‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘हाम्रा नीतिहरू नै पितृसत्तामा आधारित छन्। हाम्रा कानून हिन्दू संस्कारबाट निर्देशित छन्। अझै पनि पतिलाई देउता मान्नु पर्ने धारणा व्याप्त छ।’
पाँच दशकयता नेपालको विकास-योजना, अर्थतन्त्र, श्रम बजार, लैङ्गिक सम्बन्ध लगायत विषयमा अनुसन्धानरत अर्थशास्त्री हुन्, डा. मीना आचार्य (८३)। उनको चिनारीमा ‘नेपालको जेठो राजनीतिक दल प्रजा परिषद्का संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी’ भन्ने परिचय शुरूमा जोडिने गर्छ। जसमा उनी गर्व पनि गर्छिन्।
हालसालै उनको आत्मकथा स्वतन्त्रता र समानताको निरन्तर यात्रा प्रकाशनमा आएको छ। किताबमा उनको बाल्यकालदेखि स्वावलम्बी महिला भएर बाँच्न परिवार र समाजसँग गर्नुपरेको संघर्ष तथा तत्कालीन सामाजिक, राजनीतिक, शैक्षिक परिवेशसम्मका कुरा छन्। यही किताबको सन्दर्भमा आचार्यसँग उनको जीवनयात्रा र अनुसन्धान कर्मबारे हिमालखबरको ‘किताबको कुरा’ शृंखलामा अनिता भेटवालले गरेको कुराकानीः
तपाईंको क्षेत्र र पेशाका कमैले मात्र आत्मकथा लेखेको देखिन्छ। आत्मकथा लेख्नुपर्छ भन्ने किन लाग्यो?
मैले आत्मकथा लेखेर आफैंलाई मूल्यांकन गरेकी हुँ। मैले जिन्दगीमा के के गरें भन्ने समीक्षा पनि हो। बुवा जेल परेपछि आमा एक्लैले म र बहिनीलाई हुर्काउनुभयो। त्यस वेला बस्ने घर पनि थिएन। त्यस्तो अवस्थामा बल्लबल्ल दुई वटा कोठा भाडामा लिएर बसेका थियौं।
आमा धेरै नपढे पनि राजनीतिक चेत जबर्जस्त थियो। बुवाको राजनीतिलाई धेरै सघाउनुभयो। आमा हामीलाई राति सुताउने वेला साहसिक कथा सुनाउनुहुन्थ्यो। त्यही वेला धेरै पढेर यो देशको सेवा गर्छु भन्ने लाग्थ्यो।
पहिले त विज्ञान पढेर आविष्कार गर्छु भन्ने सोच थियो। तर त्यो विषय पढ्न पाइएन। त्यसपछि जहाँ जहाँ अवसर पाएँ, काम गर्दै गएँ। भारतमा स्नातक पढेपछि थप पढ्न रूस गएँ। रूसबाट फर्केर नेपाल राष्ट्र ब्यांकमा काम गर्न थालें।
रूसमा मार्क्सवाद पढेको थिएँ। त्यसले सामाजिक सेवातिर ढल्कायो। पञ्चायतकाल थियो, जागीर छोडेर राजनीतिमा लागें। तर राजनीतिमा लामो समय टिकिनँ। विद्यावारिधि गर्न अमेरिका गएँ। यसरी धेरै कुरा भोगियो।
अब काम गर्न सक्दिनँ भन्ने लागेपछि किताब लेख्न बसें। देशको अर्थतन्त्र र समाज कस्तो थियो, हाम्रो पुस्ताले कस्तो संघर्ष गरेको थियो भन्ने बताउन पनि आफ्नो अनुभव लेख्नुपर्छ भन्ने लाग्यो।
राणा शासन विरोधी आन्दोलनमा लाग्दा जेल परेका पिताको पुत्रीका रूपमा तपाईं हुर्किनुभयो। त्यस वेलाको अनुभव सुनाइदिनुस् न।
हामी जन्मिँदा आमा राजनीतिमा लागिसक्नुभएको थियो। २००४ सालमा हजुरबुवा बितेपछि आमाले हामीलाई काठमाडौं गौशालास्थित स्कूलमा भर्ना गरिदिनुभयो। त्यस वेला राजनीतिक परिवर्तनका गतिविधि भइरहेका थिए। २००६ सालमा कांग्रेसी पत्रिका बाँड्ने काम पनि गरियो। त्यतिवेला बुबा जेलमा हुनुहुन्थ्यो।
