घरभित्र लुकेको घाउको कथा
‘सिमसारा’ले भूगोलको सीमारेखा नाघेर दाम्पत्य जीवनमा आएको विचलनले घरमा निम्तिएको विद्रुपताको कथा बोल्छ, जुन पारिवारिक विचलन र दलदलको विश्वव्यापी कथा हो।
धेरैलाई लाग्छ, घर भनेको माया र प्रेमले ओतप्रोत न्यानो ठाउँ हो। अनुभूतिका हिसाबले पनि घरलाई धेरैले धेरै तरिकाले व्याख्या गर्छन्। तथापि हरेक घरका आ-आफ्नै कथा र व्यथा हुन्छन्।
धेरैले साेचे झैं सपाट र न्यानो घरको कल्पना कतिपयका लागि कल्पनामा मात्र सीमित रहन्छ। घरसँगै पारिवारिक विचलन र दलदलका कथा आउँछन्। जसलाई आधुनिक समाजको प्रतिविम्ब झैं ठान्ने गरिन्छ। पारिवारिक कलह र विचलनका कथाको उपस्थिति सायद मानव सभ्यातासँगै निरन्तर छ।
यस्तै पारिवारिक दलदलमा फसेको घरको कथालाई लेखक बसन्त बस्नेतले सिमसारा उपन्यासमा उजागर गरेका छन्। सूक्ष्म झैं लाग्ने उपन्यासको कथानकले मानव मनोविज्ञान र त्यसले निम्त्याउने परिघटनाबारे बोल्छ, जुन विषयगत हिसाबले नेपाली साहित्यको लागि नौलो आयाम हो। विषयवस्तु नविनता र गहिराइले बस्नेतको आख्यान यात्रालाई अझ फराकिलो बनाएको छ।
पूर्वी पहाडको भूगोल, संस्कृति र राजनीतिबारे बोलेको बस्नेतको यसअघिको महाभारा उपन्यास सिमसाराभन्दा फराकिलो र भिन्न थियो। तथापि औपन्यासिक त्रुटि बाहिरको पक्कै थिएन। सिमसाराले भूगोलको सीमारेखालाई नाघेर दाम्पत्य जीवनमा आएको विचलनले घरमा निम्तिएको विद्रुपताको कथा बोल्छ, जुन परिवारिक विचलन र दलदलको विश्वव्यापी कथा हो।
बुवाआमा मन्दाक्रान्ता र धनरूपको बिग्रँदो सम्बन्ध र चिसो घरको नजिकका साक्षी संवतलाई कथावाचकको रूपमा उभ्याइएको छ। उनी बुवाआमाको मिलेको र बिग्रेको दुवैखाले सम्बन्धको साक्षी हुन्। घरको न्यानोपन र चिसोपनलाई बुझेका छन्।
मन्दाक्रान्ता र धनरूपबीचको बिग्रँदो सम्बन्धलाई बुझाउन कसैले सक्थ्यो भने त्यो संवतले मात्र सक्थ्यो। कथावाचकका रूपमा संवतको उपस्थितिले कथानकलाई अझ बलियो बनाएको छ। यसलाई बस्नेतको लेखकीय चतुर्याइँ मान्न सकिन्छ।
संवत बुवाआमाबीचको सम्बन्धका अनेकौं पहेलीका साक्षी भएका छन्। त्यसैले उनी पारिवारिक वा लोग्नेस्वास्नीबीचको सम्बन्धको विचलनले सन्तानमा पर्ने गहिरो प्रभावलाई बोल्न सफल भएका छन्।
किशोरावस्थाका संवत लोग्नेस्वास्नीको अन्तरंग सम्बन्धलाई बुझ्ने कोसिस त गरेका छन्, तर उमेरको काँचोपनले बुझाइ पुग्दैन। त्यसमा इमानदारी र अबोधपन भने देखिन्छ। तथापि, माया र सम्बन्धलाई जसरी व्याख्या गरेका छन्, त्यसमा कतिपय अवस्थामा संवतभन्दा लेखक हाबी भएको हो कि भन्ने महसूस हुन्छ।
जस्तो संवत भन्छन्, ‘प्रेम किन मर्दैन, अवश्य मर्छ। स्थायी कुरा होइन, प्रेम। मायालुपिच्छे माया भिन्नाभिन्नै हुन्छ। कसैको माया अलिक लामो बाँचिरहला। कतिको माया ढिलोचाँडो मर्छ, मरेकै हुन्छ।’ यस्ता वाक्यमा संवत कम र लेखक बस्नेत बढी हाबी भए झैं लाग्छ।
