प्रकृति र संस्कृतिमा रमाउन पाथीभरा
हिउँ पर्नुअघिको यो मौसममा धार्मिक पर्यटकीय गन्तव्य पाथीभरामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।
दशैं-तिहार लगायत चाडपर्व सकिएसँगै मान्छे गाउँबाट शहरतिर झरिरहेका वेला पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य पाथीभरा उक्लिनेको भने भीड लाग्न थालेको छ। धार्मिक पर्यटकको रोजाइमा पर्दै आएको पाथीभराले पछिल्लो समय भने प्रकृतिसँग रमाउने पदयात्रीलाई पनि आकर्षित गरिरहेको छ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा रहेको ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शनका लागि देश तथा विदेशबाट पनि आउने गर्छन्। प्राकृतिक सुन्दरताले धार्मिक पर्यटकलाई पनि लोभ्याउँछ। पहाडको टुप्पोमा पुगेपछि ओर्लिन मन नलाग्ने गरेको बेनीबाट आएकी महालक्ष्मी श्रेष्ठ सुनाउँछिन्।
“लट्ठीको सहायताले उकालो चढें। साह्रै गाह्रो भयो,” दोस्रो पटक आएकी श्रेष्ठ भन्छिन्, “पाथीभरामा पुगेपछि गाह्रोसाह्रो सबै बिर्सें। हिमाल लोभलाग्दो छ। तल ओर्लन मनै लागेन।”
पाथीभराको दर्शन गर्ने त भए नै, पदयात्राका लागि आउनेहरू पनि उत्तिकै हुन्छन्। पाथीभरासम्मको पदमार्गमा विभिन्न थरीका जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, रंगीचंगी फूलको अवलोकन गर्न सकिन्छ। त्यस्तै, मन्दिर क्षेत्रबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से लगायतका हिमालको पनि दृश्यावलोकन गर्न पाइन्छ।
त्यसैले पनि पदयात्रामा निस्किनेहरू बढ्दै गएका छन्। यस्तै एक हुन्, झापाका हरिबहादुर कार्की। दोस्रो पटक पाथीभराको यात्रामा भेटिएका कार्की भन्छन्, “यी सिंढी चढेर गफिँदै माथि उक्लिन साह्रै रमाइलो लाग्छ।”
पदयात्रा गर्नेका लागि सहज भए पनि ज्येष्ठ नागरिक तथा धेरै हिँडडुल नगर्नेहरूलाई भने अप्ठ्यारै हुने गरेको उनी सुनाउँछन्। “हिँड्न सक्ने र रमाउनेका लागि त पदयात्रा गज्जबै हुन्छ, हिँड्न नसक्नेका लागि अरू विकल्प पनि भइदिए राम्रो हुन्थ्यो,” कार्की भन्छन्।
पाथीभरा पुग्ने धेरै जसो धार्मिक पर्यटक हुन्छन्। मनले चिताएको पूरा हुने भएकाले विभिन्न ठाउँबाट आउने गरेको स्थानीय तारा घिमिरे सुनाउँछिन्। पाथीभरा पदमार्गस्थित माथिल्लो फेदीमा हिमाली होटल सञ्चालन गरिरहेकी घिमिरे भन्छिन्, “पाथीभरा पुगेपछि आफूले चिताएको पूरा हुन्छ भन्ने विश्वास छ। त्यसैले दुःखी, बिरामी मान्छे पनि आउँछन्।”
पाथीभरा आसपासको क्षेत्रका बासिन्दा त नियमित जसो पुग्ने नै भए। त्यसबाहेक धरान, विराटनगर, काठमाडौं, पोखरा तथा भारतको आसाम, दार्जिलिङ, सिक्किमबाट समेत सर्वसाधारण आइपुग्छन्।
पाथीभरा पुग्ने विभिन्न मार्ग छन्। धरान, धनकुटाबाट तमोर करिडोर हुँदै ताप्लेजुङ पुग्न सकिन्छ। त्यस्तै, झापाको बिर्तामोडबाट पनि सजिलो बाटो छ। हवाई मार्ग हुँदै पनि काठमाडौंबाट ताप्लेजुङ तथा विराटनगर ओर्लिएर पाथीभरातिर लाग्ने थुप्रै हुन्छन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट तल्लो फेदीसम्म गाडीको यात्रा हुन्छ। त्यहाँबाट पैदल माथिल्लो फेदी हुँदै पाथीभरा यात्रा गरिन्छ। यो यात्रा धेरै खर्चिलो पनि छैन। तल्लो फेदी र माथिल्लो फेदीमा एक हजार २०० रुपैयाँमा बास र ३०० रुपैयाँमा खाना पाइन्छ।
चिसो हुने र उकालो हिँड्नुपर्ने भएकाले केही सावधानी भने अपनाउनुपर्छ। माथिल्लो फेदीमा अहिले पनि तापक्रम माइनसमा पुग्छ। पाथीभरामा पनि तापमान शून्यमा झर्न बेर लाग्दैन।
यो यात्राका लागि बर्खा र हिउँद सहज हुँदैनन्। बर्खामा धेरै पानी पर्ने भएकाले पदयात्रा गर्न सकिँदैन भने हिउँदमा हिमपातका कारण साह्रै चिसो हुन्छ, टिक्नै मुश्किल पर्छ। पाथीभरा पुग्ने उपयुक्त मौसम कात्तिक र मंसीर हो।