जोसँग अनुहारै थिएन
(१)
ज्वरो आउँदाआउँदै
बम्बै दादर स्टेशनबाट हिंडेथ्यो
एकतीस वर्षे जोगी साउद
गौरीफण्टा आइनपुग्दै
पलिया रेल स्टेशनबाट निक्लँदा निक्लँदै
भाउन्नियो ऊ।
जसोतसो
शिरको बोरा बिसायो
हातको ट्याङ्का आफैं खस्यो
लत्रेर ऊ बाटोमै
बाटो झैं लम्पसार पर्यो।
केही छिनमा
रेल्वे पुलिस देखिए।
ठानियो
उसको मृत्युले यात्रुको बाटो छेक्यो
र लाश टिपेर हिंडे।
यसरी बिदा भए
सन् १८०९ तिर
काँगडामा अमरसिं थापाको भारी बोक्दै
सिमाना बढाउन बाजुराबाट हिंडेको नागी साउद
उसको जनाति जोगी साउद
र तिनले परदेशमा बाँच्न लडेका
लेख्न कसैको नजर नपरेका
फुटकर कथाहरू!
(२)
सन् २०२० को एक दिन
कतारतिर उम्लियो कोरोना
असारे सार्की पनि रोगायो
सँगै बस्ने साथीहरूले उसलाई अलग्याए।
एक्लिएको ऊ दिनदिनै गल्यो
पर्समा राखेको बाटुली सार्कीको तस्वीर
र अहिलेसम्म नदेखेकी छोरीलाई किन्दिएको गुडिया, नियाल्दै।
गुडिया पनि नचिन्ने गरी
ऊ झनै थलियो
अप्रिल २३ को साँझ
ऊ अन्तिम पल्ट हल्लियो
प्लास्टिक पोकामा बिदा लियो।
मुख्तियार भीमसेन थापाको हरेक जुत्ता सिलाएको
मुख्तियारको खुट्टा सजाएको
र पनि नाममा अपमान कमाएको
उल्के सार्की थियो।
उसैको जनाति थियो, दोहामा बितेको
त्यो अलिखित विरासतको हकवाला!
(३)
पन्ध्र नटेक्तै
पार्वतीले गरेको बिहे टिकेन।
एक्ली छोरी माइतीमा छाडेर
एउटा झुन्डमा झुन्डिएर
ऊ दिल्ली पहाडगन्ज आइपुगी।
त्यहाँबाट उछिट्टिएर
केन्यामा नाच्न थाली
एक दिन
नैरोबी घुम्दा अपहरणमा परी
त्यसपछि के के भो, नखोलौं
मोबाइल मात्रै ज्यूँदै भेटियो
एकलासको मकैबारीमा
मोबाइलमा नफर्काएको अन्तिम मेसेज देखियो
छोरीको
ओखलढुङ्गा लिखुबाट आएको!
बालखैदेखि ऊसँग थियो
बूढो हजुरबा कान्छा तामाङले भोटबाट ल्याएको
र राति सुताउन छोरीलाई सुनाउने गरेको
भोटको लडाइँमा बाँचेको सवाइ!
(४)
बाइसा उमेरमा
उषा थापा मगर काठमाडौं पसी।
पहिले उसले कविता लेखी– बाँचिन
पत्रकारिता गरी– बाँचिन
भलिबल खेली– बाँचिन
एकदिन निधो गरी
अमेरिका पस्ने!
बाटामा
रसिया पुगी
ब्राजिल पुगी
पेरु पुगी
धेरैपल्ट
दिनभरि सुत्नु र राति लुकिलुकी हिंड्नु थियो
बाँची
एक दिन घना जङ्गल छिचोल्नु थियो
बाटामा लुटपाट र कुटपिट भो
बाँची।
अर्को एक दिन
डुङ्गामा समुद्र तर्नु थियो
नौका डुब्यो
ऊ सन्तान थिई
सिन्धुलीगढीको लडाइँमा भिडेको
गोर्खाली लडाकु तुला थापा मगरको
कप्तान किनलकको निधारमा
कस्सेर बजाएको गुलेली उसैको थियो
डुबेकी उषा यसपाला फिरिन।
बाटामा चिनेको सिरियाली मुस्तफा थियो
उसले फुकेको पिरतीको बेलुन फुट्यो
सिन्धुलीगढी लडाइँ बाँचेको कथा डुब्यो!
(५)
स्वास्नी थलिँदा पनि
छेदु चौधरी हात्तीसारमै रैछ
बाढीमा गाउँ बग्दै गर्दा पनि
ऊ हात्तीसारमै रैछ
एक रात
आमालाई बाघले घिच्याउँदै लग्यो
ऊ हात्तीसारमै रैछ
अर्को एक दिन
अजिङ्गरले दूधे बाछो निल्यो
ऊ हात्तीसारमै रैछ।
द्वन्द्वमा टुरिस्ट नआएको निहुँमा
जागीर उसैको चिप्लियो।
त्यसपछि
ऊ एकाएक हरायो
एउटा अमिलो–धमिलो साँझ
घरमा ऊ एकाएक झुल्किँदा
स्वास्नीले देखी, छेदुसँग–
सौता जस्तो भिसा उभिएको!
एकै हप्तामा
ऊ मलेशियाको तातो हावामा तैरियो
तर ऊ कहिलै फिरेन!
भन्थे,
मशिनले तानेथ्यो, उसलाई!
जस्तो कि
सन् १८५८ मार्चको कुनै एक दिन
मानकलीलाई डोहोर्याउँदै
उसको माउते जिजुबुबा पुलिस चौधरी
लखनउ छिरेथ्यो
जो नबाबहरूलाई दबाउन
श्री ३ जंगबहादुर राणाको भारी बोकेर
उता खटिएथ्यो।
लडाइँ लड्दै इमामबाडाको गल्लीमा पसेथ्यो
लडाइँ निख्रेपछि
लुटेको लखनउ बोकेर
गोर्खाली दलबल फिर्यो
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पनि फिर्यो
तर पुलिस चौधरी फिरेन!
ती जो थिए
हाम्रो साँध–किला जोड्नेका सन्तान थिए
उभिने माटो पाएनन्
र नउदाउँदै–
परदेशमै अस्ताए!