। श्री एअरलाइन्सले काठमाडौं-भैरहवा दुईवटा उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।
छूटले आकर्षित
विमानस्थल उद्घाटन भएसँगै अन्तर्राष्ट्रिय उडान थालेको जजिरा एअरवेजले आठ महीनापछि उडान रोकेको थियो। अहिले फेरि अन्तर्राष्ट्रिय उडान शुरू गरेको छ। अहिले के फरक भयो?
विमानस्थल कार्यालयका प्रवक्ता वज्राचार्य सरकारले सहुलियत दिएपछि एअरलाइन्स कम्पनी आकर्षित भएको बताउँछन्। उनका अनुसार, विमानस्थलको पार्किङ र नेभिगेशनमा लाग्ने शुल्कमा पूर्ण छूट दिइएको छ।
त्यस्तै, हवाई इन्धनमा प्रतिकिलोमिटर सय अमेरिकी डलर, हवाई टिकटमा लाग्ने गरेको प्रतियात्रु सेवाशुल्कमा ७५ प्रतिशत छूट दिइएको छ। यससँगै पर्यटक शुल्कमा पनि ७५ प्रतिशत छुट दिइएको वज्राचार्य बताउँछन्। पर्यटक शुल्क एक हजार रुपैयाँ लाग्ने गरेको थियो।
‘फेरि बन्द नहोस्’
चारवटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि स्थानीय व्यवसायी हौसिएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि व्यवसायीले ठूलो लगानी गरेका थिए। तर, उडान नहुँदा घाटा बेहोरिरहेका थिए।
अन्तर्राष्ट्रिय उडानले आशा जगाएको पर्यटन व्यवसायी सीपी श्रेष्ठ सुनाउँछन्। “अन्तर्राष्ट्रिय उडानको आशमा लगानी गरेका होटल तथा पर्यटन व्यवसायी निराश भइसकेका थिए, अहिले केही आशा जगाएको छ,” श्रेष्ठ भन्छन्, “तर यसअघि उडान भएको केही समयमै बन्द भयो। अहिले पनि त्यस्तै हुने हो कि भन्ने आशंका छ, ढुक्क बन्न सकेका छैनौं।”
भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले सिङ्गो प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास छ। निजी क्षेत्रको लगानी सुरक्षित गर्न र यस क्षेत्रको पर्यटकीय विकासका लागि पनि अन्तर्राष्ट्रिय उडान नियमित बनाउनुपर्ने उनको भनाइ छ। “हाम्रो आशा निराशामा नबदलियोस्,” श्रेष्ठ भन्छन्, “यति उडानले निरन्तरता पाए पनि पर्यटनसँगै लुम्बिनी प्रदेशको विकासमा सहयोग पुग्नेछ।”
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि फेरि शुरू भएको अन्तर्राष्ट्रिय उडानले खुशी तुल्याएको बताउँछन्। तर, उडान नियमित हुन्छ कि हुँदैन भन्नेमा ढुक्क बन्न नसकेको सुनाउँछन्। “विगतमा जजिरा र हिमालयन एअरलाइन्सले उडान गरेको केही समयमै बन्द गरेका थिए, त्यसैले अहिले पनि ढुक्क बन्न सकिएको छैन,” उनी भन्छन्।
अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको करोडौं रकम डुब्ने अवस्थामा पुगेको उनी बताउँछन्। “ढिलै भए पनि अहिले उडान शुरू भएको छ, यो स्वागत योग्य काम हो,” उनी भन्छन्, “अन्तर्राष्ट्रिय उडान नियमित बनाउनका लागि निजी क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्न हामी तयार छौं।”
यसलाई नियमित बनाउन सरकारले पनि केही काम गर्नुपर्ने व्यवसायीको भनाइ छ। विमानस्थलमा पूर्वाधारको कमी रहेकाले यथाशक्य पूर्णता दिनुपर्ने पर्यटन व्यवसायी श्रेष्ठ बताउँछन्। मेनपावर कम्पनी, स्वास्थ्य परीक्षण लगायत अन्तर्राष्ट्रिय उडानमा चाहिने सबै प्रक्रिया भैरहवाबाट हुने व्यवस्था मिलाउनुपर्नेमा जोड दिन्छन्।
त्यस्तै, विमानस्थल प्रयोग गरेर विदेश जानेहरूका लागि आवश्यक श्रम स्वीकृति, स्वास्थ्य परीक्षण लगायतका काम हुने सरकारी कार्यालय भैरहवामै सञ्चालन गर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ बताउँछन्। यससँगै विमान कम्पनीलाई दिने घोषणा गरिएका छूट र सहुलियत यथाशीघ्र कार्यान्वयनमा ल्याउन पर्ने उनको भनाइ छ।
विमानस्थल कार्यालयका प्रवक्ता वज्राचार्य तयारी गरेरै अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिएकाले अब नियमित हुने बताउँछन्। “विगतमा केही प्राविधिक समस्या थियो, अहिले छैन,” उनी भन्छन्, “फेरि हामीले धेरै गृहकार्य गरेर पुनः उडान शुरू गरेका हौं। अब नियमित अन्तर्राष्ट्रिय उडान हुन्छन्।”