मैकोटे मायामा सशस्त्र द्वन्द्वको छाया
एकअर्काको मन मिल्दैन भने चलनका नाममा जबर्जस्ती सम्बन्ध स्थापित गर्नु हुँदैन भन्ने फिल्म खुस्माको स्पष्ट सन्देश छ।
माओवादीले सञ्चालन गरेको दशक लामो सशस्त्र द्वन्द्वलाई हिंसा मान्ने कि नमान्ने भन्ने विवादले गत भदौमा प्रतिनिधि सभा बैठक पटक पटक अवरुद्ध भयो। भदौ ३१ मा दुवै सदनको अधिवेशन अन्त्यपछि बल्ल यो विषय संघीय संसद् भवनमा सुनिन छाड्यो।
संविधान दिवसको दिनदेखि प्रदर्शन शुरू भएको फिल्म खुस्माले भने सशस्त्र द्वन्द्वलाई पुनः बहसमा ल्याएको छ। फरक यति हो, द्वन्द्वको चर्चा संसद्को बैठक हलबाट सिनेमा हलतिर सरेको छ।
रुकुमको मौकोटवासी फोटोपत्रकार सुरवीन्द्र के. पुनका अनुसार ‘खुस्मा’ को अर्थ ‘आमाको कोख’ हो। काठमाडौंले कहिल्यै कोखमा राख्न नमानेपछि विरक्तिएको रुकुम-रोल्पामा तीन दशकअघि द्वन्द्वको बीजारोपण गरिएको थियो। त्यो द्वन्द्वले राज्य र विद्रोही दुवै पक्षमा नलागेका तटस्थ परिवारलाई पनि बाँकी राखेन। द्वन्द्वका बाछिटाले भर्खर प्रेम अंकुराउँदै गरेको जोडीलाई पनि छाडेन।
यही परिवेशमा निर्देशक अशोक थापा मगरले खुस्मा (उपासना मल्ल ठकुरी) र गेमी (धीरज मगर) बीचको प्रेमकथा प्रस्तुत गरेका छन्। आफ्नै फुपूका छोरा मात्र होइन, खुस्मालाई मन पराउने गाउँका अन्य युवा पनि छन्। दोहोरो बन्दूकबीच हुर्किरहेको गेमी र खुस्माको प्रेम फक्रिन पाउला? यसको जवाफ पाउन भने फिल्म हेर्नै पर्छ।
मगर समुदायमा मामा चेली र फुपू चेलाबीच विवाह गर्ने चलन छ। तर एकअर्काको मन मिल्दैन भने चलनको नाममा जबर्जस्ती सम्बन्ध स्थापित गर्नु हुँदैन भन्ने फिल्मको स्पष्ट सन्देश छ।
सशस्त्र द्वन्द्वका मृतक र बेपत्ताका परिवार तथा घाइते र अपांगता भएकाहरूका लागि न्याय कुन चराको नाम हो जस्तो भएको यथार्थ पनि खुस्माले बोलेको छ।
शान्तिश्री परियार र एसडी योगीको स्वर रहेको ‘रुकुम मैकोट...’ बोलको गीत त यूट्यूबमा एक करोड २० लाखभन्दा बढी पटक हेरिसकिएको छ। यो गीत लगत्तैको दृश्यले द्वन्द्वकालमा भुम्या, रोदी, हाटबजार कसरी बिरानो बने भन्ने सम्झाउँछ।
केहीलाई अपवाद मान्ने हो भने बाँकी सबैको अभिनय अब्बल छ। उपासना र धीरजसँगै राज थापा काउचा, माउत्से गुरुङ, खड्गबहादुर पुन (खबपु),विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरुण मगर, राजु रेग्मी, संगीता थापा, सारा राई, महेश बराल, विवेक बुढा, श्वेता बुढा, साजन थापा, मीरा गुरुङ लगायतले अभिनय गरेका छन्। वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर मगर निर्माता रहेको फिल्म एम मिडियाको ब्यानरमा बनेको हो।
हलिउड र बलिउडमा अभ्यस्त दर्शकलाई कतिपय दृश्य अलि ‘स्लो’ लाग्न सक्छन्। केही संवाद मैकोटका स्थानीयसँग मैतक्य नराख्ने खालका पनि छन्। तर मैकोट आसपासकै दृश्यले दर्शकलाई मोहित पार्छ।
फिल्मबारे अधिवक्ता रोम थापाको टिप्पणी छ, ‘एउटा अर्ग्यानिक परिवेश र द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित यस फिल्मले दुई घन्टा २० मिनेट दर्शकलाई मजैले काबूमा राख्छ।’
यो पनि पढ्नुहोस् :
सोरठी : जैसिंगे राजाको वैराग्यकथा
पितृसत्तासँग जुध्न सिकाउने ‘लापता लेडिज’
गाउँ आएको बाटो : नोस्टाल्जिक मन र मस्तिष्क
नसुनिएकाहरूको स्वर सुनाउने जमर्को
झिगुलीको क्रान्तिकारी ‘रक एन्ड रोल’
‘द रेड सुटकेस’ : कतारमा अस्ताएका २१ सय नेपालीको कथा
के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ?
नीरफूल: मौलिक कथा, कमजोर प्रस्तुति