‘रेडियो नेपालमा गई ह्वाँह्वाँ रोएँ तर कसैको मन पग्लेन’
‘मैले गाएका गीत फोहोरी छैनन्। कहीं पनि अश्लीलता छैन। भावुक र नृत्यात्मक छन्। रोमान्टिक छन्। माया, प्रेम, बिछोड, घात, दुःख, पीडा बोलेका छन्। तर पछिल्लो समय पप र हिपहप गीत छाडा पनि आएका छन्।’
भनिन्छ, ‘तन बूढो हुन्छ तर मन बूढो कहिल्यै हुँदैन।’ नेपालमा पप गीत भित्र्याउने ओमविक्रम विष्टको सक्रियता हेर्दा यो कथनको तारतम्य नमिलेको जस्तो लाग्छ। नब्बेको दशकमा ‘म मौनतामा अल्झिरहेको’, ‘को हो त्यो जसले मलाई’, ‘आवाज देऊ’ जस्ता गीत मार्फत युवाको मनमस्तिष्कमा जमेका नेपाली पप सम्राट विष्ट ६८ वर्षमा पनि तन्नेरी झैं स्टेजमा रमाइरहेका छन्।
केही समयका लागि नेपाल आएका विष्ट गीत रेकर्ड गराउन स्टुडियो धाइरहेका छन्। हिमालखबरको स्टुडियोमा गफिँदा पनि उनको मुहारमा उही पुरानै चञ्चलता र सक्रियता प्रष्ट दृष्टिगोचर हुन्थ्यो।
२०२८ सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरी पप गीत गाउन थालेका विष्टलाई शुरूआती दिनमा ‘बेलायती बुख्याचा’ भनेर आलोचना गरिन्थ्यो। तैपनि उनी आफ्नो साधनाबाट कहिल्यै विचलित भएनन्।
पप मार्फत नब्बेको दशकमा युवालाई स्टेजबाट नचाएका उनी पछिल्लो पटक कात्तिक ९ गते भरतपुरमा एकल साँझमा पनि पुरानै लयमा देखिए। उनै विष्टसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी :
भर्खरै अमेरिकाबाट नेपाल आउनुभएछ, केमा व्यस्त हुनुहुन्छ?
निकै वर्षपछि नेपाल आउने मौका पाएँ। कान्तिपुर पब्लिकेशनले लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरेकाले पनि आएको हुँ। अस्वस्थताका कारणले विदेश बस्नुपरेको थियो। उपचार गराइरहेको थिएँ। मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसैले आठ वर्षसम्म नेपाल आउन पाइनँ। उता रहँदा अन्त्यन्तै छटपटी हुन्थ्यो। धेरै गुमाए जस्तो लाग्थ्यो।
अहिले नेपाल आउँदा खुशी र आत्मसन्तुष्टि मिलेको छ। एक महीनाका लागि आएको हुँ तर यति धेरै माया पाएँ कि पाँच महीना भइसक्यो। अमेरिकामा पनि परिवारजन छन्। नेपाल र अमेरिका दुवैतर्फ छोराछोरी छन्। सबैलाई म एक्लैले बा र आमा भई हुर्काएँ। त्यसैले सबैतिरको माया लाग्छ। नेपाल त घर नै हो, झन् धेरै माया लाग्छ।
६८ वर्षको उमेरमा पनि कन्सर्टदेखि गीत रेकर्डिङ गर्नमा व्यस्त हुनुहुन्छ। कसरी यति सक्रिय हुनुभएको छ?
मसँग अत्यन्तै आत्मबल पनि रहेछ। मेरो स्वास्थ्य समस्या पहिला धेरै नै थियो। तर अहिले ठीक छ। वेलावेला स्वरले दुःख दिइरहन्छ, स्वर भासिन्छ। बिहान ठीक हुन्छ, दिउँसो हुँदै गएपछि फेरि गाह्रो हुन्छ। साँझमा फेरि स्वर उस्तै हुन्छ। तर स्टेजमा चढेर आफ्नो लयमा गीत गाउन थालेपछि स्वर खुल्दै आउँछ।
२० वर्षअघि अन्तर्वार्तामा ‘संगीतमा म पागल छु। जब मलाई मृत्युले छुन्छ, तब मात्र म संगीतलाई छोडछु,’ भन्नुभएको थियो। संगीतप्रति यति धेरै लगाव कसरी जाग्यो?
