कालिकोटमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
कालिकोटको पलाँता गाउँपालिका-३ स्थित राडुनेटामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
पलाँताकै थिर्पुबाट आइरहेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो दुर्घटना परेको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए।
दुर्घटनामा मृत्यु हुनेमा पलाता गाउँपालिका-६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही तथा पलाता-५ की छाया शाही र पलाता-३ का दमन रोकाया रहेका छन्।
यस्तै दुर्घटनामा परेर पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया तथा पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया घाइते भएका छन्। यसैगरी, गाडी चालक धनिराम रावत तथा पलाता-५ का दोली विक र आयुशा विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते यात्रुलाई हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको छ। सात जनालाई अस्पताल पुर्याइसकेको छ र बाँकी ६ जनालाई हेलिकोप्टरबाट लग्न लागिएको प्रहरी निरीक्षक चौधरीले बताए।
बोलेरो अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार, बोलेरो झन्डै ३०० मिटर तल खसेको छ।