ज्यानमारा शीतलहर, ‘बेखबर’ सरकार
सरकार !
मेरो शरीर शीतलहरले थरथरिने गरी चिसिएको छ
सानो खर र माटोको भित्ताले बनेको मेरो घर
प्रकृतिको चिसोका लागि पर्खाल बन्न सकेन
म त्यही चिसोको लहरमा चिसिएको छु।
-गुरुशरण सदा
यस वर्षको माघको शुरुआततिर वीरगञ्जको आकाश बाक्लो चिनी छरेझैँ भएको थियो। जाडोबाट जोगाउन गाईबस्तुलगायतका जनावर र मान्छे सबैले आ-आफ्ना ढंगले प्रयास गरिरहेका थिए। तर, त्यति गर्दा पनि जीउ तातो पार्न उनीहरुलाई समस्या परेको थियो।
वीरगन्जकी लालमित देवी चिसाेले समस्या भएकाे बताइन्। ‘‘हुनेले बाक्लो कपडा लगाउँछन। नहुनेका छोराछोरी कपडाबिनै चिसोमा घुम्छन्,’’ लालमतिले भनिन्। यसपालि जाडोको असर पहिलेभन्दा धेरै पर्यो किनभने कोरोनाले गर्दा गरिएको लकडाउनले गर्दा मानिसले लामो समयय काम गर्न पाएनन्। ‘‘कमाइ नभएपछि छोराछोरीलाई बाक्लो लुगा कसरी किनिदिनु? अहिले पनि काम पाइँदैन। छोराछोरीलाई पुराना लुगा लगाइदिएका छौं,’’ लालमति भन्छिन्।
वीरञ्जबाट ५०० किलोमिटर पश्चिममा पर्ने नेपालगञ्जको अवस्था पनि उस्तै थियो। नेपालगञ्ज विमानस्थलमा यात्रीहरू प्लेन कति वेला उड्ला भनी पर्खी बसेका थिए। तर, काठमाडौंबाट आउनु पर्ने प्लेन कति वेला आउलान भन्ने यकिन थिएन। किनभने ती प्लेन नेपालगन्ज आउँदा बस्ने ठाउँ पत्ता लगाउन सक्दैनथे। नेपालगन्ज विमानस्थलमा भएका प्लेन पनि उड्ने छाँट थिएन। किनभने अन्त जान उड्ने वेला चालकले जति टाढासम्म देख्नु पर्ने हो, त्यति टाढासम्म देख्न सक्दैनथे।
नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुर नेपालगन्ज विमानस्थलमा जहाडको उडान र अवतरण तालिकामा असर परेको बताउँछन्। विमानस्थल प्रमुख ठाकुर भन्छन्, ‘‘तराईका सबै ठाउँमा केही दिनदेखि उडान खल्बलिएको छ।’’
नेपालगन्ज विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पवन अग्रहरी तराईका सबैजसो विमानस्थलमा समस्या भएको बताउँछन्। सिमरा, विराटनगर र चन्द्रगढी विमानस्थलमा टाढासम्म देख्न नसकिएकाले हवाइजहाजको उडान र अवतरण रोकिएको बताउँदै अग्रहरी भन्छन्, ‘‘माघमा अलि सुधार होला भनेर हामीले आशा गरेका थियौँ, तर पुसको जस्तो पो भयो।’’
यस्तो अवस्था ल्याउने काम शीतलहरले गरेको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा उपमहानिर्देशक अर्चना श्रेष्ठका अनुसार हावामा पानीका कणहरु ९५ प्रतिशतभन्दा बढी भयो भने कुहिरो अर्थात् भुइँ छोएको बादल लाग्छ। “कुहिरो अलि बाक्लो भएर धेरै समयसम्म रह्यो भने हामी त्यसलाई शीलहर भन्ने गर्दछौँ,’’ उपमहानिर्देशक श्रेष्ठ भन्छिन्, ‘‘शीतलहर नेपालको तराइ अनि भारत, पाकिस्तान तथा बंगलादेशमा जाडो महिनामा लाग्ने गर्दछ।’’