त्यस वेला स्कूलमा ‘आज तेरो बुवालाई झुन्ड्याउने रे’ भनेर सुनाउँथे। हामी आत्तिन्थ्यौं। राणााले बुवासँगैका चार जना धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई फाँसी दिएका थिए। गणेशमान सिंहलाई पनि झुन्ड्याउँछन् भन्थे। डरत्रासको मनोविज्ञानमा हुर्कियौं। तर बाल्यकालदेखि नै आमाको विद्रोह देखेका हामीमा पनि विद्रोही भावना जागेको थियो र देशको सेवा गर्ने मनस्थिति बनाएका थियौं।
आमा हकी स्वभावकी हुनुहुन्थ्यो। २००६ सालमा बुवा र अरुका चिठी उहाँले एक्लै दिल्ली लैजानुभयो। जवाहरलाल नेहरू, जयप्रकाश नारायण लगायत धेरैका नाममा चिठी लेखिएका हुन्थे। चिठी लग्दा समातिने जोखिम हुन्थ्यो। त्यस्तो डरबीच पनि आमाले खुट्टाको तलदेखि माथिसम्म चिठी बाँधेर लैजानुहुन्थ्यो।
एक पटक आमाले केही चिठी जयप्रकाशलाई दिनुपर्ने थियो। भारत जाँदै हुनुहुन्थ्यो, तर वीरगञ्ज, रक्सौलमा राति पुलिसले आमालाई खोजिरहेको थियो।
बीपी कोइरालाले आफूले चिठी भारत पुर्याइदिने भने पनि आमाले मान्नुभएन। आफैं लैजान्छु भन्नुभयो। त्यसपछि राति प्रहरीबाट छलिएर भागेका थियौं। आमा पक्राउ पुर्जी काट्दा पनि ‘लुकेर कति बस्नु! अब सिंहदरबार नै जान्छु’ भन्नुहुन्थ्यो। प्रहरीले वेलावेला दुःख दिइरहन्थे।
हजुरबुवाले तपाईंलाई नाति नै भनेर हुर्काएको लेख्नुभएको छ। हजुरबुवाले तपाईंलाई नातिको रूपमा सोच्नु उहाँको नातिमोह थियो वा नातिनीलाई पनि अघि बढाउनुपर्छ भन्ने प्रगतिशील चेत?
हजुरबुवाको एक्लो छोरा हुनुहुन्थ्यो बुवा। छोराको छोरा जन्मिएको थिएन। हामी दुई छोरी जन्मिएपछि बुवा जेल परिहाल्नुभयो। उहाँ जेल गएपछि हजुरबुवाले ‘मेरो एक्लो छोरो जेल पर्यो’ भनेर चिन्ता प्रकट गर्नुभयो।
त्यसको जबाफमा बुवाले ‘तपाईं जस्ता धेरैको सेवा गर्नु छ’ भन्नुभएको सम्झना हुन्छ। भएको एउटा छोरा जेल परेपछि हजुरबुवाले हामी नातिनीलाई नै नाति मानेर हुर्काउनुभयो। हामीलाई पाइन्ट-सर्ट लगाइदिनुहुन्थ्यो।
त्यो वेला पनि तपाईंकी आमा निकै प्रगतिशील देखिनुहुन्छ। आमामा त्यो चेतना कसरी आयो?
आमालाई आफ्नै माइतीबाट यो पाठ मिलेको थियो। आमाको माइतीपट्टिको हजुरबुवा राणासँग एकदमै रिसाउनुभएको थियो। बुबालाई जेल हाल्दा आमाले विस्मत मानेको वेला हजुरबुबाले ‘कुनै दिन सिँदुरे जात्रा गरेर ल्याउँछन् ज्वाइलाई’ भन्नु हुन्थ्यो।
आमाको नौ वर्षमा विवाह भयो। त्यतिवेलासम्म घरमै लेखपढ गराएको थियो। राम्ररी लेखपढ गर्न सक्नुहुन्थ्यो। त्यो वेला छोरीलाई पढाउनु प्रगतिशिल सोच नै हो। बुबाको तुलनामा आमा लैंगिकताको दृष्टिकोणबाट अझै प्रगतिशिल हु्नुहुन्थ्यो। तैपनि बुबाले त्यसवेलाका चिठ्ठीमा ‘तिमी एक्लै भयो, अर्को विवाह गर। त्यसमा मलाई केही आपत्ति छैन’ भनेर समेत लेख्नु भएको रहेछ।
तपाईले पनि नौ-दश वर्षको उमेरमै देश र जनताको सेवा गर्छु भनेर सोच्नुभयो, त्यसमै अडिग रहनुभयो। यो प्रेरणा कहाँबाट प्राप्त भयो?