यो सत्य कुरा हो। मैले संगीत छाड्ने भनेको मृत्युपछि नै हो। त्यसैले अहिले पनि गीत रेकर्ड गराइरहेको छु। नेपाल आएपछि १२ वटा गीत रेकर्ड गराइसकेको छु। आठ वटा त तयार नै भइसकेका छन्। गीत गाउने अरू मौका पनि आइरहेको छ। त्यो पनि गाउने प्रयास गर्नेछु।
तपाईंलाई नेपाली पप गीतको सम्राट भनिन्छ। खासमा तपाईंका लागि पप गीतसंगीत के हो?
मैले पप गीत भनेर गाएकै हैन। आधुनिक गीत भनेर गाएको हुँ। त्यस वेला नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान, बच्चु कैलाश, मीरा राणा, तारा थापाहरूको भारतीय शैलीका गीतमा मात्र आकर्षण थियो। पृथक् गीत–संगीत नै आएको थिएन। आठ वर्षको उमेरदेखि नै अंग्रेजी गीत सुन्न थालेको मैले १० वर्षको उमेरदेखि आफै सिकेर गिटार बजाउन थालें। विदेशबाट बुवाले ‘रेकर्ड प्लेयर’ पनि ल्याइदिनुभएको थियो। त्यसले गर्दा मेरो रुचि पश्चिमा संगीततिर गयो। मैले भरेको संगीत पनि पश्चिमातिर ढल्कियो।
शब्द, लय र संगीत नेपाली तरीकाको हुन्थ्यो तर पश्चिमा बाजा धेरै प्रयोग हुन्थे। हामीले पियानो, अगेन, गिटार मगायौं। त्यसमा पनि नयाँ संगीत बन्यो। श्रोताले पनि नयाँ स्वाद लिन थाले। यो काम गर्दा बाधा पनि भयो। तर मैले गाउँदै गएपछि दोस्रो पुस्ता पनि आयो। दोस्रो पुस्ताको पालाबाट पप गीत भन्न थालियो। त्यसपछि मेरो गीतलाई पनि पप गीत भन्न थालिएको हो।
पप गीत गाउन बाजा मात्र पश्चिमा बजाएर हुँदैन, ड्रम र गिटार रेटेर मात्र हुँदैन, स्वर पनि त्यस्तै हुनुपर्छ। बेस्सरी ‘हाइ पिच’ हुनुपर्छ। नत्र त यहाँ नारायण गोपाललाई पनि पप गायक भन्छन्। नारायण गोपालले पनि गिटार प्रयोग भएको ‘आँखाको भाका, आँखैले राम्ररी बुझी सम्झनु’ गीत गाउनुभएको छ। तर उहाँको स्वर आधुनिक गीतकै लागि हो।
तपाईंले गीत सँगसँगै भिडिओमा आफै खेल्ने र कन्सर्टहरूमा पनि गाउँदा झुमेर नाच्दै गाउने चलन ल्याइदिनुभयो। कसरी गायकसँगै ‘पर्फमर’ पनि बन्नुभयो त?
