गण्डकीका प्रदेश सांसद दीपक मनाङे पक्राउ
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री दीपक मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
मनाङेलाई मंगलबार बिहान काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले हिमालखबरलाई बताए। मनाङेलाई केहीबेरमा अदालतमा बुझाइने उनले बताए।
२० वर्ष पुरानो दुई समूहबीचको झगडाको मुद्दामा सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई दोषी ठहर्याउँदै पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। २०६१ सालमा मनाङेले आफ्ना प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी हानेर हात छिनाइदिएका थिए।
उक्त घटनामा प्रहरीले मनाङे विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। काठमाडौं जिल्ला अदालतले भने कुटपिट मात्रै ठहर गर्दै दुई वर्ष कैदको सजाय सुनाएको थियो। जिल्लाको फैसला अनुसार कैद सजाय भोगेर उनी बाहिरिए पनि सरकारी वकीलको कार्यालयले तत्कालीन पाटन पुनरावेदन अदालतमा निवेदन दिएको थियो। पुनरावेदन अदालतले २०६९ सालमा जिल्लाको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद हुने फैसला गरेको थियो। तर न त मनाङेले पुनरावेदन अदालतको निर्णय विरूद्ध सर्वोच्चमा निवेदन दिए, न पक्राउ नै परे।
बरू कालान्तरमा मनाङे राजनीतिमा आए, र २०७४ सालको चुनावमा मनाङबाट प्रदेश सभा सदस्य चुनिए। त्यसपछि मात्रै मनाङे ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी करार भएका फरार व्यक्ति रहेको खुलेको थियो। लगत्तै प्रहरीले पक्राउ गरे पनि मनाङेले फैसलाबारे आफूले थाहा नपाएको भन्दै बाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा प्रयोग गरेका थिए। त्यसपछि २०७५ सालमा उनले सर्वोच्चमा पुनरावेदन दिएका हुन्। ६ वर्षपछि सर्वोच्चले पुनरावेदनकै फैसला सदर गरिदिएपछि उनी फेरि पक्राउ परेका हुन्।
अदालतले दोषी ठहर्याएपछि नै राजनीतिमा लागेर मनाङे गण्डकी प्रदेशमा पटक पटक मन्त्री बनिसकेका थिए। २०७८ सालयता मात्रै उनी प्रदेश सरकारमा सात पटक मन्त्री बनिसकेका थिए। पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनले वन तथा वातावरण मन्त्री बनाएपछि मनाङेले अधिकार नै नभएको मन्त्रालय दिएको भन्दै गत भदौ १७ गते राजीनामा दिएका थिए। उनले वन मन्त्री पद आफूले बढाबढमा बिक्रीमा राखेको विवादस्पद अभिव्यक्ति समेत दिएका थिए। यअसघि कैद बसेको अवधि समेत कटाउँदा मनाङेले अझै दुई वर्षभन्दा बढी जेलमा बस्नुपर्नेछ।
कैद सजाय सकिएपछि उनले राजनीतिमा सक्रिय हुन सक्ने या नसक्ने भने सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि मात्रै निर्क्योल हुनेछ।