सिमकोट: हिमालबीचको हुम्ला
वरिपरि हिमालले घेरिएको हुम्ला जिल्ला कला, संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
समुद्री सतहबाट २९०० मिटर उँचाइमा रहेको सदरमुकाम सिमकोट नेपालको सबैभन्दा उच्च स्थानमा अवस्थित जिल्ला सदरमुकाम हो ।
हिन्दूहरूको प्रख्यात तीर्थस्थल तिब्बतको मानसरोवर जानका लागि अत्यधिक प्रयोग हुने रुट पनि हुम्ला हुँदै अघि बढ्छ ।
पर्यटकहरूले धेरै रुचाउने लिमी उपत्यका सिमकोटबाट पाँच दिनको पैदल यात्रामा पुगिन्छ ।
जीवन्त तिब्बती कला र संस्कृति भेटिने यो उपत्यकामा तिल, हल्जी र जाँग तीन गाउँ छन् ।
हल्जी गाउँस्थित एक हजार वर्षभन्दा बढी पुरानो हल्जी गुम्बा यहाँको प्रमुख आकर्षणमध्येको एक हो ।
अहिले हुम्लादेखि रारासम्म पुग्ने पदमार्ग पहिचान गरी पर्यटकीय नक्शा समेत बनाइएको छ । चल्तीमा नआइसकेको यही पदमार्गमै पर्छ, लामाहरूको बाक्लो बस्ती रहेको, बुराउसे ।
सिजनको बेला मानसरोवर जाने यात्रीहरूको चाप सदरमुकामले थेग्न नसक्दा उनीहरू दुई घण्टाको पैदल यात्रामा पुगिने बुराउसेका होमस्टेसम्म बास बस्न जान्छन् ।
राष्ट्रिय सडक सञ्जालमा अहिलेसम्म नजोडिएको हुम्ला जान नेपालगञ्जदेखि सिमकोटसम्मको हवाई यात्रा एक मात्र यातायातको विकल्प हो ।