५० वर्षअघि ‘द ग्रिन्स लेन्स’ भन्ने मेरो आफ्नै ब्यान्ड थियो। त्यसमा अंग्रेजी गीत पनि गाउने गरिन्थ्यो। मुख्य गायक योगेन्द्र शाक्य र श्याम मानन्धर हुनुहुन्थ्यो। गिटार र ड्रम बजाउने संगीतकर्मीको ठूलो टीम थियो। हामी गीत गाउँदै नाच्थ्यौं। स्टेजमा पनि नाच्नै पर्थ्यो । झुम्दै, हल्लिदै, गाउँथ्यौं। शायद, हामीले त्यो पश्चिमा शैली सिकेका थियौँ।
फेशन पनि त्यस्तै थियो- कपाल पाल्थ्यौं, डिंगो जुत्ता र प्यान्ट लगाउँथ्यौं। बाटोमा हिंड्ने वृद्धले मेरो लुगा देखेर, ‘आम्मा, यसले कस्तो च्यातिएको लुगा लगाएको ? के भयो बाबु तिमीलाई?’ पनि भने। त्यसरी लुगा लगाएर हिँड्दा आनन्द आउँथ्यो। बिस्तारै व्यक्तित्व पनि परिवर्तन भयो।
स्टेजमा खुलेरै नाच्न थालें। भिडिओ बनाउँदा पनि आफै खेल्न थालें। त्यो दर्शकलाई मन पर्न थाल्यो। आफू नाच्न थालेपछि दर्शक पनि स्टेज नजीक आएर नाच्न थाले। त्यसले गर्दा पनि चर्चामा पुगियो। २० वर्षसम्म त नाच्दै गीत गाइयो। डेढ सयवटा जति गीत एकदमै हिट पनि भए। तिनै गीत अहिले पनि हिट छन्। अहिले नयाँ पुस्ता आयो, राम्रा बाजा छन्, गाउने पनि उस्तै राम्रा छन्। तथापि पहिलाका गीत अहिले पनि सुनिन्छ।
तपाईंले भनेजस्तै आजका श्रोताले पनि पुराना गीत धेरै रुचाउँछन्। एकान्तमा ‘म मौनतामा अल्झिरहको एउटा जीवन’ जस्ता गीत सुनिरहेका हुन्छन्। यसरी नयाँ पुस्ताले पनि पुरानै गीत मन पराउनुको कारण के होला भन्ठान्नुहुन्छ?
खासमा राम्रा गीत सधैं राम्रा नै हुन्छन्। सयौं वर्ष पुरानो भए पनि राम्रो गीतको सम्मान सधैं हुँदोरहेछ। अनि एकअर्कोका गीतसंगीतलाई सम्मान नै गर्ने हो। मैले पप गीत गाउँदा अर्को कुनै पप गायक नै थिएन। यस्तो गीत गाउँदा कतिले पागल पनि भने तर गाउन छाडिनँ। यो जगल्टेले के गीत गाएको होला पनि भने। समाज बिगार्न लाग्यो पनि भने। पछि ती गीत नै चले। अहिलेसम्म बाँचिरहेका पनि छन्।
आफ्नो समयमा पप गीत गाउनै कठिन थियो भन्नुभयो। तपाईंले पप गीत गाउँदा आइपरेका आपत्को सामना चाहिँ कसरी गर्नुभयो?
त्यस वेला सारा दुनियाँले गलत भनिरहँदा पनि मलाई केही फरक परेन, गाउन छाडिनँ। त्यस वेला पप गीतसंगीतमा त्यस्तो क्रेजी किन भएँ, मलाई नै थाहा छैन। रातैभरि गिटार रेटेर गाउँदै बस्थ्यौं। रातभरि इन्द्र चोकको भैरव थानमा गाउँथ्यौं। मानिसहरू झ्यालझ्यालबाट हेर्थे।
बुवाले राम्रो स्कूलमा भर्ना गरिदिनुभएको थियो। तर पढ्न नगई गिटार लिएर चोकमा बसेर गाउँथे। दुई-चार पटक बुवाको लात र चड्कन पनि खाएको छु। घरबाट लखेट्नु पनि भयो। आमा चाहिँ बुवाबाट बचाउनुहुन्थ्यो।
हाम्रो बुवा हार्मोनियम बजाएर गाएको गीत मन पराउने, म परें गिटार र ड्रम बजाउने। त्यसैले स्वीकार्य भएन। बिस्तारै रेडियो नेपालमा गीत गाउन थालेपछि मात्र घरपरिवारले स्विकार्यो। साथै, पाटन कलेजबाट आईए र बीए सकेँ। अनि विभिन्न स्टेजमा गीत गाउन अफर आउन थाल्यो।
२०३० सालतिर रेडियो नेपालमा पप गीतलाई सेन्सर जस्तै थियो रे, हो?
