महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो !
महिलाप्रति समाज पूर्वाग्रह र पूर्वधारणाले ग्रस्त हुँदा स्ट्यान्ड-अप कमेडीमा पनि पुरुषको प्रस्तुति मात्र तौलिने गरिन्छ भने महिलाको हाउभाउ, उमेर, लुगा, शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमिलगायत सबै पक्षमा टिप्पणी हुन्छ।
सन् २०११ मा मैले स्ट्यान्ड–अप कमेडीको पहिलो कार्यक्रम गर्दा यो विधा नेपालमा नौलो थियो। त्यसैले म आफैं अलमलमा थिएँ। तर, मेरो रुचि थाहा पाएपछि कनकमणि दीक्षितले पहिलो कार्यक्रम गर्न सहयोग गर्नुभयो। त्यसमा हास्य कलाकार मनोज गजुरेल पनि सहभागी हुनुभयो। साथमा आशुतोष तिवारी, कुन्द दीक्षित र म मिलेर ‘ठाडै ठट्टा’ शीर्षकमा पहिलो शो गर्यौं। त्यसबाट एउटा तरंग पैदा भयो।
एभरेस्ट टोस्टमास्टर क्लब र रञ्जित आचार्यको अगुवाइमा हामीले अंग्रेजीमा कमेडी शोहरू गर्न थाल्यौं। त्यसबाट एउटा शुरूआत त भयो। तर, हामी सबै आ–आफ्नै पेशा–व्यवसायमा व्यस्त भएकाले धेरै समय दिन सकेका थिएनौं। र, नयाँ कलाकारका लागि मञ्च स्थापना भएको पनि थिएन। बिस्तारै काठमाडौंमा विद्यार्थी तथा युवा जमातको चासो बढेपछि केही वर्षयता स्ट्यान्ड–अप कमेडी व्यवस्थित रूपमा अघि बढ्न थालेको हो। अहिले त यसले तेज रफ्तार समाएको छ।
काठमाडौं केन्द्रित भए पनि अहिले स्ट्यान्ड–अप कमेडीको माहोल धेरै हदसम्म विकसित भएको छ। यसमा विशेषगरी युवाहरूको बाहुल्य छ। विषय पनि युवाहरूकै सोच, समस्या, भोगाइसँग सम्बन्धित छन्। यस विधामा महिलाहरू देखिनु अर्को सुखद पक्ष हो।
नेपालमा भइरहेको स्ट्यान्ड–अप कमेडीबारे धेरै आलोचना गर्नुभन्दा पनि अहिले यसलाई थप मञ्च तथा अवसर सिर्जना गरेर प्रोत्साहन गर्ने समय हो। नयाँ कलाकारले आफ्नो प्रस्तुति ‘ओपन माइक’ (क्लब, रेस्टुरेन्टमा गरिने खुला प्रस्तुति) मा पटक–पटक माझेपछि बल्ल ठूलो मञ्चमा प्रस्तुत गर्नु यो विधाको एक प्रकारको नियम हो। ओपन माइक तथा पेशागत मञ्चको स्थापना जति धेरै भयो, स्ट्यान्ड–अप कमेडीको स्तर त्यति नै विकसित हुँदै जान्छ।
काठमाडौं केन्द्रित भए पनि अहिले स्ट्यान्ड–अप कमेडीको माहोल धेरै हदसम्म विकसित भएको छ। यसमा विशेषगरी युवाहरूको बाहुल्य छ। विषय पनि युवाहरूकै सोच, समस्या, भोगाइसँग सम्बन्धित छन्। यस विधामा महिलाहरू देखिनु अर्को सुखद पक्ष हो।
हाँस्ने–हँसाउने मामिलामा राजनीतिक व्यंग्य सबैतिरको साझा र प्रिय विषय हो। व्यक्तिगत भोगाइ र विचारहरू प्रस्तुत गर्न स्ट्यान्ड–अप कमेडी राम्रो माध्यम र मञ्च बनेको छ। नेपालमा यो विधामा कलाकार र दर्शक दुवै रमाइरहेका देखिन्छन्।
कमेडियनहरूका लागि नेपाली समाज उदार नै मान्नुपर्छ। तर, बेलाबखत प्रशासन सशंकित भएको देखिन्छ। त्यो जरुरी छैन। कलाकार वा उसको प्रस्तुति राम्रो छैन भने दर्शकले नै पाखा लगाइदिन्छन्। लोकतन्त्रमा जनतामा त्यति विश्वास त गर्नैपर्छ।