शीतलहर चलेका वेला अधिकतम तापक्रम घट्छ। यसको अर्थ दिनभर जाडो हुनु हो। यसपालिको माघका केही दिनको नेपालगञ्ज र जुम्लाको अधिकतम तापक्रमका आंकडा हेर्दा शीतलहर चलेका वेला अधिकतम तापक्रम कतिसम्म घट्दो रहेछ भन्ने प्रष्ट हुन्छ।
शीतलहर नचलेका वेला नेपालगञ्जको अधिकतम तापक्रम जुम्लाको भन्दा बढी हुन्छ। तर, शीतलहर चलेका वेला नेपालगञ्जको अधिकतम तापक्रम, बाक्लो हिउँ पर्ने हिमाली जिल्ला जुम्लाको अधिकतम तापक्रमभन्दा कम भएको थियो। ८ माघमा जुम्लाको अधिकतम तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस थियो भने नेपालगञ्जको अधिकतम तापक्रम १४ डिग्री सेल्सियस थियो। अर्थात् त्यस दिन नेपालगञ्जमा दिनभर जुम्लामा भन्दा ५ दशमलव ३ डिग्री सेल्सियस बढी जाडो थियो।
‘‘सबैभन्दा पहिलो ठूलो शीतलहर १९९८ मा आएको थियो। त्यतिखेर न्यूनतम र अधिकतम तापक्रमको अन्तर १ दशमलव ३ डिग्री सेल्सियस मात्रै थियो,’’ श्रेष्ठ यसलाई अर्थ्याउँछिन्, ‘‘बिहानको जस्तो तापक्रम दिनभरि नै भईराख्नु भनेको धेरै जाडो अनुभव गर्नु हो।’’
जल तथा मौसम विज्ञान विभागका लागि इन्भारोमेन्ट एन्ड रिसोर्स मेनेजमेन्ट कन्सल्टयान्टले तयार गरेको एक प्रतिवेदनका अनुसार २०५९ मा नेपालमा ११ पुसदेखि १३ माघसम्म शीतलहर चलेको थियो। यसअघि यति लामो समयसम्म शीतलहर चलेको रेकर्ड नेपालको मौसम विज्ञान विभागको इतिहासमा छैन।
त्यसअघि २०५४ मा दोस्रो सबैभन्दा लामो शीतलहर चलेको थियो। त्यस साल ३० मंसिरदेखि २ माघसम्म शीत लहर चलेको थियो। यसवर्ष पनि त्यस्तै भयो, तर लगातार नभएर खण्ड–खण्ड गरि शीतलहर चल्यो।
शीतलहर चलेका वेला आपूmभन्दा अगाडि अलि टाढासम्म देखिँदैन। यसवर्ष कति ठाउँमा त ५० मिटरभन्दा टाढा नदेखिने भएको थियो। यस्तोमा बाटो हिँड्न कठिन हुन्छ। शीतलहर चल्दा मानिसहरु आपत नपरिकन घरबाट बाहिर ननिस्कने र गाडीलाई हिँड्न अप्ठ्यारो पर्ने भएकाले महोत्तरीको जलेश्वरमा गाडीहरु रोकिराखेका थिए।
अरु प्रकोपले जस्तै शीतलहरले पनि गरिबलाई सबैभन्दा बढी सताउँछ। प्रदेश २ को नीति आयोगको प्रतिवेदनअनुसार, यहाँका ४७.९ प्रतिशत मानिसले पेटभर खान पाएका छैनन, उनीहरुसँग जाडो छेक्ने घर र लुगाफाटो छैनन। विरामी हुँदा उनीहरु उपचार गराउन सक्दैनन। यहाँको गरिबी नेपालको औषत गरिबीभन्दा झण्डै दोब्बर छ।
