पाँच दशकदेखि नाग बनाउँदै चित्रकार
बजारमा पाइने सस्तो झिलिमिली पोस्टरले हातले बनाएको पोस्टरलाई विस्थापित गर्न लागेकामा चित्रकार चिन्ता व्यक्त गर्छन्।
काठमाडौं मासंगल्लीका ६१ वर्षीय नरेन्द्र चित्रकारले नागको चित्र बनाउन थालेको करीब ४९ वर्ष भयो। उनले १२ वर्षको उमेरदेखि पेन्टिङ शुरू गरेका हुन्।
केही वर्षयता मिहिनेत गरेर हातले तयार पारेको नागको पोस्टरको माग घट्दै गएको उनको गुनासो छ। बजारमा पाइने सस्तो झिलिमिली पोस्टरले हातले बनाएको पोस्टरलाई विस्थापित गर्न लागेकामा उनी चिन्ता व्यक्त गर्छन्।
नागको चित्र नागपञ्चमीको दिन घरको ढोकामाथि टाँस्ने प्रचलन छ। चित्रमा दूध, दही, अक्षता, फूल, दुबो आदि राखेर गाईको गोबरले टाँसिन्छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्दा घरमा चट्याङ नपर्ने, आगो र सर्पको भय नहुने जनविश्वास छ। नागपञ्चमीका दिनदेखि वर्षा याम सकिएर हिउँद शुरू भएको मान्ने गरिन्छ।