स्ट्यान्ड–अप कमेडीको यात्रामा मैले देश–विदेशका विभिन्न मञ्चमा उभिने मौका पाएकी छु। यस क्रममा बुझेको कुरा के हो भने, हँसाउनका लागि स्थानीयता र सामाजिक–सांस्कृतिक सन्दर्भ असाध्यै महत्त्वपूर्ण सामग्री रहेछ। जस्तो, मैले ‘तलब भनेको मेलम्चीजस्तो छ, अहिले आउला छैन, भोलि आउला छैन’ भन्दा काठमाडौंमा सबै गलल हाँस्थे। त्यही कुरा काठमाडौंबाहिर बताउँदा मान्छेहरू अलि कम हाँसेको सुनिन्थ्यो। त्यो विषय बाहिरका दर्शकको भोगाइ र सरोकारभन्दा टाढा भएकाले हो। विदेशमा त झन् सन्दर्भ नै बुझ्दैनन्।
त्यसैले म जुन समाजमा प्रस्तुति दिँदै छु, त्यहाँ बुझिने र समसामयिक वा सान्दर्भिक हुने सामग्री प्रस्तुत गर्छु। सतहमा फरक देखिए पनि गहिराइमा मानव जातिकाे भोगाइ, पीडा, मानसिकता, भावना, पाखण्ड, दाउपेच, असुरक्षा सबैतिर एउटै हो। त्यसलाई समाउन सक्यो भने सामाजिक भिन्नताले खासै फरक पर्दैन।
कमेडी भनेको संगीतजस्तै हो। कसैलाई शास्त्रीय मन पर्ला, कसैलाई लोकगीत, कसैलाई हिपहप। तर, संगीत सबैको मनमा बसेको छ। त्यस्तै, ‘सेन्स अफ ह्युमर’ (हास्यचेत) फरक हुनसक्छ, तर कमेडी सबैले बुझ्छन्। हाँसोबिनाको जीवन त सायद कसैको हुँदैन होला।
महिला कमेडियनः प्रस्तुतिबाहिर टीकाटिप्पणी
स्ट्यान्ड-अप कमेडी क्षेत्रमा महिला आउनु भनेको आफ्नै ‘न्यारेटिभ’ (भाष्य) विकास गर्न पाउनु हो। किनभने माइक जसको हातमा छ, उसकै संघर्ष र सफलताका कुरा दर्शकले सुन्न पाउँछन्। समाजका अन्य क्षेत्रमा जस्तै यहाँ पनि महिलासहित सबैको प्रतिनिधित्व आवश्यक छ।
कुनै पनि क्षेत्रमा महिला देखापर्न थालेको बढीमा दुई–तीन पुस्ता भयो होला। त्यसैले महिलाप्रति समाज बढी पूर्वाग्रही र पूर्वधारणाले ग्रस्त भएको तथ्य कसैबाट लुकेको छैन। पुरुषको प्रस्तुति मात्र तौलिने गरिन्छ भने महिलाको हाउभाउ, उमेर, पहिरन, शिक्षादीक्षा, पारिवारिक पृष्ठभूमिलगायत सबै पक्षमा टिप्पणी हुन्छ। तर, नेपाली समाजको राम्रो पक्ष के छ भने आफूलाई प्रमाणित गरिसकेपछि महिलाको सफलतालाई प्रोत्साहन गरिन्छ। म आफैं एक उदाहरण हुँ।
स्ट्यान्ड-अप कमेडी क्षेत्रमा महिला आउनु भनेको आफ्नै ‘न्यारेटिभ’ (भाष्य) विकास गर्न पाउनु हो। किनभने माइक जसको हातमा छ, उसकै संघर्ष र सफलताका कुरा दर्शकले सुन्न पाउँछन्। समाजका अन्य क्षेत्रमा जस्तै यहाँ पनि महिलासहित सबैको प्रतिनिधित्व आवश्यक छ। जस्तो, अपांगता भएका कलाकार असाध्यै कम देख्छौं। यस्तोमा उनीहरूको भोगाइ बुझ्न समाज वञ्चित हुन्छ।
परिवर्तन शिक्षा र राजनीतिक क्रान्तिबाट मात्र होइन, कलाबाट पनि उत्तिकै हुन्छ। त्यसैले कलाका सबै विधामा समान प्रतिनिधित्व आवश्यक छ। यसको अर्थ सबैलाई हाँसो र आँसुका माध्यमबाट बुझ्न पाउने अवसर हो। यसले समाजलाई सम्पन्न र प्रगतिउन्मुख बनाउँछ।