त्यो आमाको प्रेरणा हो। बुबा त जेलमै हुनुहुन्थ्यो। पढेन भने आमा रिसाउँनुहुन्थ्यो, जसैगरि पढ्नै पर्छ भन्नुहुन्थ्यो। मलाई मात्र होइन, आफ्ना भान्जीहरूलाई पनि त्यसै भन्नुहुन्थ्यो। आफूले पनि पढाउनुहुन्थ्यो। एकैछिन पनि समय खेर नफाल्ने, जे भेटाए पनि पढिरहने गर्नुहुन्थ्यो। आमाका यस्तै कुराले बाल्यकालमा नै देश र जनताको सेवा गर्नुपर्छ भन्ने सोच आएको हुनुपर्छ।
पुस्तकमा पिता टंकप्रसाद आचार्य आमाको तुलनामा संकीर्ण र परम्परावादी देखिनुहुन्छ, खासगरी लैंगिक समानताको हिसाबबाट। जबकि, जेम्स फिशरको पुस्तकमा समयभन्दा निकै अगाडि बढेको, संसारका क्रान्ति र आन्दोलनको अध्ययन गरेको मान्छेको रुपमा वर्णन गरिएको छ। राजनीतिक चिन्तन र व्यवहारमा सामञ्जस्य नभएको हो?
हो, पुरुषवादी चेत एकाएक परिर्वतन नहुँदोरहेछ। अहिलेका नेताहरूलाई नै हेरौं न। ठूला ठूला कुरा त गर्छन् तर पनि महिलाप्रतिको हेराइमा परिवर्तन आएको देखिँदैन। लोग्नेमान्छेले जे गरे पनि हुने भन्ने वातावरणबाट हुर्किएका हुन्छन्। त्यसैले एकै पटक परिवर्तन हुँदोरहेनछ।
बुबा मात्र भए त म रूस गएर पढ्न पाउँदिन थिएँ। आमाको जोडबलले मात्र सम्भव भयो। बुवाले त ‘विवाह गर्ने वेला भयो, किन बाहिर जाने’ भन्नु भएको थियो। त्यसैले बुवासँग विभिन्न कुरामा झगडा पनि हुन्थ्यो। लैंगिकता र घरका कुरामा पनि झगडा हुन्थ्यो।
राष्ट्र ब्यांकमा जागिर खान्थे। बजेटको समयमा भने अबेर रातिसम्म काम हुन्थ्यो। त्यो वेला पनि राति अबेर हुँदा गाली गर्नुहुन्थ्यो। राति हिड्न सुरक्षा छैन भनेर पनि बारम्बार कराइरहनुहुन्थ्यो।
बुवाले ‘राजालाई बचाउनुपर्छ, राजा नभए बाहिरियाले हस्तक्षेप गर्छन्’ भन्नुहुन्थ्यो। हामी चाँही यो व्यवस्था पनि परिवर्तन हुनुपर्छ भन्थ्यौं। त्यसवेला बुवाहरूले नेपालको राजनीतिक आन्दोलन हाँके पनि राजनीतिक विचार भारतबाट प्रभावित हुन्थ्यो। उनीहरू मार्क्सवाद पढेर आएका थिए। बढी राष्ट्रवादी हुनुहुन्थ्यो, राजा फाल्नुपर्छ भन्ने मत थिएन। हामी प्रजातान्त्रिक राष्ट्र भएपछि सेतो हात्तीलाई किन राख्ने भन्थ्यौँ।
२०४६ सालको आन्दोलनमा पनि सबै बैठक हाम्रो घरमा नै भएका थिए। विस्तारै सबै राजनीतिमा भारतीय हस्तक्षेप बढेपछि बुबाले ‘अब म राजनीतिमा रहन्न’ भन्न थाल्नुभएको थियो। नेपालमा कस्तो व्यवस्था चाहिन्छ भन्ने विषयमा मतमतान्तर भइरहन्थ्यो।
हुन पनि २००७ सालमा कोही दिल्ली गयो भने मन्त्री भएर आउँछ भन्थे। अनि बुवाले भनेको पनि ठिकै हो जस्तो पनि लाग्थ्यो। उहाँ सधै भारतको यस्तो कूटनीतिको विपक्षमा हुनुहुन्थ्यो। भारतले बुवालाई कहिल्यै राम्रो नजरले हेरेन। त्यसैले पनि उहाँको राजनीति आफ्नो लागि सफल भएन, तर नेपालको लागि सफल भयो।
टंकप्रसाद आचार्यको दलमा सहभागी भएका, आन्दोलनमा लागेका र जेल पनि परेका धर्मरत्न यमीले आफ्नो पुस्तक ‘नेपालका कुरा’मा १९९७ सालमा जेल परेपछि आचार्यले जात खस्केकोमा दुःख मनाउ गरेको र जात जोगाउन लागिपरेको लेखेका छन्। के साँच्चै जात व्यवस्थाको मामिलामा अलि परम्परावादी नै हुनुहुन्थ्यो?
