रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आइतबार १३ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले बताए। उनका अनुसार, आजदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति मिलेको हो।
अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथो पटक अनुमति दिएको छ। यसअघि कात्तिक १३ गते जिल्ला अदालतले १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको थियो। पहिलो पटक जिल्ला अदालतले पाँच दिनको म्याद दिएको थियो। त्यसपछि कात्तिक ८ गते थप सात दिनको म्याद दिएको थियो। तेस्रो पटक दश दिनका लागि अनुमति दिएको अदालतले आज भने १३ दिनको म्याद दिएको छ।
आज पनि रास्वपाका कार्यकर्ताले अदालत बाहिर प्रदर्शन गरेका थिए। उनीहरू कात्तिक २ गतेदेखि नै पोखरामा प्रदर्शन गर्दै आएका छन्।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई पक्राउ गरिएको थियो। उनीमाथि सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
संसदीय छानबिन समितिले सूर्यदर्शन लगायत सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया प्रालिमा लगेर अपलचन गरेको प्रतिवेदन बुझाएको थियो। समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी), प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी लगायतले रकम अपचलन गरेको औल्याएको थियो।
त्यसअघि सहकारीपीडित कृष्णप्रसाद जैसी लगायतले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यसका आधारमा प्रहरीले अनुसन्धान गरेर सहकारीका पूर्व सञ्चालक एवं गोर्खा मिडियाका अध्यक्ष जीबी, कैलाशकुमार दर्लामी, कुमार रम्तेल सहित १९ जना विरुद्ध २०८० असोज १८ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरेको थियो। त्यसमा लामिछानेलाई विपक्षी बनाइएको थिएन।
त्यसपछि सहकारीपीडितले लामिछाने सहित जीबी राई संलग्न १४ वटा संस्थाको कारोबार समेत केलाउनुपर्ने भन्दै पूरक जाहेरी दिएका थिए। तर, त्यतिवेला गृहमन्त्री रहेका लामिछानेको प्रभावमा अनुसन्धान रोकिएको थियो भने अनुसन्धान अधिकृतको सरुवा गरिएको थियो।
त्यसलाई लिएर त्यतिवेला नेपाली कांग्रेस लगायत विपक्षी दलले संसदीय छानबिनको माग गरेका थिए। नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वको छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा लिएर अपलचन गरेको र त्यसमा लामिछानेको पनि संलग्नता देखिएको जनाउँदै कारबाहीका लागि सिफारिश गरेको थियो। त्यसकै आधारमा प्रहरीले फेरि अनुसन्धान थालेको हो।
यस क्रममा लामिछानेसँगै गोर्खा मिडियाका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पनि पक्राउ परेका छन्। उनी पनि अहिले कास्की प्रहरीकै हिरासतमा छन्। गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने फरार छन्।
यससँगै बुटवलको सुप्रिम सहकारी रकम हिनामिना गरेको पनि आरोप छ। त्यसमा पनि जिल्ला अदालत, रुपन्देहीले लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
यो पनि पढ्नुहोस् :