चौरजहारी घटना: तीन वर्षदेखिको प्रेम, तीन मारिए, तीन बेपत्ता
समाजमा व्याप्त ‘जातीय दूरी’कै कारण करीब दुई घण्टाको पैदल दूरीको भेरी पारिको गाउँबाट आएकी किशोरीको ‘जात’ थाहा पाउने वित्तिकै डराएकी उर्मिलालाई कत्ति पनि लागेको थिएन, उहिलेको त्यो डरले १० जेठ राति छोरा नवराजको मृत्युको रुप नै धारण गरेर उनको घर पस्नेछ भनेर ।
गएको २९ पुसको साँझ रुकुम पश्चिम, चौरजहारी नगरपालिका–८ सोती गाउँकी एक १७ वर्षीया किशोरी आफ्नो घर आउँदा जाजरकोटको भेरी नगरपालिका–४ राणा गाउँकी उर्मिला विकले शुरुमा कान्छी छोरीकी साथी भन्ठानिन् ।
तर आफ्नो तीन दिनको बसाइको क्रममा तिनै किशोरीले उर्मिलासमक्ष आफू उनको छोरीको नभई छोरा नवराजको साथी भएको खुलाएकी थिइन् ।
त्यसपछि पनि पटकपटक ती किशोरी नवराजको घरमा आउने गरेपछि उर्मिलाले उनको बारेमा चासो राख्न थालिन् । “बिहे नगरेकी केटी मान्छे पटकपटक आएर घरमा बासै बस्न थालेपछि मलाई शंका लाग्यो । त्यसपछि छोरालाई पनि हप्काएँ र, ती नानीलाई पनि हाम्रो घर नआउ भने । तर उनी आउन छोडिनन्”, उर्मिलाले हिमालसँग भनिन् ।
बुझ्दै जाँदा ती किशोरी रुकुमको चौरजहारीकी मल्ल परिवारकी छोरी हुन् भन्ने थाहा पाएपछि डराएकी उर्मिलाले छोरालाई हातै समाएर ‘उसकै घर पुर्याउन’ आग्रह गरेकी थिइन् ।
नवराजको घरमा मात्रै होइन युवतीको परिवारलाई पनि उनीहरूको सम्बन्धवारे जानकारी भएको देखिन्छ । वैशाख अन्तिमतिर नवराजको जन्मदिनमा ती युवती फेरि उर्मिलाको घरमा गएकी थिइन् । त्यतिवेला उनी एक्लै नभएर भाइलाई पनि साथै लिएर गएकी थिइन् । त्यतिबेला भाइसँगै ल्याएर आएकाले उर्मिलाले केही भनिनन् । त्यो दिन भाइ उर्मिलाकै घरमा बसे भने किशोरीलाई नवराजले मोटरसाइकलमा चौरजहारी पुर्याइदिएका थिए ।
जिल्ला फरक भए पनि भेरी नदीको वारि पारि छ, उर्मिला र ती किशोरीको गाउँ । समाजमा व्याप्त ‘जातीय दूरी’कै कारण दुई घण्टाको पैदल दूरीबाट आएकी किशोरीको ‘जात’जान्ने वित्तिकै डराएकी उर्मिलालाई कत्ति पनि लागेको थिएन, उहिलेको त्यो डरले १० जेठ राति शोकको रुप नै धारण गरेर उनको घर पस्नेछ भनेर ।
...
सुनियोजित आक्रमण
एकसाता अघि नै ‘भागेर बिहे गर्ने’ भनेर दुइबीच सल्लाह भएपछि शनिवार २१ वर्षीय नवराज विक १९ जना साथीहरुसहित चौरजहारीको सोती पुगेका थिए, युवतीलाई लिन ।
“दुलही ल्याएर साथीहरूलाई भोज खुवाउने योजना बनाएपछि हामी उनकै सल्लाहमा सोतीगाउँ पुगेका थियौं”, युवकका साथी सुदीपले हिमालसँग भने ।
तर नवराज र ती किशोरीले सोचे जस्तो भएन । दुलही लिन गएका नवराज जीवित घर फर्कन सकेनन् । शनिवार बेलुकी चौरजहारीमा किशोरीका आफन्तहरूबाट भएको आक्रमणमा नवराज र उनका दुई साथीहरु भेरी नगरपालिका–४ कै टीकाराम विक र गणेश बुढा मारिएका छन् भने सोही वडाका सन्जु विक, वडा–११ का लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता छन् ।
घाइतेहरूका अनुसार किशोरीको घर पुग्नु अगावै बीच बाटोमा उनीहरुमाथि आक्रमण भएको थियो । घाइते आशिष विकले आफू माथि पुग्ने बित्तिकै आक्रमण भएकाले स्थानीयले पहिल्यैदेखि बाटो ढुकेर बसेको हुनसक्ने बताए । उनको बुझाइमा युवतीको परिवारलाई कसैले खबर पुर्याएको हुनसक्ने अनुमान गरेका छन् ।
चौरजहारीमा भएको उक्त आक्रमणका घाइतेहरुले पूरै गाउँ नै उर्लिएर आएपछि भागाभाग मच्चिएको र भेरीमा हाम फाल्न बाध्य भएको बताएका छन् । उनीहरू युवतीको घरमा नपुग्दै सोती गाउँका स्थानीयले आक्रमण गरेपछि भागदौड मच्चिएको नवराजसँगै गएका भेरी नगरपालिका–४, खलंगाका सुदीप खड्काले हिमाललाई बताए ।
“एक्कासी पूरै गाउँ उर्लेर आक्रमण भएपछि ज्यान जोगाउन भेरीमा हाम फाल्यौं । कोही भागे, कोहीलाई लखेटी लखेटी कुटे”, खड्काले भने ।
