वेबसाइट हेर्दा त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कुनै म्यारिज ब्यूरो जस्तो लाग्छ।
तपाईं विश्वविद्यालयको वेबसाइट केका लागि क्लिक गर्नुहुन्छ? पक्कै, शिक्षासँग सम्बन्धित सामग्री प्राप्त गर्न।
तर, त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागको वेबसाइटमा भने शिक्षासँग सम्बन्धित जानकारी वा सूचना पाउनुहुन्न। मनोविज्ञान विभागको वेबसाइट हेर्दा यो कुनै म्यारिज ब्यूरोको साइट जस्तो लाग्छ।
किनभने, यसमा वधू कसरी खोज्ने, रुसका सर्वश्रेष्ठ वधूहरू, भिक्टोरिया ब्राइड, रोज ब्राइड, अनलाइन ब्राइड जस्ता वधू सम्बन्धी थुप्रै लेख राखिएका छन्।
ब्राइड (वधू) मात्रै नभएर एन्टिभाइरस, भीपीएन, बेटिङ, कम्प्युटर साइन्स, फुड सप्लिमेन्ट्स फर यु, पेट्स जस्ता विभागसँग असम्बन्धित विषयका क्याटगरी (विधा) पनि वेबसाइटमा छन्।
वेबसाइटको अबाउट अस, कन्ट्याक्ट अस, सिलेबस, फ्याकल्टी र ग्यालरी मेनुमा क्लिक गरेपछि दाहिनेतर्फ रिसेन्ट पोस्टस्, आर्काइभ र क्याटगरिज देखिन्छन्। यी भित्र जथाभाबी कन्टेन्ट राखिएका छन्।
देशको सबैभन्दा ठूलो शैक्षिक निकायको वेबसाइटमा यस्तो बिजोग देखिए पनि विभाग प्रमुख र वेबसाइट हेर्ने जिम्मा पाएका शिक्षकहरूले यसबारे जानकारी नभएको बताए।
“तपाईंले अर्कै वेबसाइट हेर्नुभयो होला, कहाँ हाम्रोमा त्यस्तो हुन्छ!” विभाग प्रमुख प्रा.डा. नन्दिता शर्माले हिमालखबरसँग भनिन्, “कसैले मिस्टेक गर्यो कि, म सच्याउन लगाउँछु।”
सन् २०१४ देखि यी विधा र यसभित्रका जथाभावी कन्टेन्ट यत्तिकै रहिरहेका देखिन्छन्। तर, वेबसाइट हेर्ने जिम्मा पाएका शिक्षक सन्जेश श्रेष्ठ कोभिड-१९ पछि वेबसाइट अपडेट नभएकाले त्यस्तो भएको हुनसक्ने बताउँछन्।
“कोभिड-१९ पछि कक्षाहरू भएनन्, वेबसाइटको त्यति वास्तै भएनछ,” श्रेष्ठ भन्छन्, “(वेबसाइट डेभलपरसँग) दशैंअघि कन्ट्र्याक्ट सकियो। अब तिहारपछि त्रिविकै प्रविधि हेर्नेहरूले अपडेट गर्ने कुरा छ। सबै सुधार हुन्छ।”
त्रिविले फारम भर्नेदेखि धेरै काम अब अनलाइनबाटै गर्ने भएकाले वेबसाइट गतिलो बनाउन आवश्यक रहेको उनको भनाइ छ। “यसका लागि छुट्टै समूह छैन,” उनले भने, “म त एउटा साधारण शिक्षक हुँ। प्राविधिक कुरा धेरै थाहा छैन।”
मनोविज्ञान विभागको वेबसाइट सधैंभरि निर्माणकै चरण (अन्डर कन्स्ट्रक्सन)मा रहेको विद्यार्थीको गुनासो छ। एक्जाम्पल पेज (नमूनाका लागि बनाइएको) भए पनि यसमा राखिएका कन्टेन्टमा ध्यान नदिइनु हदै लापरवाही भएको उनीहरूको भनाइ छ।
वेबसाइटको पुछारमा ‘डिपार्टमेन्ट अफ साइकोलजी’ मा साइकोलजीको स्पेलिङ समेत गलत लेखिएको छ।
हामीकहाँ सरकारी संस्थाका वेबसाइट लथालिङ्ग भएका गुनासा धेरै आउँछन्। शैक्षिक संस्थाकै वेबसाइट यस्तो हालतमा हुनु थप दिक्कलाग्दो भएको विद्यार्थीको गुनासो छ।