‘बहुपति प्रथा यौन र मातृसत्ताभन्दा माथिको कुरा हो’
‘अहिले जेजति छलफल भइरहेको छ, त्यो एकदमै सतही कुरामाथि भयो। फिल्म एउटा साहसी महिला र उसको आन्तरिक यात्राको कुरा हो। बहुपति प्रथा लगायत विषय आधार मात्र हुन्।’
हिमाली विश्वास र पारम्परिक अभ्यासलाई सिने क्यानभासमा कैद गर्ने परिकल्पनाकार तथा निर्देशक मीनबहादुर भाम नेपाली कथा ‘शाम्भाला’ लाई पहिलो चोटि बर्लिन फिल्म प्रतिस्पर्धामा पुर्याउने फिल्मकर्मी हुन्। हिमाली समाजको कथालाई त्यहींको मातृभाषा र लयमा भनिएको शाम्भालालाई नेपालबाट अस्करका लागि चयन गरिएको छ। कालो पोथीबाट विश्व सिनेजगत्ले चिनेको भामलाई शाम्भालाले झन् उच्च सोपानमा पुर्याइदिएको छ।
यो फिल्मले बौद्ध दर्शन र जीवनपद्धति बाँचिरहेका हिमाली आदिवासी समुदायमा जीवित मातृसत्ताको अवशेष बहुपति प्रथामाथि फेरि एकचोटि बेस्मारी बहस उठाइदिएको छ- यो प्रथाले महिलालाई बलियो बनाउँछ कि पुरुषसत्ताकै वरिपरि परिक्रमा गराउने औसत महिलाको दर्जामा झारिदिन्छ?
सार्वजनिक भएका सिने-समीक्षा, विचार र टिप्पणी पढ्दा तिनले फिल्मले भन्न खोजेको कथालाई आआफ्नै किसिमले अर्थ्याएको मात्र होइन, त्यही बुझाइका आधारमा विमर्श गरेको देखिन्छ। यस्तो बुझाइमा केही अतिशयोक्ति र भ्रमपूर्ण तथ्य पनि पर्न गएको देखिन्छ। त्यसले दर्शकलाई समेत रनभुल्लमा पारिदिएको छ।
फिल्मलाई लिएर यतिविघ्न बहस गराउन सक्ने खूबी भएका भामसँग शाम्भालाले पैरवी गर्न खोजेको महिला स्वतन्त्रताको भौतिक र आध्यात्मिक पक्ष मात्र नभई यो फिल्म हेरेर हल बाहिर निस्किएका दर्शकका अनेकन् बुझाइमाथि पनि यथेष्ट कुराकानी गरेका छौं। प्रस्तुत छ, भामसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको दुई घण्टा लामो संवादको सम्पादित अंश :
चार-पाँच वर्षअघि फिल्मबारे कुरा गर्न खोज्दा ‘बोल्नै जान्दिनँ’ भन्ने मान्छे हिजोआज मिडिया र सार्वजनिक मञ्चहरूमा निकै देखिनुहुन्छ, किन होला?
कालो पोथी बनाइसकेपछि फेरि अर्को फिल्म नआउँदासम्म केको बारेमा बोल्ने भनेर मिडिया र नजीककाहरूसँग पनि भागेर हिंडें। खासमा अहिले पनि यो कामबाट भाग्न पाए हुन्थ्यो भन्ने लाग्छ।
पहिलो पटक विश्वमञ्चमा तपाईंको कृतिलाई स्वागत गरिनुको कारण केलाई ठान्नुहुन्छ?
विश्वमञ्चमा स्वागत गरिएको यो मेरो फिल्म मात्र एक्लो हैन। यस वर्ष दीपक रौनियारको फिल्म भेनिसमा, भिडेल देवकोटाको भेनिस र बर्लिनोमा तथा नवीन सुब्बाको टोरोन्टोमा पुगेका छन्। यही वर्ष विश्वमञ्चमा पुगेका यी चार वटा फिल्म सबैलाई स्वागत गरिएका हुन्। शाम्भाला चाहिं बर्लिनो फिल्मको मुख्य प्रतियोगितामा गएको पहिलो फिल्म भएकाले धेरै साथीहरूले माया गरिदिनुभएको मात्र हो।
मलाई तपाईंको शाम्भाला कविता ‘द साउन्ड अफ साइलेन्स’ अर्थात् मौनताभित्रको आवाज जस्तो लाग्यो। कविता जति विम्बात्मक भए पनि सरस र सरल हुनुपर्छ भन्ने बहस नै छ। तर तपाईंले चाहिं मनोरञ्जन लिन गएका दर्शकलाई ‘गरिष्ठ भोजन’ पस्किनुभयो भनिंदै छ, के भन्नुहुन्छ?