अर्को, धेरैलाई लाग्छ पारिवारिक विचलन र विखण्डन शहरीकरण र आधुनिकीकरणको उपज हो। उपन्यासमा जसरी लेखकले ग्रामीण परिवारको विखण्डनलाई कहेका छन्, त्यसले विषयवस्तुको व्यापकता बोल्छ। ग्रामीण समाज पनि पारिवारिक विखण्डनभन्दा पर छैन भन्ने उपन्यासले देखाउँछ।
आजसम्म पनि हाम्रो समाजले लोग्नेस्वास्नीको सम्बन्धलाई एक आदर्शवादी कोणबाट मात्र व्याख्या गर्छ। चाहेर वा नचाहेर विवाह र परिवारलाई कटुता र कलहबीच चलाउनुलाई महानता ठान्छ। तर बस्नेतले त्यो आदर्शवादी ढोंगलाई उपन्यास मार्फत चिरेका छन्।
लोग्ने र स्वास्नीको सम्बन्धका मसिना आयाम र त्यसले निम्त्याउने पारिवारिक तितोपनलाई मिहिन ढंगले बोल्न लेखक सफल भएका छन्। उमेर, प्रेम र यौनबीच रुमल्लिएको मन्दाक्रान्ता र धनरूपबीचको सम्बन्धलाई उनले जसरी कहेका छन्, त्यो शैली र शिल्प दुवै सुन्दर र कवितात्मक छ।
यस्तै, मन्दाक्रान्ता र धनरूपको सम्बन्ध सँगसँगै हुँदा र नहुँदा दुवै परिस्थितिमा राम्रो र सुमधुर हुँदैन। त्यसमा उमेरको अन्तर, पढाइ र जीवनका अपेक्षाको फरकपनले प्रभाव पारेको हुन्छ। सम्बन्धका यस्तै ससाना तर महत्त्वपूर्ण आयाम कहन सफल भएका छन्।
यो पारिवारिक विखण्डनको कथा मात्र होइन, हुर्कंदै गरेको बालकले भोगेको दुःखको कथा पनि हो। यसमा सबैभन्दा पीडित कोही छ भने त्यो संवत हो। बुवाआमाको सम्बन्धमा उनीहरूभन्दा बढी पीडित संवत देखिन्छ।
ऊ बुवाआमाको बिग्रेको सम्बन्धलाई बुझ्न कोशिस गर्छ। त्यो कोसिसमा कहीँ सफल त कहीँ असफल हुन्छ। उसले बाँचेको जीवन मन्दाक्रान्ता र धनरूपको भन्दा अझ धूमिल र निराश भेटिन्छ।
लेखकले स्त्री पात्रलाई कतै कमजोर त कतै बलियो पात्रका रूपमा उभ्याएका छन्। मन्दाक्रान्तालाई निडर झैं देखाएका छन्। उसले आफूभित्रको स्त्रीत्वलाई मर्न दिएकी छैन। आफ्नी सौता आमा बन्दै छ भन्ने थाहा पाएपछि मन्दाक्रान्ताले गर्ने व्यवहार चकित बनाउने खालको छ।
‘मुटुमा जाकिएको किलो हो सौता भनेको। आखिर तँ मेरो भाग खोस्न आएकै होस्। तेरो पेटमा नानी छ भन्ने थाहा नभाको भए, तँलाई भालाले ठुँगेर खुत्रुक्कै पारिदिन्थें। तर केई मैना पीडाडी तँ पनि आमा हुने रहिछेस्। त्यै बच्चाको माया सम्झेर म तँलाई खतमाफी दिँदै छु।’
मन्दाक्रान्ताको यो अभिव्यक्तिले उनीभित्र रहेको कोमलपन देखाउँछ। तर उनी उपन्यासभरि जसरी उपस्थित भएकी छन्, त्यो हेर्दा त्यति नै कठोर पनि लाग्छिन्।
समग्रमा भन्दा उपन्यासको केन्द्रमा घर छ, जसलाई विम्बात्मक तरिकाले व्याख्या गरिएको छ। घर भनेको झ्याल, ढोका, छानो मात्र होइन भन्ने उपन्यासले बोल्छ। परिवारबीच माया, प्रेम, सद्भाव रहँदा मात्रै घर घरजस्तो हुन्छ।
उपन्यास त्यो पारिवारिक दलदलबारे बोल्छ, जसबारे अहिलेसम्म नेपाली साहित्यले विरलै बोलेको छ। साना तर यस्ता मिहिन विषयवस्तुको उपस्थितिले समग्र साहित्यलाई अझ फराकिलो बनाउँछ।
भाषा सरल र सरस छ। पढ्न शुरू गरेपछि छोड्न गाह्रो हुन्छ। पात्रसँगै पाठकलाई हास्ने र रुने बनाउँछ। अन्तिममा यति भन्न सकिन्छ, ‘सिमसारा’को उपस्थितिले नेपाली औपन्यासिक क्षेत्रलाई बलियो र व्यापक बनाउन सघाउँछ।