प्रदेश २ भित्र पनि गरिबीको मात्रा रौतहट र महोत्तरीमा सबैभन्दा बढी छ। महोत्तरीको सदरमुकाम जलेश्वरको खैरामा मुसहर समुदायका ९० घर छन। यो पूरै बस्ती ऐलानी जग्गामा बसेको छ। यहाँ बिजुली छैन। जलेश्वरका अरु ठाउँका दलित समूदायले ग्यास सिलिन्डर र चुलो पाएका छन्, तर यहाँका मानिसले त्यो सुविधा पनि पाएका छैनन्। स्थानीयवासी सनिचरी सदा शीतलहरले समस्या भएको बताइन्। सनिचरी भन्छिन्, ‘‘चिसोले अनुहार सुन्निन्छ। सरकारी मान्छेले पीडितको नाम लेखेर लान्छ, तर राहत दिँदैन।’’
महोत्तरी गाउँपालिकाको अनैठाकी विपतिया सदाले घरको छानो नहुँदा शीतलहरमा झन समस्या झेल्नु परिरहेको बताइन्। ‘‘घरको छाना छैन। बालबालिका, गाईबस्तुलाई पनि चिसो लाग्छ। चिसो लागेर केही मानिस मरे,’’ विपतिया भन्छिन्, ‘‘जस्ताको छाना लगाउन आलटाल भएको छ। त्रिपाल छैन। चिसोले हामी सबैलाई समस्या पारेको छ।’’
अनैठाको पूरै मुसहर बस्तीको हालत त्यस्तै छ। यहाँका मानिससँग न्यानो लुगा छैन। घरको गारो लगाइसकेको भए पनि छाना छाइएको छैन। यस बस्तीका चारवटा घरमा मात्र छाना छाइएको छ, ३० वटा घरको छाना छैन। यी घर जनता आवास कार्यक्रमअन्र्तगत पोहर बनाउन थालिएका हुन्।
स्थानीयवासिन्दा विरज माझी दुई वर्षसम्म छानो नबन्दा समस्या भएको बताए। ‘‘दुई वर्ष भयो छानाको पैसा लगेको। छाना लगाइदिँदैन। ठेकेदारसँग कराउँदा–कराउँदा थाकिसक्यौँ, तर ठकेदारले छाना लगाइदिँदैन,’’ विरज भन्छन्।
जनता आवास कार्यक्रमको अनुगमन प्रदेश सरकार मातहत रहेकाले वडा र गाउँपालिकाले चासो नदिएको उनीहरुको गुनासो छ। दुई वर्ष पहिल्यै गरिसकिने काम पनि नगरिदिँदा शीतलहरले गरिबलाई थप मार परेको छ।
शीतलहरले स्वास्थ्यमा पनि असर गर्छ। यसले अस्पतालमा बिरामी बढ्ने गरेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विपिनकुमार यादव बताउँछन्।
नेपालगञ्जको भेरी अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारी जाडोका कारण उच्च रक्तचापको समस्या जटिल भएको बताउँछन्। ‘‘नियन्त्रित उच्च रक्तचाप पनि जाडो महिनामा अनियन्त्रित हुन्छ, औषधिको मात्रा बढाउनुपर्छ,” डा. अधिकारी भन्छन्। ‘‘जाडो महिनामा बिहानको चिसोले रगत नलीको खुम्चिने हुँदा हृदयघात बढ्छ भनिन्छ। त्यस्तो धेरै भेटिएको छैन, अहिले कोभिडले गर्दा पनि होला।’’
शीतलहरले गर्दा मजदूरी ठप्प भएको छ। काम गर्न नपाएपछि गरिब मानिसमा ऋणको भार थपिएको छ। चिसोमा जीउ अररिने भएकाले खुल्ला ठाउँमा काम गर्न पनि समस्या हुन्छ। त्यस्तै, शीतलहरले गर्दा गाईबस्तु चराउन लान बन्द भएको छ। गाईबस्तुलाई लुगा ओडाइदिएको जताततै देखिन्छ। जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शीतलहरले गर्दा पर्साको ठोरीमा १० वटा बंगुर मरे।