मैले फिल्म बनाउने वेला यो कति हेभी हुन्छ भनेर नापजोख गरेर बनाएको हुन्नँ। कालो पोथी बच्चाहरूको कथा भएकाले सरल ठानिएको होला। तर शाम्भालाभित्र आध्यात्मिक तहको कुरा भएपछि यो फिल्म गहिरो हुनु स्वाभाविक हो। हाम्रो टीमले सरल वा गाह्रो बनाऔं भनेर बनाएको होइन। अर्को, फिल्म बगेन र ‘स्लो’ भयो भन्ने कुरा पनि छ। कविता जस्तो अमूर्त, विम्ब प्रयोग भनेर भनिए पनि हिमाल जहाँ हामीले यो कथा बनायौं, हामी त्यहाँको जीवन जिउने रफ्तारको नजीक जान खोजेका हौं।
हिमालका मान्छेहरूमा दिनभर काम गरेर फेरि मिटिङ सकाएर त्यसपछि गाडी चढेर अर्को स्थानमा पुग्नुपर्ने भागदौड र हतारो हुँदैन। उनीहरू जुन घरमा जन्मन्छन् त्यही घरमा मृत्युवरण गर्छन्। उनीहरूको जीवनकाल सुस्त र धिमा गतिमा चलिरहेको हुन्छ। त्यो ठाउँको कथा भन्नलाई त्यही रूपको सिनेम्याटिक भाषा, रिदम, पेस, विम्बको कुरामा जानुपर्छ। मैले धेरै ‘म्यानुपुलेशन’ नगरेर त्यस्तो लागेको होला।
उसो भए फिल्मका संकेत, विम्ब लगायत प्रयोगलाई आलोचना गर्नु भनेको नेपाली दर्शकको फिल्मचेत नपुगेको भनेर बुझ्ने हो?
मैले दर्शकको फिल्म बुझाइलाई गलत भन्न मिल्दैन। हरेक मानिसको निजी छनोट हुन्छ। कहिलेकाहीं मैले सरल कुरा पनि बुझ्न सकिरहेको हुन्नँ, कति चित्रहरू त बुझ्दै बुझ्दिनँ। कति फेरि बढी बुझ्छु। कहिलेकाहीं फरक फरक अर्थ लगाउँछु। कलाको धेरै सौन्दर्यमा सरल हुनु मात्र सौन्दर्य हो भने मूर्त हुनु पनि त कलाको सौन्दर्य होला नि। कला कहिल्यै पूर्ण छ जस्तो लाग्दैन।
चित्र, कविता, फिल्म कहिल्यै पूर्ण हुँदैनन्। तर फिल्म सरल भयो भने दर्शकहरू जोडिने सम्भावना बढी हुन्छ भन्ने चाहिं मलाई थाहा छ। मलाई कहिले पनि आफूले सिर्जना गर्ने कृति दर्शकले मन पराउलान्, मन नपराउलान् भन्ने चिन्ता हुँदैन। यस्तो चिन्ता गरिए सर्जक रहिंदैन। कसैलाई खुशी बनाउनका लागि फिल्म बनाउन म योग्य नै छैन।
शाम्भालामा पेमाले दिनुपरेका परीक्षाहरू रामायणमा सीताले दिएको अग्निपरीक्षा जस्तै लाग्छन्। के हिमाली भेगमा पनि रामायणमा झैं पतिव्रताको परीक्षा दिइने चलन छ? यो लेखकको कल्पनाशीलता हो वा हिमाली भेगमा रहेको वास्तविक धार्मिक र सामाजिक जीवनकथा हो?