त्यो भन्नै गाह्रो छ। जात व्यवस्था मान्ने हुनुहुन्थ्यो भनौं भने पनि इन्द्रचोकबाट सबै जातजातीका व्यक्ति हाम्रो घरमा चिया खान आउनुहुन्थ्यो। त्यो वेलाका नेताहरूको दुई वटा चरित्र थियो। अहिले पनि त्यस्तै छ।
खासमा हामी पनि त भन्नलाई देउता मान्दैनौं भन्छौँ तर पनि मन्दिर जान्छौं। आफू पूजा गर्न बस्दा शालिग्राम गुड्यो भने पनि बुबाले ‘यस्ता देउता रे, आफूलाई त सम्हाल्न सक्दैनन्, संसारलाई कसरी सम्हाल्छन्’ भन्नुहुन्थ्यो। फेरि उठाएर पूजा गर्नुहुन्थ्यो। मलाई पनि बुबाले रूसबाट आउँदा ‘स्कर्ट नलगा’ भन्नुभयो। तर मैले बुवाले भनेको यस्ता ससाना कुरा मान्दिनथेँ।
संसारका स्थापित व्यक्तित्वका सन्तानमा कतिपय माता-पिताको व्यक्तित्वको ओजले थिचिएको र ओझेल परेको पाइन्छ भने कतिपय सजिलोसँग स्थापित भएको पाइन्छ। तपाईंलाई यी दुईमध्ये कतै राख्न सकिन्छ?
म आफ्नै कारणले पनि स्थापित भए। तर त्यति भन्दै गर्दा पनि मेरो परिचयभन्दा अघि अघि बुबाको परिचय आउँथ्यो। तैपनि बुबाको जस्तो ठूलो परिचय बनाउने स्थानमा कहिल्यै पुगिन। १९९७ सालको परिस्थितिमा राजनीति गरेर प्रधानमन्त्री भएको व्यक्तिको जस्तो मैले के व्यक्तित्व बनाउन सकुला र!
मैले आफ्नो परिचय लेखपढ र अनुसन्धानबाट बनाए। तैपनि, पहिला पहिलो बुवाका साथीहरूले जहिल्यै टंकप्रसाद आचार्यको छोरी मात्र भन्दा रिस उठ्थ्यो। किनभने मेरो पनि त परिचय थियो। तर विस्तारै रिसाउन छाडें। बुवाको परिचय मेरोभन्दा खास छ र त्यो स्विकार्दा बेफाइदा हुँदैन भन्ने लाग्न थाल्यो।
फेरि यो समाजका लागि त्यो वेला म अर्थशास्त्री भन्दा पनि ‘टंकप्रसाद आर्चायको जेठी छोरी जो विदेशीसँग विवाह गरेकी छे’ भन्ने नै थियो। हुन त बीपी कोइरालाकी बहिनी पनि पाकिस्तानीसँग विवाह गरेर उतै गइन। मैले विदेशीसँग विवाह गरे पनि श्रीमान् र छोरी यहि ल्याएँ, पञ्चायतसँग लडेर जागिर खाएँ। आफैले कमाएर घर चलाई बसेको थिएँ। तर नेपाली समाजले मेरो कामलाई भन्दा विदेशीसँग विवाह गरेको कुरालाई धेरै महत्त्वपूर्ण ठान्यो।
भारत, रूस र अमेरिकामा पढ्नुभयो। रूसमा समाजवादी र अमेरिकामा उदारवादी अर्थतन्त्रबारे अध्ययन गर्नुभयो। नेपालमा काम गर्दा कस्तो अर्थराजनीतिक प्रणालीलाई जोड दिनुभयो?