शीतलहरको चिसो छल्न गरिबहरु गाईबस्तुलाई खुवाउन जतन गरि राखेको पराल बालेर घुर ताप्ने गरिरहेका छन्। त्यति मात्रै होइन, घुर ताप्दा कति मानिसको ज्यान गयो, कति घाइते भए र कति घरमा आगो लाग्यो। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बुलेटिनअनुसार, पुस १ गतेयता घुर अर्थात् आगो ताप्ने क्रममा २८ जना जलेर घाइते भए। घाइतेमध्ये २६ जना महिला थिए। उनीहरु सबैलाई लुगाबाट सल्केको आगोले जलाएको थियो।
आगो ताप्ने क्रममा घाइते भएका नौ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरुमा एक बालकसहित दुईजना पुरुष र सात जना जना महिला छन्। यस्तैगरी, आगो ताप्दा १३ वटा घरगोठमा आगलागी भयो।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, शीत लहरले गर्दा एकजनाको मात्र ज्यान गएको छ। शीतलहरले चिस्याएको शरीर तताउन घुर ताप्ने क्रममा जलेर मृत्यु भएका नौ जनालाई शीतलहरले गर्दा मरेको ठानिएको छैन। शीतलहरले जटिल बनाएको स्वास्थ्य समस्याले गर्दा ज्यान गएकालाई पनि शीतलहरबाट मृत्यु भएकाहरुको सूचीमा राख्ने गरिएको छैन।
शीतलहरले आलु, दाल, गहुँ र तरकारी खेतीमा पनि असर गरेको छ। महोत्तरीका मरोल मण्डल भन्छन्। ‘‘बाक्लो कुहिरो लागेकाले गहुँ पहेलो भएको छ। यसो हुँदा बालीमा किरा लाग्छ। कुनै बालीलाई राम्रो गर्दैन।’’
कृषि ज्ञान केन्द्र, महोत्तरीका अधिकृत कालिकान्त झा पनि शीतलहरले बालीमा असर पर्ने बताउँछन्। ‘‘आलुमा बढी समयसम्म घाम लागेन भने रोगको सम्भावना बढी हुन्छ, किनकि आलुको लागि घाम चाहिन्छ,’’ झा भन्छन्।
चुरेमा बढेको वनविनासले गर्दा बँदेल र निलगाईजस्ता जंगली जनावर तलतिर झरेका छन्। उनीहरुले किसानको बाली खखाप पार्छन्। अरु वेला किसान आफ्नो बाली जोगाउन खेतमा जाग्राम बस्ने गर्थे। शीतलहर चलेपछि जाग्राम बस्न सक्दैनन। यसले गर्दा उनीहरुले कलिलैमा तरकारी टिपेर बजार पठाउनु पर्यो।
शीतलहरले मधेसमा धेरै मानिसलाई सोझो असर पार्छ। शीतलहर आकस्मिक कार्ययोजना २०७७ का अनुसार सप्तरीमा यस वर्ष पाँच हजार घरपरिवारका ५० हजार मानिसलाई शीतलहरले असर पार्ने अनुमान थियो। सप्तरीमा २०७४ मा शीतलहरले गर्दा १९ जनाको ज्यान गएको थियो।
यस्तै, दाङमा ३० हजार र बर्दियामा ६ हजार ५०० परिवारलाई शीतलहरले असर पार्ने अनुमान गरिएको थियो। एउटा जिल्लामा ६ हजार घरपरिवारलाई मात्रै शीत लहरले असर पार्ने अनुमान गर्दा पनि मधेसमा झण्डै सवा लाख घरपरिवारलाई असर पर्ने गरेको छ। यसमा गरिबीले गर्दा शीतलहरको असर पर्ने मानिसलाई मात्र समेटिएको छ। गरिबीको मारमा नपरेका तर शीत लहरले असर पार्ने मानिस समेटिएको छैन।
