कोरोनाबाट थप एक जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। ६ महीनापछि मंगलबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो।
कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमितको मृत्यु हुन थालेको छ। अहिलेसम्म कोरोनाबाट १२ हजार २२ जनाले ज्यान गुमाइसकेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा र एक हजार ७५७ जनाको एन्टिजन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ८१ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या पनि ४४५ पुगेको छ। जसमध्ये २१ जनाको आईसीयू र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।