हामी सानो छँदाका जोकहरूमा काठमाडौं पहिलो पटक देखेको गाउँलेको मजाक उडाएको सुनिन्थ्यो। अहिले बुझ्दा हाँसोको नाममा खिसीटिउरी, भेदभाव र अन्यायको सामान्यीकरण धेरै समयदेखि भइरहेको रहेछ। अहिले पनि केटा, केटी दुवैले छुच्ची महिला पात्रको ‘स्टेरियोटाइप’ पटक–पटक प्रयोग गरेको देख्छु। केही समयअघिसम्मका नेपाली तथा हिन्दी फिल्ममा यस्ता पात्र धेरै देखिन्थे।
अहिले केही परिवर्तन आए पनि महिलालाई कि देवी कि दानव बनाउने प्रवृत्ति धेरैको अवचेतन मनमा गढेको छ। हुनत महिलालाई हाँस्न पनि गाह्रो भएको समाज हो यो । तर, पुरुष जत्तिकै महिला पनि मान्छे मात्र हुन्। महिलाका पनि त्यति नै गुण र दोष छन् जति पुरुषका। आज पनि त्यही पुरानै सोचलाई निरन्तरता दिएको देख्दा यति साधारण कुरा बुझ्न अझै कति समय लाग्ने होला भनेर गम खान्छु।
हामी सानो छँदाका जोकहरूमा काठमाडौं पहिलो पटक देखेको गाउँलेको मजाक उडाएको सुनिन्थ्यो। अहिले बुझ्दा हाँसोको नाममा खिसीटिउरी, भेदभाव र अन्यायको सामान्यीकरण धेरै समयदेखि भइरहेको रहेछ। अहिले पनि केटा, केटी दुवैले छुच्ची महिला पात्रको ‘स्टेरियोटाइप’ पटक–पटक प्रयोग गरेको देख्छु।
मेरो कमेडीमा पुरुष पात्रहरू हुन्छन्, तर हाँसो लैंगिकतामा नभई विषयवस्तुमा केन्द्रित गर्ने प्रयास गर्छु। खासगरी केही वर्षदेखि यसमा बढी सजग भएकी छु।
जुनसुकै विधामा लाग्दा महिलालाई जे–जस्ता अप्ठ्यारा हुन्छन्, कमेडीमा पनि तिनै हुन्। तर, हाम्रो समाज धेरै हदसम्म खुला छ। सीप छ भने महिला भएकै कारण अवसर नपाउने वा टिक्न नसक्ने अवस्था छैन। मैले स्ट्यान्ड–अप शुरू गर्दा यो विधा नै नयाँ भएकाले मेरा चुनौती भिन्न थिए। विश्वमा कतै पनि पूर्ण लैंगिक समानता सम्पन्न समाज बनेको छैन। त्यसैले हामीले आफ्नो सीपमा मिहिनेत गरेर अघि बढ्नु र आफ्नो अधिकारमा अडिग हुनुको विकल्प छैन।
नेपाली र विदेशीको ह्युमरको कुरा गर्दा, माथि भनेजस्तै भिन्नता सतहमा मात्र हुन्छ। मानवीय भावनाको गहिराइमा असर एउटै हुन्छ। त्यसैकारण विश्वप्रसिद्ध कमेडियनहरू विश्वका विविध देशमा उत्तिकै लोकप्रिय भएको देख्न सकिन्छ। संवेदनाको गहिराइमै हास्यको उचाइ छ। नेपाल होस् वा विदेश, त्यो उचाइमा पुग्न सजिलो छैन।
म विश्वको मञ्चमा नेपालको चिनारीबाट विकासोन्मुख देशहरूको भाष्य स्थापना गर्न चाहन्छु। संसारमा हामीजस्ता मान्छेका पनि आफ्नै संघर्ष र उपलब्धिका कथा छन्, जसबाट विश्वले मनोरञ्जन र शिक्षा दुवै लिन सक्छ। कमेडी मेरो भाषा हो, नेपाल मेरो विषय हो र मानवीय संवेदनाको गहिराइ मेरो लक्ष्य हो। विदेशीले नेपालीलाई चिन्न र प्रश्न सोध्न हामीले अझै धेरै गर्न बाँकी छ। आशा गर्छु, यो काममा मैले र आगामी पुस्ताले इँटा थप्न सकौं।
(हिमालखबरपत्रिकाकी पूर्वसंवाददाता बस्नेत स्ट्यान्ड-अप कमेडियन र पर्वतारोही हुन्।)