शीतलहर चल्दा जमिनदेखि लागेको कुहिरोले आकाश ढपक्कै ढाकेको हुन्छ। त्यसमा पानीका कण असाध्यै धेरै हुन्छन्। अर्कातिर शीतलहर चलेका वेला मानिसले पहिलेभन्दा बढी आगो ताप्ने गर्छन्। यस्तो आगो, उद्योग र गाडीले फालेका धुवाँ अन्त जान पाउँदैन र वायू प्रदूषित हुन्छ।
नेपालले शीतलहरलाई पनि विपद्को दर्जा दिएको छ। त्यसैले, जिल्लाका विपद् व्यवस्थापन समितिले शीतलहरको प्रभाव कम गर्नका लागि योजना बनाएका छन्। स्थानीय तहहरुले गरिब मानिसका बस्तीमा आगो बाल्न दाउरा तथा कम्बल दिएको बताएका छन्। महोत्तरी गाउँपालिका अध्यक्ष सुनिल राय शीतलहरमा स्थानीय मुसर, डोम जातिका हजार जनालाई कम्मल र कपडा वितरण गरेको बताउँछन्।
यसका लागि जिल्ला प्रशासन कार्यालय, महोत्तरीले पनि विभिन्न निकायसँग समन्वय गरेको थियो। गाउँपालिका र नगरपालिकालाई शीतलहरबाट कुनै पनि नागरिकले दुःख पाउनु हुन्न, चिसोले कठ्यांग्रिएर कसैको पनि मृत्यु हुनुहुन्न भनेर बन्दोबस्त मिलाउन पलह गरिएको तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। ‘जाडोले कोही पनि मर्नुहुन्न,’’ उनले भने।
तर, महोत्तरीको खैराका रामप्रित सदाले प्रमुख जिल्ला अधिकारी गाउँमै आएर हेरेको भएपनि राहत नपाएको बताए। वीरगन्जकी लालमति देवीले पनि शीतलहर चलेको १०÷१२ दिनसम्म पनि कसैले सहयोग नगरेको बताइन्। उनले भनिन्, ‘‘यो दलित टोल हो। केटाकेटी घुर तापेर बस्छन्। कसैले केही दिएको छैन।’’
चार चरणमा देखियो शीतलहर
अर्चना श्रेष्ठ
उपमहानिर्देशक
मौसम पूर्वानुमान महाशाखा
यसपालि मुख्य चारवटा चरणमा शीतलहर देखिएको छ। मंसिर २४ देखि २७ गतेसम्म पहिलो। त्यतिखेर तराईमा बिहान अलिकति कुहिरो लाग्ने गरेको थियो। दिउसोबाट बिस्तारै हट्दै जाने गरेको थियो।
मंसिर २९ देखि पुस २ गतेसम्म त्यो भन्दा अलिकति बाक्लो हुस्सु लाग्यो। शुरूमा अलि कम थियो भने पछि बढी लाग्यो।
त्यसपछि एकदम बाक्लो कुहिरो लाग्यो। पुस ३ गते देखि पुस ५ गतेसम्म यस्तो भयो। पश्चिम र पूर्वमा यस्तो थियो। पुस २७ गतेदेखि माघ ५ गतेसम्म अझ बाक्लो हुस्सु लाग्यो।
यसपाली कुहिरो मध्य नेपालमा अलि बढी देखियो। अरु ठाउँमा छिटो हटेर जाने भएपनि भैरहवामा अलि धेरै समयसम्म रह्यो।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०)बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रशारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज'को साताैँ अंक ‘गर्मीकाे जाडाे’मा आधारित सामग्री।)