बुबा पनि समाजवादी विचारधार राख्ने मान्छे हो। त्यसैले गरिबलाई उकास्नुपर्छ भन्ने पहिलाबाटै बुझेको थिएँ। पहिलादेखि नै समाजवादी विचार थियो। रूसमा पढ्दा पनि देशको सेवा गर्नुपर्छ भन्ने सिकें। रूसमा पढ्दा ‘नेपालको अर्थतन्त्रलाई कस्तो ढाँचा चाहिन्छ?’ भन्नेबारे अध्ययन गरि थेसिस तयार पारेको थिएँ।
म वामपन्थी हो, तर टीका नै लगाएर कसैको विचार र सिद्धान्तको बन्दी चाँही होइन। राष्ट्रपतिको सल्लाहकार भएपछि धेरैले मलाई एमाले भने। तर, म कुनै पार्टीको होइन। मैले मेरो काममा सधै समाजवादी अर्थराजनीतिलाई जोड दिए।
खासमा समाजवाद यस्तो टोपी हो, जो सबैले लगाउँछन्, तर व्यवहारमा उतार्न गाह्रो छ। समाजवादको नारा ‘आफ्नो शक्ति अनुसार दिनुपर्छ र आवश्यकता अनुसार लिनुपर्छ’ भन्ने हो। साम्यवादमा ‘बराबर लिने र दिने’ सिद्धान्त हो। तर अहिले पुँजीवाद हाबी छ। नाफा भइन्जेल खाने र घाटा भएपछि सरकारलाई गाली गर्ने परिपाटी छ। त्यसले मैले पुँजीवादको हकमा पनि ‘निर्देशित पुँजीवाद’ चाहिन्छ भन्थे।
अर्को, हाम्रा नीतिहरू नै पितृसत्तामा आधारित छन्। हाम्रा कानून हिन्दू संस्कारबाट निर्देशित छन्। अझै पनि पतिलाई देउता मान्नु पर्ने धारणा व्याप्त छ। यस्तै असमानता, विभाजित मत र विचारले देश चलिरहेको छ।
तपाईले नेपालमा महिलावादी आन्दोलनलाई बौद्धिक रुपमा सशक्त पार्न उल्लेखनीय योगदान गर्नु भएको छ, जसबारे अर्थशास्त्री विश्व पौडेल र राजनीतिशास्त्री सेरा तामाङले तपाईंका प्राज्ञिक लेखहरूको संग्रहमा उल्लेख पनि गरेका छन्। नेपालमा महिलाको अवस्थालाई आर्थिक कोणबाट हेर्नुपर्छ भन्ने सोच कसरी आयो?
उतिवेलै गाउँगाउँमा महिलाको अवस्था हेर्न गएँ। गाउँमा भेटेका धेरै महिलाले ‘टाउको ढाक्ने छानो भइदिएको भए, यो घरमा बस्दिनँ’ भन्थे। आर्थिक शक्ति नभएर पिटाए खाएर, सौता सहेर बसेका थिए। उनीहरूले आफ्ना पिर पोखेका थिए। त्यो भोगाइ देखेर महिला आर्थिक रुपमा बलियो नभई स्वतन्त्र र स्वभिमानी जीवन बाँच्न सक्दैनन भन्ने लाग्यो। त्यसैले स्वावलम्वी बन्न आर्थिक पाटो बलियो हुनुपर्छ भनेर आवाज उठाएकी हुँ।
अहिले अझै थाहा भयो, महिलालाई आर्थिक रुपमा सबल भएर मात्र नपुग्ने रहेछ। धनी परिवारमा पनि घरबाट निकालिएका छन्। पिटाई खाएका छन्। म पनि भिड्छु भनेर सकिँदैन। त्यसैले जित्ने तरिका भनेको अधिकार रहेछ, कनूनी र आर्थिक अधिकार। ‘म आफै काम गर्छु’ भन्ने आँटले उनीहरूलाई बचाउन सक्छ। त्यो आँट आउने कानूनी र आर्थिक अधिकारले हो।
हाम्रो समाजमा छोरीमान्छे आर्थिक रुपमा शून्य भएर जन्मिछन्। छोरामान्छे जन्मिँदै पुर्ख्यौली सम्पतिको हकदार हुन्छन्। त्यस्तो अवस्थामा समानता कसरी हुन्छ? यो कुरा किन अझै बुझ्दैनौं? छोरीलाई खुशी खुशी किन अंश दिदैनौं?
