धरानमा सद्भाव कायम राख्न हर्क साम्पाङको अपील
![धरानमा सद्भाव कायम राख्न हर्क साम्पाङको अपील](https://himal.softnep.website/uploads/posts/800X600/hark_sangpang_1659609583.jpg)
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आपसी सद्भाव कायम राख्न नगरवासीलाई अपील गरेका छन्।
मेयर साम्पाङले शुक्रबार अपील जारी गर्दै सबैलाई संयमित र संवेदनशील हुन पनि आग्रह गरेका छन्। साम्पाङले भनेका छन्, ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु।’
उनले विविधता नै धरानको पहिचान भएको जनाएका छन्। ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ मेयर साम्पाङले भनेका छन्।
गोरुको मासु खाएको विषयलाई लिएर केही दिनदेखि धरानमा विवाद भइरहेको छ। विवादलाई छलफलका माध्यमबाट समाधान गर्न सकिने पनि साम्पाङले जनाएका छन्।
यो विवाद समाधान गर्न धरानका पूर्व मेयरहरूले सर्वदलीय बैठक बोलाएका छन्। उनीहरूको अगुवाइमा सद्भाव र्याली पनि आयोजना गर्न लागिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/government/local%20gov/dharan/hark%20sampang.jpg)