विदेश भ्रमणले विवादित बनेका सांसद पार्टीबाट पनि निलम्बित
विदेश भ्रमणका कारण विवादमा आउँदा मन्त्रीबाट राजीनामा दिएका कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पार्टीबाट पनि निलम्बित भएका छन्।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीले अधिकारीलाई संगठित सदस्यबाट समेत निलम्बन गरेको छ। एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जनाएका छन्।
उनले भनेका छन्, ‘माननीय श्री लिलाबल्लभ अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले)को संगठित सदस्यबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ।’
अधिकारीलाई मानव तस्करी जस्तो गम्भीर आरोप लागेकाले निलम्बन गरिएको एमालेले जनाएको छ। यससँगै उनीमाथि लागेको आरोपको शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
उनी प्रदेश मन्त्रिपरिषद्लाई जानकारी नै नदिएर कात्तिक १३ गते जापान गएका थिए। उनीसँगै गएका तीन जनालाई पनि जापानले विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यो विषय बाहिर आएसँगै अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए। उनी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री थिए।