यहि कारणले पनि हो, तपाईले छोरीलाई अंशको अधिकारको विषय उठाउनुभयो। बुबासँग यहि कुरामा वादविवाद पनि हुन्थ्यो रे, हो?
हो। बुबाकै पालामा संविधानमा सुझाव पठाउनु पर्ने थियो। मैले छोरीलाई पनि सम्पत्तिको अधिकार चाहिन्छ भन्दा आमाले मात्र समर्थन गर्नुभयो। तर बुवाले ‘छोरीलाई अंश दिएर छोराले चाँही के खाने?’ भन्नुभयो। त्यसवेला चर्काचर्की नै पर्यो। त्यसपछि आमाले ‘अहिले केही नबोल, बुवालाई म मनाउँला’ भन्नु भयो।
भोलिपल्ट बुवाले मान्नुभयो। अनि छोरीलाई पनि सम्पत्तिको अधिकार दिनुपर्छ भनेर मैले कृष्णप्रसाद भट्टराईलाई चिठी लेखें। त्यसपछि पनि मैले यो विषय बारम्बार उठाउँदा धेरैले उडाए। तैपनि यो मुद्दा छाडिनँ।
केही पछाडितिर जाऔं। २०२० को दशकमा अनुसन्धान शुरू गर्दा नेपालमा महिलाको अवस्था कस्तो थियो?
समस्यै समस्या थिए नि। घरले जे भन्यो त्यही मानेर महिला बसेका थिए। घरको कुरा नमानेर आफै केही गर्न पनि महिलालाई स्वतन्त्रता थिएन। महिला जोसँग बोल्यो, उसैसँगै प्रेम भयो भन्थे। म १४ वर्षको हुँदा पनि बाटोमा कोही चिनेको व्यक्तिसँग बोल्यो भने नामै जोडेर उडाउँथे। गाउँगाउँमा महिला पीडित थिए।
महिला शिक्षित पनि थिएनन्। उनीहरूको आफूखुशी केही पनि चल्दैनथ्यो। बहुविवाह सहेर बस्नु परेको थियो।
पाँच दशक अघिको तुलनामा अहिले आर्थिक गतिविधिमा महिला सहभागिता उल्लेख्य बढेको छ। अहिलेको अवस्थालाई कसरी हेर्नुहुन्छ?
अझै पनि भन्ने मात्र हो, महिलाको आर्थिक रुपमा जति हुनुपर्थ्यो, त्यति पकड पुगेको छैन। आफ्नै पैसाले कमाएर, घर बनाए पनि त्यो आफ्नो सम्पति हुँदैन। घर त लोग्नेकै नाममा चिनिन्छ, लाग्नेकै घर हुन्छ। त्यसैले आर्थिक स्वतन्त्रता अझै पुगेको छैन।
अहिले पनि छोरीमान्छेले अलिकति ठूला कुरा गर्यो भने विवाह गरेर पठाइदिउँ भन्छन्। त्यो घर छोरीको पनि हो भन्ने लाग्दैन। छोरीमान्छे पनि छोरामान्छेले जस्तो आफ्नो घर हो भनेर लड्दैनन्।
यी सबै अवश्य परिवर्तन हुन्छन् भन्नेमा विस्वस्त छु। किनभने हाम्रो पालामा पढ्न पाइएन भनेर झगडा गर्नुपर्थ्यो। अहिले छोरीहरू सिनेमा हेर्न जान पाइएन भनेर झगडा गर्न थालेका छन्। अझै योभन्दा ठूलो मुद्दामा झगडा गर्नुपर्छ, आफ्नो अधिकारका लागि लड्नुपर्छ।
प्रजातन्त्र पुनःस्थापनासँगै नेपाल नवउदारवादी आर्थिक मोडलमा गयो। यसले महिलाको अवस्थामा के कति परिवर्तन ल्यायो?
