एसईईकै शैली पछ्याउँदै थप प्रष्ट र वैज्ञानिक आन्तरिक मूल्यांकनको आधारमा दशैंअघि नै कक्षा–१२ को परीक्षाफल प्रकाशित गर्न सके विद्यार्थीको मानसिक तनाव कम मात्र होइन शैक्षिक सत्र समेत बिथोलिनबाट बचाउन सकिन्छ।
अवस्था सामान्य हुन्थ्यो त यतिबेला स्कूले विद्यार्थी अर्धवार्षिक परीक्षाको तयारीमा हुन्थे। मलमास नपरेको भए अबको एक महीनामा ठूला पर्व दशैं, तिहारको रौनक शुरू हुन थाल्थ्यो। विद्यार्थी परीक्षा सकिने वित्तिकै हुने पर्वका लामो विदाको दिन गन्दै बसिरहेका हुन्थे। तर, अवस्था त्यस्तो छैन, विद्यार्थी विद्यालय खुल्ने र विद्यालय जान पाउने दिन कहिले आउला भनेर पर्खेर बसेका छन्।
शैक्षिक सत्र अनुसार, कक्षा–११ र १२ को परीक्षा वैशाख र जेठभित्रै सकिएको हुन्थ्यो। कक्षा–१२ को अन्तिम परीक्षा ८ वैशाखदेखि र कक्षा–११ को २१ गतेदेखि शुरू गर्ने योजना थियो। कक्षा–११ को परीक्षा सकेर विद्यार्थी असारबाटै कक्षा–१२ को पढाइ शुरू गरिसकेका हुन्थे भने एक महीनाजति अघि नै कक्षा–१२ का विद्यार्थी परीक्षाफल प्राप्त गरी उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालयका ढोका ढक्ढक्याइसकेका हुन्थे। तर, अब परीक्षा कुन विधिमा कहिले सञ्चालन हुने भन्नेमा अन्योल बढेको छ। विद्यार्थी असमञ्जसमा छन्।
एसईई सञ्चालन गर्न नसकिने निष्कर्षमा पुगेको सरकारले आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिसकेको छ। आन्तरिक मूल्याङ्कनका लागि स्पष्ट आधार प्रस्तुत गर्न नसक्दा नतिजालाई लिएर आशंका र टिप्पणी पनि भए। एसईईलाई हाउगुजी नबनाई वैज्ञानिक मूल्याङ्कन पद्धतिलाई भविष्यका लागि समेत आधार बनाउन सके स्वाभाविक नतिजाको अपेक्षा गर्न सकिन्छ।
कक्षा–११ को हकमा भने ‘परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि– २०७७’ ले अनिश्चितता अन्त्य गरेको छ। तर, कक्षा–१२ का सन्दर्भमा भने हालसम्म कुनै ठोस निर्णय हुनसकेको छैन।
असोजको पहिलो सातासम्म परीक्षा सञ्चालन गर्ने मानसिकतामा परीक्षा बोर्ड रहेको जस्तो देखिए पनि कोरोना सङ्क्रमण बढिरहे र देशका धेरैजसो ठाउँमा निषेधाज्ञा जारी भइरहे यो असम्भव देखिन्छ। कात्तिक र मङ्सीरमा दशैंतिहार परेकाले परीक्षाका लागि कम्तीमा पुस पर्खनुपर्ने पनि हुनसक्छ।
परीक्षा बोर्ड पनि पुरानै पद्धति, अनलाइन वा अन्य कुनै विधिबाट परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने परीक्षा मोडलमा अलमलिएको देखिन्छ। एकातिर महामारीजन्य तनाव र अर्कोतर्फ पढाइ सञ्चालन हुन नसकेको मानसिक दबाब— विद्यार्थी र अभिभावक थप सास्ती खेपिरहेका छन्।
यसरी गर्न सकिन्छ मूल्याङ्कन
कक्षा–१२ माध्यमिक विद्यालय तहको अन्तिम परीक्षा भएकाले वस्तुगत आधारमै परीक्षण गरेर प्रमाणपत्र प्रदान गर्नु उपयुक्त हुन्छ। सामान्य अवस्थामा यो कक्षाका लागि स्तरीकृत परीक्षा सञ्चालन राम्रो भए पनि अहिलेको वैकल्पिक विधि अपनाउनुपर्ने बाध्यता छ।
यसका लागि भविष्यका लागि नजिर नबन्ने गरी आन्तरिक मूल्याङ्कनकै आधारमा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्न सकिन्छ। र, सरकार प्रतिबद्ध भएमा यो काम दशैं अघि नै गर्न सकिन्छ। यसबाट कक्षा–१२ का विद्यार्थीको शैक्षिक सत्र खेर नजाने मात्र होइन कक्षा–११ मा भर्ना हुन तयार झण्डै ११ लाख विद्यार्थीले समेत राहत पाउनेछन्। यसो नगरिए असर दशौं वर्षसम्म पर्नेछ, समग्र विद्यालय शिक्षा अस्तव्यस्त हुनेछ।
मूल्याङ्कनका आधार
अहिले कक्षा–११ को नतिजा प्रकाशित भइसकेको छ। यही नतिजा कक्षा–१२ का लागि पनि मूल्याङ्कनको भरपर्दो आधार बन्दछ। सम्बन्धित विद्यालयले कक्षा–१२ को अर्धवार्षिक र वार्षिक परीक्षा पनि सञ्चालन गरिसकेका छन्। विद्यार्थीले आन्तरिक परीक्षामा प्राप्त गरेको अङ्क अर्को आधार बन्न सक्दछ।
यी दुई नतिजाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरी विद्यालयको विगत तीन वर्षको कक्षा–१२ को नतिजाको तुलनात्मक अध्ययन गरी अन्तिम नतिजा तयार गर्न सकिन्छ।
आंशिक विवाद र नतिजा पुनःप्रकाशन गर्नु परे पनि अन्तर्राष्ट्रिय परीक्षा बोर्ड क्याम्ब्रिजले कक्षा–१२ समानस्तरको ए लेभलको परीक्षा विनै नतिजा प्रकाशित गरिसकेको प्रमाण हाम्रोसामु छ। त्यसैले पनि यो कठिन अवस्थामा परीक्षाको रटान लगाउनु तर्कपूर्ण देखिन्न।
किन पनि भने, अरू देशका समान उमेरका विद्यार्थी माथिल्लो कक्षामा पुग्दा नेपाली विद्यार्थी भने त्यही कक्षामा बसिरहनुले उनीहरूको मनोविज्ञानमा समेत नराम्रो असर गर्नेछ। यसबाट प्रतिस्पर्धा गर्न तयार विद्यार्थी पछिपर्ने जोखिम बढ्नेछ।
कोरोना कहरको यो समयमा एक किसिमको नतिजा प्राप्त गर्न सके विद्यार्थीले आगामी कक्षाका लागि पाठ्यपुस्तक र सम्बन्धित क्षेत्रका विषयवस्तु बारे खोजीनिती गर्नेछन्। बन्द कोठामा अलमलिएर बस्न विवश विद्यार्थी भविष्यका लागि थप योजना बनाउन थाल्नेछन्।
यसैले यो महत्वपूर्ण समयमा अनेक जोखाना हेरेर बस्नुभन्दा आन्तरिक मूल्याङ्कनका स्पष्ट आधार निर्माण गरी परीक्षा र नतिजा प्रकाशित गर्ने दिशामा अग्रसर हुनुको विकल्प छैन।
भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।