सुर्खेतमा मिनिबस दुर्घटना, चार यात्रुको मृत्यु
दैलेखबाट सुर्खेत आउँदै गरेको मिनिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनिबस रानीमत्तामा दुर्घटना भएको हो। दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए।
उद्धारमा खटिएका डीएसपी विश्वकर्माले भने, “चार जनाको दुर्घटनास्थलमा मृत्यु भएको छ, घाइते २५ जनालाई उद्धार गरी प्रदेश अस्पताल पठाएका छौं।” मृतकको परिचय खुलेको छैन।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनीहरूको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। गाडीमा २९ यात्री सवार थिए।
गाडी सडकभन्दा झण्डै २०० मिटर तल खसेको छ। प्रारम्भिक अनुसन्धानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने देखिएको डीएसपी विश्वकर्माले बताए।