आर्थिक रुपमा महिलालाई सबल बनायो भने देश पनि आर्थिक रुपले सबल हुन्छ भन्ने चेत आएको छ। पहिला नेताहरू महिलालाई घरमा काम नपाएर बसेका भन्थे। तर अहिले घरको काम पनि काम हो, त्यसलाई पनि सम्मान गर्नुपर्छ भन्ने ज्ञान आएको छ। पहिला श्रीमती बेकामे भन्थे। अहिले कामको मूल्यांकन र महिलाको सम्मान बढेको छ। सार्वजनिक रुपमा महिलालाई होच्याएर बोल्दा गाली खान्छन्। त्यो भनेको सचेतना बढेको हो।
त्यस्तै, अहिले महिला देशविदेशमा गएर पनि कमाउँछन्। तैपनि यो देशका नेताहरूमा महिलालाई आर्थिक रुपमा बलियो बनाउनुपर्छ भन्ने विचार भित्रैबाट आएको छैन। सोच्नु त, अहिले महिला पनि पुरुष जतिकै पढेर, कमाएर, दिनभरि उत्तिकै काम गरेर आए पनि कति पुरुषले घरमा श्रीमतीलाई चिया पकाएर आफै दिएका होलान त?
त्यसैले हाम्रो विद्यालयका प्रश्नपत्रमा कसले के जित्यो भन्ने प्रश्नभन्दा एक कप चिया बनाउन कति चिनी हाल्नुपर्छ भन्ने हुनुपर्छ। किनभने घरमा अझै असमानता छ। छोरी मान्छे फटाफट बोल्यो भने अझै पनि कराउँछन्। तर जागिरको अन्तर्वार्तामा प्रतिस्पर्धा गर्दा फटाफटा जवाफ दिएन भने यो छोरी मान्छे हो, यसले फटाफट नबोल्दा पनि पास हुन्छ भनेर त भन्दैनन्। त्यसैले व्यवहारमा परिवर्तन अझै भएको छैन।
हाम्रो घरमा आमाले भाइलाई पनि चिया बनाउन लगाउनुहुन्थ्यो। एक पटक विश्ववन्धु थापाले भाइलाई चिया पकाउन लगाउँदा आमालाई भने, ‘यहाँ दिदी बस्दाबस्दै भाइलाई चिया बनाउँन पठाउने?’
त्यसपछि आमाले जवाफ दिनुभयो, ‘मीना राजनीतिक कुराकानी गरेर बसेकी छ। हाम्रो घरमा छोराछोरी भनेर काम बाडिँदैन, सबैले सबै काम गर्नुपर्छ।’
एकातिर महिलाको आर्थिक सहभागिता र हैसियत बढेको छ भने अर्कोतिर जोखिम पनि बढेको छ। संसारभर श्रमिकका रुपमा छरिएका नेपाली महिला शोषणमा पनि परिरहेका छन्। यस्तो अवस्थालाई कसरी लिनुहुन्छ?
परिवर्तनमा सकारात्मक काम धेरै भएका छन् कि नकारात्मक घटना धेरै भन्ने पनि हेर्नुपर्छ। तर केही घटना घट्छ कि भनेर परिवर्तन नै नगर्ने भन्ने हुँदैन। छोरीमान्छे राति बाहिर गएपछि नराम्रो केही घटना हुनसक्ने जोखिम समाजको वातावरणले बनाएको हो। तर यो भन्दैमा बाहिरै नहिड्ने भन्ने हुँदैन। बरु सार्वजनिक स्थान सुरक्षित बनाउने हो। व्यवस्था र कानून राम्रो बनाउने हो।
पुस्तकमा आमाको प्रसंशा गर्नु भएको छ। आमालाई ‘जिउँदो शहीद’सँगसँगै ‘देश चलाउन सक्ने आईमाई’ भनेर पनि लेख्नु भएको छ। तपाईले भनेजस्तो अहिलेसम्म देश चलाउन सक्ने महिला किन भएनन्?