सेन्सर नै लगाएको त हैन तर मलाई ‘यस्तो गीत नगाउनू र बाजा नबजाउनू’ भनेर बारम्बार भनिथ्यो। स्वर्गीय नातिकाजि, शिवशंकर, तारा देवीहरूले नै ‘ए बाबु, के गीत गाएको ओ ओ गर्ने’ भन्नुहुन्थ्यो। त्यस वेला बुवा पनि रेडियो नेपालको मुख्य तहको पदमा नै हुनुहुन्थ्यो। सबै मिलेर गाली गर्थे तर मैले गाउन छाडिनँ।
जब ‘आँखाको प्यास’, ‘म मौनतामा’ जस्ता गीत हिट भए, त्यसपछि उहाँहरू पनि सकारात्मक हुन थाल्नुभयो। उहाँहरूले आफ्नो गीतमा पनि हाम्रो बाजाहरू बजाइदिनुपर्यो भन्न थाल्नुभयो। त्यस वेला रेडियोमा एउटा गीत गाएको २० रुपैयाँ पाइन्थ्यो। तर बाहिर कार्यक्रम गर्दा दुई हजारसम्म पाइन्थ्यो।
त्यति वेला रेडियो नेपालले निकै दुःख दिएको हो। मेरा गीतको टेपमा चुरोटले प्वाल पारिएको हुन्थ्यो। २१ वटा त्यस्ता गीतमा प्वाल पारिएको छ। त्यो वेला म कत्ति रुएको छु। बिस्तारै दर्शकले यही गीतसंगीतलाई मन पराए। विश्वव्यापी पनि भयो।
तपाईंका ३६ वटा गीत रेडियो नेपालबाट गायब बनाइएको छ रे! खोजी गर्नुभएन?
हो, गायब नै छ। खोजी पनि गरेको हुँ। तर कति खोजी गर्ने, कति धाउने ? धेरै धाएपछि दिक्क लागेर छाडिदिएको हुँ। अब त त्यो सबै फालिसके होलान्। त्यस वेलाका धेरै मानिस बितिसके। सरकारी जागीर हो, कसले दुःख गरेर खोजिदिन्थे ! घाममा चुरोट तान्यो, हाजिर गर्यो, अनि घर फर्कियो।
श्री ५ को सरकारको पालामा त्यस्तो थियो, रेडियो नेपाल। सबैले आलटाल मात्र गर्थे। अहिले पनि त्यही नै छ। ती हराएका गीतको अझै माया लाग्छ। रेडियो नेपालमा गएरै ह्वाँह्वाँ रोएँ। भावुक पनि भएँ तर खोजिदिएनन्।
कुनै वेला पप गायकले आफैले आफ्नो पोस्टर टाँसेर क्यासेट बिक्री गर्नुपर्थ्यो। तपाईंले पनि गर्नुभयो?
खासमा त्यो म पछिको पुस्ताले गरे। किनभने त्यो वेला पनि रेडियो र टेलिभिजनले पप गीत बजाइदिँदैनथे । त्यसैले आफ्नो गीत आफै बिक्री गराउनुको विकल्प थिएन। उनीहरूप्रति मलाई सम्मान छ। त्यस्तो संघर्ष गरे अनुसार कलाकारले केही पनि पाएनन्। त्यस वेला पनि क्यासेट कम्पनीलाई नै धेरै फाइदा चाहिन्थ्यो। कलाकारलाई थोरै दिएर पन्छाउँथे। त्यसैले त त्यस वेला गीत चले, गायक हिट पनि भए तर क्यासेट बिक्री भएको पैसा कम्पनीले खाइदिए। कलाकार मारमा परे। कतिसम्म भने चलेका कलाकारसँग समेत उपचार गर्ने वेला पैसा हुँदैनथ्यो।
त्यो समयमा हामीलाई पनि धेरै दिक्क लाग्यो। अनि गीत बजाउन रेडियो र टेलिभिजनमा नै ढुकेर बस्न थालियो। उनीहरूले साँझमा रक्सी खुवाउनेको मात्र गीत बजाउँथे। त्यसैले ‘गीत बजेन भने कुटाइ खान्छस्’ भन्थ्यौं। नेपालमा पहिलादेखि नै हरेक तहमा सानो–ठूलो भ्रष्टाचार हुँदै आएको छ।
पुरुष गायकले गाउँदा त उच्छृंखल भन्ने वेलामा महिला पप गायकलाई कस्तो थियो?