खासमा तपाईंले यो प्रश्न सोधेर मलाई प्रस्ट पार्ने अवसर दिनुभयो। मैले डकुमेन्ट्री बनाएको हैन, यो फिक्सन हो। फिक्सन फिल्ममा देखाइने जति सबै सत्य हुन्छ भन्ने मान्छौं कसरी? जे फिल्ममा देखायो, त्यो वास्तविक जीवनको कथा भनेर हामी बुझ्छौं कसरी? त्यो मलाई अचम्म लागेको छ। गीत, कविता, फिल्म, चित्रमा सर्जकले के भन्यो भन्ने कुरा सर्जकको प्रतिविम्ब पनि हुन सक्छ, नहुन पनि सक्छ। स्रोत केही भए पनि सबै देखाइएका कुरालाई सत्यताका आधारमा हेरेर हुँदैन। समाजका सबै यथार्थपरक कुरा ल्याउने भए डकुमेन्ट्री नै बनाउँथें अथवा अनुसन्धानमा ल्याउँथें। तर त्यसो नगरी फिल्ममा देखाएँ। यद्यपि यसो गर्दा पनि त्यसको आधार चाहिं तथ्यमा आधारित हुनुपर्यो।
अग्निपरीक्षाका रूपमा वाण हान्ने सीनको कुरा आयो। यो प्रचलन हिमाली भेगमा कहीं पनि छैन। हिमालमा वाण हान्ने कुरा छ, तर त्यहाँ पुरुषले मात्र वाण हान्छन्, त्यो पनि शुभ साइत र लगन हेर्नलाई। त्यो थाहा पाएपछि मैले महिलालाई हान्न नदिने वाण यदि समाजले महिलालाई हान्न दिएको भए त्यो कुन तहको प्रयोजनका लागि दिन्थ्यो होला भन्ने सोचेर त्यो कथामा देखाएँ। फिल्ममा देखाइएको आत्महत्या पनि हिमालमा नगर्न सक्छन्। त्यसैले सबै देखाइएका चिजलाई वास्तविकता र सत्यताको आँखाले हेरेपछि फिल्म बन्दैन। यदि शाम्भाला फिल्म हामीले डोल्पामा नखिचेको भए यो विश्वभरको जुनसुकै देशको कथा हुन सक्थ्यो। फिल्मलाई त्यसरी हो हेर्ने।
वाण हान्ने सीनलाई रामायणकी सीताको परीक्षा भनेर जसरी व्याख्या गरे पनि त्यो दर्शकको छूटको कुरा हो। सर्जकका रूपमा म यी सबै निर्मम प्रतिक्रियालाई पनि प्रेमपूर्वक ग्रहण गर्छु। जसले जसरी आफूलाई रिलेट गरेर बुझ्नुहुन्छ, त्यसमा मेरो सम्मान छ।
केहीले बहुपति प्रथालाई नराम्रो मान्दछन् र सामाजिक रूपमा संवेदनशील विषयवस्तु भनिन्छ। तर फिल्ममा यस विषयमाथि कुनै पनि आलोचनात्मक चेत वा प्रश्न नउठाएरै फिल्म सकिन्छ। तपाईं मौन देखिनुभयो। तपाईंले यसको समर्थन गर्नुभएको हो? अथवा के हो?
सर्जक, लेखक र निर्देशकका रूपमा यति स्पष्ट छु कि मलाई आफू न्यायाधीश हैन भन्ने बोध छ। म मानवशास्त्रको विद्यार्थी हुँ। समाज र मानव विकासपद्धतिमा पीएचडी गरिरहेको विद्यार्थी र सर्जकका रूपमा ममा यो प्रथा गलत वा सही बताउने छूट छैन। म अरूको धर्म, संस्कृति र जीवनलाई ठीक र बेठीक भन्ने हैसियतको मान्छे हैन।
खासमा शाम्भाला बहुपति प्रथाको कथा हैन। त्यो त मात्र पृष्ठभूमिका रूपमा आएको छ।
हिमाली भेगमा बहुपति विवाह त्यति अभ्यासमा छैन। समय पनि अहिलेको देखाइएको छैन, फिल्ममा। यो बहुपति प्रथा नेपाल मात्र हैन, भारत, भूटान, अफगानिस्तान लगायत हिमालय भेगमा भए पनि यो कथा बहुपति प्रथाको होइन। यो त भौतिक जीवनमा विश्वास गर्ने पेमा र अर्को अध्यात्म जीवनको विश्वास गर्ने दुई पात्रहरू कसरी एकअर्कासँग मिल्छन्। पेमा कसरी आध्यात्मिकतामा प्रवेश गर्न सक्छे र अर्को भिक्षुमा घरगृहस्थीको प्रभाव कति हदसम्म पर्न सक्छ भन्ने हो। हराएको मान्छेलाई खोज्ने क्रममा दुई जनाको त्यो यात्रा कसरी आन्तरिक यात्रामा परिणत हुन्छ, त्यो नै कथा हो।
भनेपछि मूल मुद्दामा भन्दा पनि मूल मुद्दा स्थापित गर्ने आधारहरूमाथि धेरै बहस भए?