चौरजहारीका स्थानीयले ‘तल्लो जाति भएर ठकुरीकी छोरी लिन खोज्ने’ भन्दै नवराजसँगै गएका सबैमाथि हातपात गरेको र जोगिनका लागि भेरीमा हाम फालेको खड्काको भनाइ छ । शरीरभरि चोटपटक भएका उनले पौडी खेलेर नदी तरेपछि पनि आफूमाथि कुटपिट भएको बताए । त्यसपछि प्रहरीको नियन्त्रणमा पुगेपछि दुई दिन चौरजहारी मिसन अस्पतालमा उपचार गराएर सोमवार घर फर्किएका खड्काले आफ्नै ज्यान जोगाउन मुस्किल परेकाले साथीहरूको अवस्था वारे खबर पाउन नसकेको बताए ।
हातमा चिर्पट र हँसियासहित गाउँका सबै खनिएपछि आफूले प्रतिकार नगरेर ज्यान बचाउन भेरी नदीतिर भागेको बताउँछन् सोही समूहमा गएका सरोज भडेल । “गाउँमा पुग्नेबित्तिकै एकाएक आक्रमण भएपछि कोही नदीमा हाम फाले, कोहीलाई समातेर कुटपिट गरे” भडेलले भने, “अरू ६ जनालाई कुटपिट गरेर भेरीमा फालिदिए जस्तो लाग्छ ।”
मृतक तीन जनाको शव फेरा खोला नजिक भेरी नदीको किनारमा भोलिपल्ट भेटिएको थियो । प्रहरीका अनुसार बेपत्ता तीन जनाको खोजी भइरहेको छ ।
२० जना विरुद्ध किटानी, १२ जना पक्राउ
घटनामा पीडित परिवारले चौरजहारीका २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल (युवतीका बुवा), प्रकाशी मल्ल (युवतीकी आमा) र युवतीलगायत २० जनाको नाममा मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।
यससँगै मृतकको शवको पोष्टमोर्टेम गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठका अनुसार मंगलवार एक जनाको र बुधवार अरूको पोष्टमाेर्टेम गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।
यता रुकुम प्रहरीले भने घटनालगत्तै चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती र युवतीका बुवाआमासहित १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कविराज रोकायले किटानी जाहेरी परेसँगै घटनाबारे थप अनुसन्धान अघि बढ्ने बताए ।
तीन वर्षदेखिको प्रेम
नवराजका आफन्तको भनाइ अनुसार उनको र सोतीकी किशोरीबीच तीन वर्ष पहिले चिनजान भएको थियो । नवराज भलिबल र फुटबलका राम्रा खेलाडी थिए । उनी प्रतियोगितामा भाग लिन चौरजहारी आवतजावत गरिरहन्थे । सोही क्रममा किशोरीसँग उनको हिमचिम बढेको अनुमान उर्मिलाको छ ।
यसअघि पनि युवतीको परिवारले नवराजलाई पटकपटक धम्क्याएको थियो । त्यसपछि केही समय युवती नवराजको घरमा आउने क्रम रोकिएको थियो । तर, फोनमा भने उनीहरु निरन्तर कुरा गर्ने गरेको नवराजका आफन्तले बताएका छन् ।
गएको चैतमा युवतीको घर पुग्दा किशोरीका आफन्तले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका कारण यसपटक नवराज साथीहरुसहित पुगेका थिए । त्यतिवेला नवराजका आमाबुवालाई बेलाएर आइन्दा यो सम्बन्ध अघि नबढाउने भन्दै लिखित कागज समेत गराइएको थियो ।
प्रहरीमा छनौट भई तालीमको पर्खाइमा रहेका भेरी वारि पारिका दुई प्रेमीका लागि इलाका प्रहरी कार्यालयमा गरिएको त्यो कागजको कुनै अर्थ थिएन । करिअर शुरु गर्न लागेका नवराजको आत्मबल बलियो थियो भने, परिवारबाट बिहेको दबाबमा रहेकी किशोरीको विश्वास कायम राख्नैपर्ने जिम्मेवारी पनि ।
यही कारण वैशाखको अन्त्यमा राणागाउँ पुगेकी किशोरीलाई लिन नवराज गएको शनिवार सोती गाउँ पुगे । नवराजले ‘युवतीको बिहे अन्तै हुने कुरा चलेको र आफूलाई लिन बोलाएको’ जानकारी आफूसँगै गएका साथीहरुलाई गराएका थिए ।
तर सदियौँदेखि समाजमा जकडिएर बसेको जातपातको कुप्रथाले १० जेठको राति रुकुम पश्चिममा फेरि एकपटक नृशंस स्वरुप देखायो । जसमा तीन जना युवा मारिएका छन् भने तीनै जना बेपत्ता छन् । प्रेम अंकुरित हुन नपाउँदै निमोठिएको छ, समाजमा जातीय विभेदको दाग अझै गाढा रहेको पुष्टि भएको छ ।
- प्रविर ददेल, राणा गाउँ, जाजरकोटबाट