त्यस वेला गाउने त्यति धेरै महिला थिएनन्। मैले गाएको वेलामा दार्जिलिङबाट पनि केही महिला कलाकार आउनुभएको थियो। रेणु थापासँग धेरै गाइयो। त्यसपछि तारा थापाजी आउनुभयो। तर उहाँ पप गीतमा त्यति धेरै फिट हुनुभएन। उहाँहरूले पनि स्टेजमा चढेर गीत गाउँदा सबै दंग पर्थे। सुक्मित गुरुङसँग गीत गाउँदा दर्शक पागल भएका थिए। उहाँसँगका मेरा धेरै गीत हिट पनि भए। अहिले त पप गीत गाउने गायिका कति भए, भए। उनीहरू आफै बाजा बजाएर गाउने गर्छन्। त्यो देख्दा रमाइलो लाग्छ।
पप गीतलाई अहिले पनि उच्छृंखल भन्ने गरिन्छ। खासमा पप गीतले कस्तो मर्म बोकेको हुन्छ, के भन्न खोज्छ?
मैले गाएका गीत फोहोरी छैनन्। कहीं पनि अश्लीलता छैन। भावुक र नृत्यात्मक गीत छन्। यी रोमान्टिक छन्। गम्भीर छन्। माया, प्रेम, बिछोड, घात, दुःख, पीडा बोलेका छन्। तर पछिल्लो समय पप र हिपहप गीत छाडा पनि आएका छन्। यो हुनुहुँदैन। कति गीत त यस्ता छन्, यो अन्तर्वार्तामा उच्चारण समेत गर्न सकिँदैन । यो रोकिनुपर्छ। कतिले नराम्रो नै गरे तर कतिले अहिले पनि राम्रो गाएका छन्।
भिटेनहरूले अहिले गाएको र्यापशैली पहिलापहिला विवाहमा गाइने शैली हो। त्यति वेला पनि अहिले लान्छु, भगाउँछु, कुट्छु, ठोक्छु भनेर गाउँथे। तर त्यो त्यस्ता कार्यक्रममा मात्र सुनिन्थे । अहिले इन्टरनेटमा हालेपछि सबैले सुन्ने भए।
तपाईंले देखेदेखि अहिलेसम्मको नेपाली संगीत क्षेत्रमा राम्रो के भयो, नराम्रो के भयो जस्तो लाग्छ?
अहिले त म धेरै राम्रो देख्छु। गाउनेहरू प्रतिभाशाली छन्। प्रविधिले बिग्रेको स्वर पनि सपारिदिन्छ। पहिला एकपटक एउटा शब्द बिग्रिए, शुरूबाटै गाउनुपर्थ्यो । ‘टिमी’ले भनेर बिगार्यो भने अहिले ‘तिमी’ भनेर प्रविधिले मिलाइदिन्छ। तर लगानी चाहिं पप गीतमा अझै कम छ। अझै पनि पपलाई युवाले मात्र गाउने र सुन्ने गीत भनेर लिइन्छ। लगानी पनि उनीहरूले नै गर्नुपर्छ भन्छन्।
अहिले पनि उच्चवर्गीय परिवारका छोराछोरीले आफ्ना बुवाआमासँग पैसा मागेर गीत रेकर्ड गर्नुपर्ने स्थिति छ। व्यवसायीकरणमा अझै पनि जान सकेको छैन। अहिले त पैसा भयो भने इन्टरनेटमा ‘लाइक’ र ’कमेन्ट’ पनि पाइने रहेछ। रक्सी खुवाउन सक्यो भने गीतको चर्चा मिडियामा पनि हुने रहेछ। त्यो विकृति हट्नुपर्छ। कलाकार र गायकले नै संवेदनशील भएर यस्तो विषय उठाउनुपर्छ।
अहिले पनि कलाकार र गायककै लगावमा पप गीत–संगीत चलिरहेको छ। तपाईंमा पनि त्यस्तै लगाव थियो। २०६२ सालमा श्रीमती आईसीयूमा भएका वेला पनि भक्तपुरमा कन्सर्टमा जानुभएको थियो?