अहिले जेजति छलफल भइरहेको छ, त्यो एकदमै सतही कुरामाथि भयो। फिल्म एउटा साहसी महिला र उसको आन्तरिक यात्राको कुरा हो। बहुपति प्रथा लगायत विषय आधार मात्र हुन्। सफल पत्रकारको कथा फिल्ममा देखाउँदा पात्रले गाडी चढ्यो भने त्यो कथा गाडीको कथा हैन। त्यसबारे बहस गरेर भएन। त्यसबीचमा पात्र कलेज पढ्न पनि जाला। त्यो कलेजको कथा होइन। यसो भनेर मैले दर्शकको बुझाइमाथि प्रश्न उठाएको हैन। यसमा दोषी म पनि हुँला। जति बढी ‘थिम’ मा कुरा गर्नुपर्थ्यो, त्यो गरिनँ होला।
फिल्ममा पेमाले बालक श्रीमान् दावालाई घर सम्हाल्न भन्छिन्। टासीले बालक दावालाई पेमाको ख्याल राख्नु भन्छन्। बालक भए पनि दावाले पेमालाई शंकाको प्रश्न सोध्छन्। यी संवादले महिला पुरुषकै बन्धनमा रहेको देखाएन र? यो कसरी महिला सशक्तीकरणको कथा भयो?
पुरुष हावी भएका ती संवाद मेरा विचार होइनन्। त्यो राख्दा हाम्रो समाजको प्रतिविम्ब होला भनेर त्यही बमोजिम पात्र चुनिएको हो। मैले सिर्जना गरेको पात्रको संवादबाट समाजमा पुरुषहरू कति अहंकारी हुन सक्छन्। त्यो हुँदाहुँदै समाजले पुरुषलाई कहाँ राखेको छ भन्ने देखाउन खोजेको हुँ। तर यहाँ महिलालाई होच्याएको भनेर मात्र बुझिएको छ। पुरुषलाई माथि राख्छु, महिलालाई तल राख्छु भन्ने उद्देश्य भएको भए महिलाको कथा देखाउने नै थिइनँ।
तपाईंको फिल्ममा कोही पात्रले चोर्यो भने निर्देशक नै चोर हुँदैन। उसको मानसिकता चोर हुँदैन र चोर्नुलाई राम्रो मानिएको हुँदैन। त्यो त कथाभन्दा पात्रमा उनेको र जोडेको सन्दर्भ हो।
यो फिल्ममा महिला पात्रलाई प्रमुख बनाउनुको कारण छ। खासमा मभित्रको महिलाभावलाई अन्वेषण गर्ने चाहना थियो। हरेक पुरुषमा महिलाको र महिलामा पुरुषको ऊर्जा हुन्छ। कहिले त्यो देखिन्छ, कहिले देखिंदैन। देखिएको वेला पनि हामी त्यसलाई वास्ता गर्दैनौं। शाम्भालामा मभित्रको महिला ऊर्जालाई उधिनेर राखेको पनि हो। फेरि महिला र पुरुषको उस्तै ऊर्जालाई पत्ता लगाउन खोज्यो भने सर्जकका रूपमा, व्यक्तिका रूपमा र साधकका रूपमा त्यो ठूलो कर्म हो।
यो पत्ता लगाउनु भनेको आफूभित्रको खोजको यात्रा पनि हो। म महिला भएको भए महिलाका रूपमा मभित्रका कति कुराहरू पोखिन्थे। त्यो कलाकारका रूपमा म पोखिन चाहेको पनि हो। पुरुष ऊर्जा हावी भएका व्यक्तिसँग घृणा, आक्रोश र अहंकार धेरै हुन्छ। त्यहाँ महिलाको ऊर्जा जाग्यो भने कस्तो अवस्था हुन्छ होला? तर हामी कहिल्यै महिला ऊर्जालाई देखाउनै चाहँदैनौं। किनभने पुरुष भएको दम्भ हामीमा छ। कहाँ त्यो महिला भएर देखिने, महिलाको ऊर्जा किन देखाउने? भन्दै बस्छौं हामी। म फिल्मकर्मीसँगै मान्छे पनि हुँ। म चाहन्छु- मभित्रको यो चेत र अध्यात्म बढ्दै जाओस्। त्यसैले यी कुराहरू देखाउँछु।
महिलाभित्र पनि पुरुष ऊर्जा नहुने हैन। तर त्यो सबैले देखाउँदैनन्। कहिलेकाहीं त्यो चाहिएको वेला, आपत् परेको वेला, रिस उठ्दा आउन सक्ला। खासमा एउटा मान्छे पुरुष पनि हो, महिला पनि हो। यो भौतिकभन्दा पनि अध्यात्मको कुरा गरेको हुँ। त्यसैले मैले यो ऊर्जा र भावनालाई बराबरी देखाउन सकें भने सर्जक र साधकका रूपमा राम्रो होला भनेर गरिरहेको हुँ।
तपाईं मानवशास्त्रको विद्यार्थी पनि। बहुपति प्रथा यौनसम्बन्धसँग मात्र जोडिन्छ कि यो मातृसत्ताको अवशेष हो?