पैसाको सहज पहुँचले पनि होला, समाजमा संघर्ष कम देखिन्छ। पहिलाका जस्ता शाहसी मान्छे अहिले छैनन्। अहिलेको पुस्ता कमजोर भएको छ। तैपनि पहिलाको तुलनामा अहिले धेरै महिला नेतृत्व तहमा पुग्दैछन्। तर कोटाबाट गइरहेका छन्। जुन मलाई ठिक लाग्दैन।
यसले समान धरातलमा म पनि प्रतिस्पर्धा गर्नसक्छु भन्ने मनोविज्ञान नै तयार हुँदैन। जसले आँट गर्न नसक्ने र डराउने हुन्छन्, आफ्नो लैंगिक सम्बन्धलाई मात्र बढी महत्त्व दिन्छन्।
अहिले नेपालको अर्थ-राजनीतिक दुरावस्था देखाउने गरी दुई वटा समस्या चर्को रुपमा आइरहेका छन्, मिटरब्याज र सहकारी ऋण। दुवै समस्याबाट बढीजसो पीडित महिला छन्। यस्तो अवस्था आउनुका कारण के होलान्?
यो मिटरब्याज पहिला ब्यांकले नै ल्याएको कुरा हो। पहिलादेखि नै साहुहरूले ब्याजमाथि स्याज लगाउँथे। त्यसको चाँही विरोध भएन। अनि अहिले मिटरब्याज भनेर आयो। जसको विरोध भइरहेको छ। यसमा महिला नै पीडित छन्। अर्को विकल्प नभएपछि उनीहरू ऋण पाउने ठाउँमा गए। ऋण लिँदा फसे।
अर्को, हाम्रो नेताको बेइमानीले गर्दा सहकारीपीडित पनि धेरै जसो महिला भएका छन्। महिलाले थोरै आम्दानी पनि चलाउन सजिलो हुन्छ भनेर सहकारीमा राखे। तर सहकारीको पैसा नेताले झिकेर अन्त लगानी गरे। अहिले न पैसा दिन्छ न त जवाफदेहिता छ।
खासमा हाम्रो देशको सिद्धान्तमा नै अलमल छ। कुनै समय गरिबलाई पैसा दिँदा हुन्छ भनेर लागीपरे। हाम्रो देशको सिद्धान्त समाजवाद हो कि साम्यवाद भन्ने बुझ्नै सक्दिन। राजनीति नै गलत भइदियो।
२०५२ सालतिर काठमाडौंबाट चुनाव लड्नुभयो। त्यसपछि खासै राजनीतिक गतिविधिमा लाग्नुभएन। तपाईको राजनीतिक यात्रा लामो भएन नि, किन?
नेतासँग जागिर माग्दै आउँदा रहेछन्। मैले कहाँबाट जागिर खुवाउनु? राजनीति नै बिग्रिसकेको रहेछ। १२ वर्ष त राजनीतिमै लागेँ। टंकप्रसाद आचार्य प्रतिष्ठान खडा गरेँ। तर राजनीति मेरो पाटो होइनरहेछ भन्ने थाहा पाएरै छोडें।
अन्त्यमा, अर्थशास्त्री, नारीवादी, अनुसन्धानकर्मी, प्रजातन्त्र ल्याउन सबैभन्दा ठूलो खम्बा बनेको पार्टीको अध्यक्षको छोरी अनि लेखक। थुप्रै परिचय छन्। तपाईको यति लामो यात्रा अनुभवका आधारमा नयाँ पुस्तालाई केही सुझाव छ?
नयाँ पुस्ताको पहिलो काम आफ्नो व्यक्तित्व बनाउने हो। हाम्रो वेलाको र अहिलेको वातावरण फरक भइसकेको छ। समस्या नै फरक छन्। अहिले मलाई बुवाले केही सहयोग गरेन भनेर पनि छोराछोरीले मुद्दा हाल्न सक्छन्, हाल्छन्। तर हाम्रो पालामा बुवासँग ठाडो शिरले हेरेर बोल्न सक्नु नै युद्ध लडे सरह हुन्थ्यो।
त्यसैले आफ्नो भोगाई र वातावरण अनुसार चुनौति हुन्छन्। तिनैलाई पार लगाउनुहोस्। किनभने मैले पनि आफ्नै युद्ध लडें। बुबासँग झगडा गरेर विदेश पढ्न गएँ। त्यही प्रेम भयो विदेशीसँग। लडेरै विवाह गरें। लडेर अधिकार खोजें। यी सबैले जीवनमा आत्मनिर्भरताको लय ल्यायो। सबैले आआफ्नो परिवेश र समस्या अनुसार लड्ने हो। त्यसैले संघर्ष आफू र आफ्ना समस्यासँग गर्ने हो, त्यसपछि समाज र देशको पालो आउँछ।
किताबका कुराका थप सामग्री :
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’