खासमा त्यो वेला आयोजकसँग ‘कन्ट्य्राक्ट’ भइसकेको थियो। धेरैतिर विज्ञापन पनि भइसकेको थियो। त्यो वेला श्रीमती निमोनिया भएर अन्तिम अवस्थामा थिइन्। मैले रोएरै भए पनि आफ्नो कलाकर्मको धर्म पूरा गरेको थिएँ।
म रोइरहेको टाढाबाट मात्र देखिएन। तर मैले रुँदै, ‘म मौनतामा’ भन्ने गीत गाएँ। गाइसकेपछि तल झर्न पनि सकेको थिइनँ। अरूले नै सहायता दिएर तल झारे। त्यसपछि सिधा अस्पताल गएँ र त्यसको १२ घण्टापछि श्रीमती मेरै काखमा बितिन्।
२०३० को दशकमा स्टेज तताएको गायकलाई आजभोलि पनि स्टेजमा गाउँदा कस्तो महसूस हुन्छ?
मैले आजका संगीतकर्मीसँग काम गरेको छैन। अहिले पनि मेरा पुरानै साथीहरू हुनुहुन्छ। सुवर्ण लिम्बू, सञ्जिम, देव राणा, अमोल, जेनिसा कार्की, प्रदीप, विशाल गुरुङ, सबै छौं। आठ जनाको समूहले अहिले पनि कन्सर्ट गर्दै छौं। मलाई बूढो भएँ भन्ने लाग्दैन। उस्तै रमाइलो गर्छु। तैपनि अनौठो चाहिँं लाग्दो रहेछ। म त्यो ओमविक्रम हो र भन्ने लाग्दो रहेछ। गीतको अभ्यास गरिरहँदा ‘बूढो मान्छे, अझै पनि तगडा छ है’ भनेर जिस्काउँछन्।
सरकारी सेवामा भए त उमेरहदले अवकाश लिइसक्नुहुन्थ्यो। अब त आराम गरौं भन्ने विचार आउँदैन?
त्यस्तो विचार आउँदै आएन। मैले जस्तै बिरामी हुँदा पनि गाउन छाडेको छैन। मिर्गौला प्रत्यारोपण गरेका वेला शरीरभरि पोकैपोका झुन्ड्याउँदा पनि गिटार बजाइरहें। म गिटार नबजाई र गीत नगाई बस्नै सक्दिनँ। ९० वर्षसम्म गीत गाउने रहर छ। त्यसैले किन डराउने?
अमेरिकामा पनि ८५ वर्षसम्म त गाएकै देखेको छु। त्यसैले नसक्ने भन्ने छैन। तर हामीले खानपानमा ख्याल गर्नुपर्ने रहेछ। माछामासु नखाने, रक्सी, चुरोट नखाने र साजसब्जी खाने गरेर स्वास्थ्यको ख्याल राख्नुपर्छ।
अमेरिका र नेपालमा आधा–आधा समय बिताउँदै आउनुभएको छ। तपाईंका लागि यी दुई देश के हुन्?
मातृभूमि कुनै हालतमा छोड्न सकिँदैन। यहाँ त हिमाल हेरेर बस्दा पनि आनन्द आउँछ। बाटोमा बूढाबूढी, नेपाली खाना सबै रहर लाग्दो लाग्छ।
अमेरिका आधुनिक देश भयो। जहाँ हेर्यो, शहर छ। उस्तै गाडी, भवन, काम मात्र बढी। काम गरेपछि पनि खाना खान परिवार सँगै हुँदैन। कसैलाई आफ्नो देश छाडेर विदेश जाऔं भन्ने रहर हुँदैन। बाँच्नका लागि पैसा चाहिन्छ। त्यसैले विदेशिने बाध्यता छ।
कतिपयले तपाईंलाई अमेरिकी भयो पनि भन्छन्। अर्को देशको नागरिक हुनुले कति फरक पार्छ?