यो प्रथा खासमा यी दुवै कुराभन्दा माथि हो। यो प्रथा राम्रो र नराम्रो भनेर छुट्याउने लाइसेन्स मसँग छैन। म को हुँ र त्यसलाई सही-गलत भन्ने? तर इतिहासमा हेर्दा यो चलन महिलालाई दबाउन, पुरुषलाई माथि राख्न शुरू भएको होइन। यो त हिजो हिमाली जीवन कठिनाइपूर्ण भएर शुरू भएको थियो। खेतीयोग्य जमीन नभएको वेलामा, जीवनयापन गर्ने सम्भावनाहरू नभएको वेलामा जनसंख्यालाई खानलाउन, सम्पत्ति वितरण गर्न नपरोस् भन्नका लागि भएको थियो।
सभ्यताको विकासक्रममा हिमाली महिला भएर जीवन बिताउन एकदमै गाह्रो थियो। किनभने हिमालको जीवन शारीरिक कामकाजसँग जोडिने कुरा हो। त्यहाँ यहाँ जस्तो दिमाग चलाएर जीवन चल्दैन। हलो नजोती, याक लिन लेक नपुगी, नुन लिन भोट नपुगी, बेसी नझरी जीवन चल्दैन। त्यसैले बहुपति प्रथा शुरू गरिनुको पछाडिको अर्को पवित्र कारण कुनै पनि महिला विधवा हुन नपरोस् भन्ने थियो। यसमा राम्रो र नराम्रो भन्ने कुरा छैन।
मैले मात्र यो किन र कसरी शुरू भयो भन्ने आधार भनिरहेको छु। त्यो वेला कठोर शारीरिक परिश्रम नगरी खान पुग्दैनथ्यो। अहिले पो हिमाली भेगमा व्यापारको ढोका र बाटो पुग्यो र केही सहज भयो। त्यसैले त्यो वेला यसको सांस्कृतिक अभ्यास धेरै सुन्दर उद्देश्यका लागि थियो। तर आजको समयमा महिला अस्तित्वको कुराले पनि हेरिन्छ। त्यसैले म यो प्रथा राम्रो-नराम्रो भन्न सक्दिनँ। म यो प्रथा मान्ने व्यक्ति भएको भए पनि यस प्रथालाई सही-गलत भन्ने अधिकार राख्दिनथें।
फिल्ममा मृत्युपछिको अन्तिम संस्कार गर्दा मान्छेको मासु काटी गिद्धलाई खुवाएको देखिन्छ। के यो पनि हाम्रै हिमाली शैली हो?
नेपाल, भूटान, तिब्बत वा हिमालय पर्वत शृंखला सबैतिर यो मात्र चलन हुँदैन। यो छनोटको कुरा हो। मृत्यु संस्कारका फरक फरक तरीकाहरू छन्। जलाउने, गाड्ने, गिद्धहरूलाई मृत शरीरको मासु काटेर खुवाउने अनेक अनेक छ। यो बाहेक पनि हिमालमा मृत्यु संस्कारका थुप्रै विधि छन्। गिद्धलाई मृतकको मासु खुवाउनुका पछाडि मरेर गइसकेको शरीर पनि कसै न कसैलाई काम लागोस् भन्ने धार्मिक मान्यता रहेछ। यो महान् उद्देश्य देख्छु। यो धेरै पहिलादेखिको कुरा हो।
यसको वैज्ञानिक कारण जोडेर हेर्दा विज्ञानले गिद्धको संख्या हरायो भने मानिस पनि रहँदैन भन्छ। सुन्दा पत्याइँदैन। कुनै दिन म पनि पत्याउँदिनथें। भारतको कतिपय स्थानमा गिद्ध सकिएसँगै मानव संकटमा परेका स्थान पनि छन्। हिमालमा पनि त्यही हो। त्यसैले गिद्ध बचाउनुपर्छ। यो पृथ्वीको सिर्जना भएदेखि नै कुनै कुरा फोकटमा छैन। गिद्धले हामीलाई हानि गरेको मात्र देख्छौं। त्यसरी हेर्दा गिद्ध हाम्रा लागि घाँडो हो। तर आज पनि हिमाली भेग लगायत स्थानमा कतै घोडा मर्यो, लास कुहिएर गयो भने त्यसको ब्याक्टेरिया कसले बाहिर लगिदिन्छ?
यो त हामीले देखेको कुरा। हामीले नदेख्ने अन्य ब्याक्टेरिया पनि यसले समाजबाट बाहिर लगिदिन्छ। त्यसैले गिद्ध त हाम्रा लागि धेरै उद्धार गर्ने चरा हो। अहिले गिद्धहरू धेरै नाश भएका छन्। त्यसैले यो धार्मिक संस्कार ती गिद्धहरूलाई बचाउन समेत विज्ञानसँग जोडिंदो रहेछ। त्यस वेलाका मानिसहरू जसले यो परम्पराको थालनी गरे, उनीहरूप्रति, बौद्ध धर्मावलम्बीहरूप्रति मेरो साधुवाद छ। त्यसैले म पनि चाहन्छु कि कुनै दिन मेरो शरीर मानव समाजलाई बचाइरहेका यी गिद्धलाई बचाउन काम लागोस्।
यो मुगु जहाँ म जन्मिएँ, त्यहाँ पनि यो चलन छ। म बच्चा हुँदै देखेको हो यो संस्कार। बौद्ध धर्मावलम्बीहरूले आफन्त बित्दा त्यसरी मृत शरीरबाट मासु माटेर गिद्धलाई दिन राखेर पूजा गरेको बच्चैदेखि देखेको छु। त्यो सबैको हुन्छ भन्ने छैन। लामाहरूले मृत्युपछि जलाउने, गाड्ने वा यसरी गिद्धलाई मासु दिने, के गर्ने हो त्यही अनुसार गर्ने हो। सबैले त्यही गर्छन् भन्ने हैन। तर यो चलन छ।
धेरै कुरा विम्ब र संकेतमा देखाउनुभएको छ र कतिपय दृश्य अति प्रयोगात्मक पनि छन्। यस्ता कुरा समावेश भएको फिल्मलाई नै राम्रो मान्ने हो?
होइन। खासमा म उत्कृष्ट वा सफल निर्देशक पनि होइन। मैले त्यो लाइसेन्स लिएको छैन, जीवनभर लिने पनि छैन। बढी संकेत, विम्ब वा प्रयोगले फिल्म सफल बन्ने पनि हैन। म फिल्म बनाउनुको उद्देश्यमा स्पष्ट छु। बनाउँदै जाँदा मेरो ब्रह्मले देखेर गरेका काम हुन् ती। म चित्र बनाउँदा क्यानभासमा केही चित्र नै नबनाई प्रदर्शन गर्ने र त्यसलाई अमूर्त चित्रकला भन्ने पक्षमा छैन।
मैले बनाएको फिल्म कसैले धेरै प्रयोगात्मक देख्नुभयो भने म खुशी नै हुन्छु। तर म त्यो अभिप्रायले प्रयोगात्मक काम गर्दिनँ। मैले बनाएको फिल्म यिनै कारणले चले पनि नचले पनि, कमाइ भए पनि नकमाए पनि मलाई फरक पार्दैन। तर एउटा सर्जकका रूपमा फिल्मको भाषा बनाउने विषयमा मेरो उपस्थिति कहाँ रह्यो भन्ने कुरामा विश्वास राख्छु। किनभने म यहाँ सफल र राम्रो निर्देशक हुन भन्दा पनि म आफ्नै लागि फिल्म बनाउँछु।
दोस्रो, सर्जक हुँदाहुँदै म मान्छे पनि हुँ। म फिल्म बनाउने प्रक्रियामा बढी रमाउँछु। त्यहाँ हराउँछु। व्यक्तित्वका रूपमा त्यो फिल्म बनाउने कुरामा मेरो आफ्नो प्रगति कति भइरहेको छ र के सिकिरहेको छु भन्ने मात्र ध्यान हुन्छ। चाहेको कुरा बनाउन सकें कि सकिनँ, अन्धाधुन्ध गएँ कि भन्ने सोच्छु।
फिल्मको पद्धतिको कुरा गर्नुभयो। नेपालमा पछिल्ला केही वर्षयता नयाँ प्रयोग गरिएका समुदायका कथा र भिन्न स्वाद दिने फिल्म चलेका देखिन्छन्। कलाकार पनि त्यसैगरी आइरहेको देखिन्छन्। जसमा ग्ल्यामरभन्दा यथार्थता ज्यादा हुन्छ। यो प्रवृत्ति तपाईंको कालो पोथी र शाम्भालामा पनि देखियो। फिल्ममा चलेको यो प्रवृत्तिबारे तपाईंको धारणा के छ?