यसबारे मेरो भन्नु केही छैन। नागरिकता लिए पनि, नलिए पनि, मैले मेरो मातृभूमिप्रति कर्तव्य पूरा गरेको छु। त्यो भन्दैमा मातृभूमिप्रति माया कम हुने पनि होइन।
२०३० सालदेखि नेपाली संगीत क्षेत्रबारे अवगत हुनुहुन्छ। नेपाली संगीत क्षेत्रका अहिलेका समस्या के के हुन्? समग्र संगीत क्षेत्रको प्रगति कसरी होला?
हामीले जतिसुकै गन्थन गरे पनि निष्कर्ष चाहिन्छ। पहिला गायकगायिका हुन रेडियो नेपालमा स्वर परीक्षण हुने गर्थ्यो। गाउनेहरूको ताल, सुर, क्षमता सबैको परीक्षण हुँदा गुणस्तरीय कलाकार उत्पादन हुन्थ्यो भने उनीहरू स्वर परीक्षामा पास भएपछि निश्चित पारिश्रमिक पनि पाउँथे। स्वर परीक्षामा पास नहुनेले गाउन पाउँदैनथे। स्वर परीक्षामा पास भएकाले पनि राम्रो गीत गाएनन् भने पलायन हुन्थे। तर अहिलेको जस्तो खस्किएको जनशक्ति संगीत बजारमा आउँदैनथ्यो।
अहिले रेडियो नेपालमा स्वर परीक्षणको त्यो सुविधा छैन। आजभन्दा २० देखि ३० वर्षअघि दुई करोडको रेडियो नेपालको स्टुडियो पनि खेर गएको छ। त्यो जापानले बनाइदिएको स्टुडियो हो।
विभिन्न सञ्चारमन्त्री आए तर कसैले काम नगर्ने भए। त्यसैले निजी क्षेत्रका स्टुडियो खुले। त्यहाँ रुने, कराउने, चिच्याउने जे गरेर गाए पनि हुने स्थिति बन्यो। आज त संगीत क्षेत्रमा बदमासी गर्नेलाई न समाउने कोही छ न त राम्रो गर्नेहरूलाई स्थान दिने कोही छ। त्यसैले सरकारले गीत गाउने मान्छेको सुर, ताल, लय, गान, सबैको परीक्षण गरेर प्रमाणपत्र दिनुपर्छ। त्यसपछि सरकारी स्टुडियोमा नै रेकर्ड गर्न पाउने व्यवस्था मिलाउनुपर्छ।
यसरी प्रमाणपत्र पाएकाहरूलाई गाएबापत सरकारले निश्चित रकम पनि देओस् । दाल, भात र तरकारी खाने पैसा मात्र आए पनि कला मर्दैन। राम्रो गाउनेको माग बढ्छ, कमाउँछ । नराम्रो गाउनेले कमाउँदैन र गायनमा उसकाे स्थान पनि रहँदैन। त्यो नै उपयुक्त हुन्छ।
यसरी मूल्यांकन गरिए संगीत क्षेत्रमा विकृति कम हुन्छ। यसका लागि निश्चित संगीत कोष वा संस्थानमा रकम राखिदिए त्यो काम गर्न सकिन्छ। तर सरकारमा कुरा मात्र गर्नेहरू हाबी हुँदा सबै क्षेत्रमा हरिबिजोक भयो।
अब तपाईंलाई संगीत क्षेत्रमा यो काम गर्न पाए हुन्थ्यो भन्ने केही छ?
मेरो सपना सबै पूरा हुँदैन। किनभने पढेर कहिल्यै नसकिए जस्तै संगीत क्षेत्रमा सिकेर, गाएर, काम गरेर पनि कहिल्यै सकिँदैन। अब आफ्नो शरीरले बिस्तारै काम गर्न छाड्छ। मैले त्यो पनि स्विकार्नुपर्छ।
यस क्षेत्रमा राम्रा नयाँ कलाकार आएका छन्। उनीहरूले आफ्नो सँगै यो क्षेत्रको व्यवस्थापन र प्रगतिका लागि सोच्नुपर्छ। म पनि सकुन्जेल गीत–संगीतमा काम गर्नेछु। अहिले पनि मेरा कन्सर्ट हुँदै छन्। आठ वटा गीत रेकर्ड गराएको छु। म उमेर बित्दै गयो भनेर तर्सिने र दुःखी हुने गर्दिनँ।