फरक फरक भूगोल, समुदाय र संस्कृतिको उठान गरेको विषय आफैंमा राम्रो हो। फिल्ममा विविधताको कुरा, सीमान्तीकृत समुदायको कुरा, भूगोल र पात्रहरू आउनु राम्रो हो। तर यति भन्दै गर्दा यस्ता सबै कुरा आए पनि ती फिल्ममा आत्मा चाहिं आएन। भाषा आत्मा हो।
मगर समुदाय, गुरुङ समुदायको कथा आए पनि उही समुदायको भाषा चाहिं आउँदैन। त्यही दुःखको कुरा छ। राई समुदायको कथा, हिमाल, तराई सबैतिरको कथा आयो। तर त्यसको आत्मा आएन। हामीले भाषामा सम्झौता गरेका छौं। त्यसलाई पैसासँग जोडेका छौं। यो दुर्भाग्य हो।
अहिले भइरहेको के हो भने हामी मनाङ जान्छौं, त्यहींको कथा भन्छौं, तर कथा भन्ने भाषा नेपाली नै छ। खासमा हामी केसँग डराएको हौं? दर्शक पाइँदैन भनेर हैन र? यो चेतले सामाजिक समावेशिता कुन तहमा पुर्याएर लैजाला? हामी कति नैतिकतामा बसेर फिल्म बनाइरहेका छौं त? यो प्रश्न मप्रति पनि हो।
तर फिल्म दृश्य मात्र नभएर यसले समाजको कथा बोल्छ र दर्शकलाई प्रभावित पार्ने क्षमता राख्छ। त्यसैले हामीले यस्तो कुरा बनाएपछि धेरैभन्दा धेरै दर्शकले हेरून् र सन्देश दिन सकियोस् भन्ने चाहनाले पो नेपाली भाषा छनोट भएको हो कि?
त्यो हो भने अंग्रेजीमा फिल्म बनाए हुन्छ। किनभने त्यो भाषामा अझै धेरै दर्शक छन्। भीडको पछि मात्र दौडिने हो भने अंग्रेजीको पछि लागे हुन्छ। फेरि भनें- फिल्मको आत्मा भाषा हो। किन मौलिक भाषा प्रयोग नगर्ने भन्ने मात्र ध्येय हो। तर म त बाहिर भएर यो आवाज उठाउँदै छु। तर त्यही समुदायभित्र रहेका फिल्मकर्मीप्रति यो ठूलो प्रश्न हो।
मगर समुदायको कथा त्यही समुदायको व्यक्तिले बनाउने, त्यही समुदायको पात्र र परिवेश राख्ने तर भाषा नराख्ने अनि बाहिर नेपाली समाजको उठान भएन, राज्यले हेरेन भन्ने नैतिकता हुन्छ र? सर्जकमा जब दर्शक र अर्थको लोभ पलाउन थाल्छ, त्यसपछि कला कमजोर हुन्छ। बजार, पैसा, चर्चाको लोभ लगायतले कलाको क्षयीकरण नै गर्छन्।
यिनै कुरामा संवेदनशील भएका कारण शाम्भाला ढिलो आएको हो?
म पनि संवेदनशील छु भन्दिनँ। मुख्यतः शाम्भाला आउन समय लाग्नुको कारण भाषा हो। मैले बुझ्ने र बोल्ने भाषा नभएकाले पनि अध्ययन गर्न समय लाग्यो। यो कथा लेख्न पनि समय लाग्यो। भूगोल र बसोबासको समस्या त्यसमाथि बीचमा कोभिड-१९ को महामारी आयो। त्यसले पनि असर पार्यो। फेरि सर्जकका रूपमा हतारिएर मलाई कहीं जानु छैन। त्यसको मतलब ढिलो गरेर कतै रोकिनु पनि हैन।
मैले सुने अनुसार तपाईंका तीन सपनामध्ये फिल्म बनाउने, राजनीति गर्ने र पाइलट बन्ने रहेछ। एक त पूरा भयो, अब बाँकी दुईको पालो चाहिं कहिले?
हो। बाल्यकालमा पाइलट बन्ने सपना थियो। तर अब त्यो छैन। मुगुमा बस्दा त्यहाँ वरिपरि हिमालले ढाकेको हुन्थ्यो। त्यसैले त्यो हिमालपारि के होला भन्ने कौतूहल जाग्थ्यो। पछि हेलिकोप्टरमा घुमेपछि मुगु बाहेक पनि संसार रहेछ भन्ने लाग्यो। त्यसैले संसार घुम्ने चाहना बच्चैबाट थियो।
शाम्भाला फिल्ममा दावाको पाइलट बन्ने सपना मेरो एउटा सपनाको प्रतिनिधित्व पनि हो। पाइलट नभए पनि फिल्मकर्मी भएर पछिल्लो चार-पाँच वर्षमा ६० भन्दा धेरै देश अरूकै पैसामा घुम्न पाएँ।
फिल्म बनाउने यत्रो कौशल हुँदाहुँदै तपाईं राजनीतिमा लागेर, सांसद भएर के गर्ने सोच्दै हुनुहुन्छ?
पहिलो कुरा, तीन दशकदेखि विद्यार्थी नेता भएर मैलै फरक फरक भूमिका निभाउँदै आएको छु। राजनीतिबाट म कहिल्यै टाढा थिइनँ।
सत्ता र सदन धेरै परका कुरा हुन्। त्योभन्दा अघि म आबद्ध रहेको पार्टी (नेपाली कांग्रेस)को महाधिवेशन २०८२ सालभित्रै हुन्छ भन्नेमा विश्वस्त छु। म त्यति वेला नै अघि आउने सोचिरहेको छु। मेरो लडाइँ अधिवेशनबाटै शुरू हुन्छ। त्यहाँ अवरोध भयो भने अर्को विकल्प रोज्नेमा तयार छु। अन्य विकल्पले काम नगरे पनि राजनीतिबाट टाढा रहन्नँ।
राजनीतिमा लागेपछि तपाईंको फिल्मकर्म कहाँ पुग्छ त?
फिल्म त बनाइरहन्छु। यो मेरो पहिलो पेशा र धर्म हो। राजनीतिमा आएर धेरै ठूला ठूला सपना देखाउने पक्षमा छैन। अरू केही नगरे पनि यो फिल्म क्षेत्रका नीतिगत बन्धनलाई समाधान गर्न सके मात्र पनि ठूलो कुरा हुन्छ।
फेरि राजनीति र फिल्म सँगसँगै गर्न सकिने कुरा हो। बीपी कोइराला सफल राजनीतिज्ञ भएसँगै साहित्यमा पनि उस्तै योगदान रह्यो। उहाँले राजनीति गर्दा साहित्य छाड्नु परेन।
तपाईं जस्तो फिल्मकर्मी बन्न पाए हुन्थ्यो भन्ने धेरैमा चाहना हुन्छ। तपाईंको अनुभवले राम्रो फिल्म बनाउन खास के कुरा चाहिने रहेछ?
पहिलो, मैले जस्तो फिल्म बनाउने सपना नै नराख्नुहोस्। आफूले बनाउन चाहेको जस्तो बनाउनुहोस्। दोस्रो, भीडको पछि लागेर सम्झौता गर्नुभन्दा आत्माको आवाज सुनेर फिल्म बनाउनुहोस्। आफूमा विश्वास राख्नुहोस्। यो संसारमा भगवान् गौतम बुद्धलाई त खोट लगाइन्छ भने अरूलाई रिझाउन वा खुशी बनाउन फिल्म बनाउने हैन। जुन कथा भन्ने हुटहुटी छ, त्यही भन्नुहोस्।
त्यस्तो कथामा फिल्म बनाउँदा विश्वभरिका मानिसलाई जोड्यो वा जोडेन, पैसा कमायो वा कमाएन भन्ने कुराले अर्थ राख्दैन। मन लागेको फिल्म दिल खोलेर बनाउने हो। म हिजो कस्तो फिल्म बनाउँथें र आज कस्तो बनाउन सकिरहेको छु भन्ने आफैंसँगको प्रतिस्पर्धा मात्र हो। यहाँ सबैको बाटो फरक हुन्छ। फरक बाटो नै लिने हो। घमण्ड गरे जस्तो लाग्ला, यहाँ दर्शकलाई सन्तुष्ट बनाएर १० वटा फिल्मले आम्दानी गरेको फिल्मले भन्दा मैले बढी कमाएँ होला।