चुनावमय पूर्वी पहाड
यहि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले पूर्वी पहाडमा चहलपहल बढाएको छ। हिमाली जिल्ला सोलुखुम्बुदेखि खोटाङ, धनकुटा, इलाम, ताप्लेजुङसम्मका गाउँघर चुनावमय बनेका छन्।
पातलो बस्ती भएका कारण पहाडी क्षेत्रमा मान्छेको भीडभाड हुन कि चाडपर्व आउनुपर्छ कि हाटबजार वा महोत्सव आयोजना हुनुपर्छ। चाडपर्व, हाटबजार वा महोत्सव नभए पनि केही समययता पूर्वी पहाडका गाउँघरमा भीडभाड बढेको छ।
आगामी वैशाख ३० हुन गइरहेको स्थानीय तह निर्वाचनले त्यस क्षेत्रमा चहलपहल बढाएको हो। हिमाली जिल्ला सोलुखुम्बुदेखि खोटाङ, धनकुटा, इलाम, तप्लेजुङसम्मका गाउँघरमा मानिसको चहलपहल बढेको छ। चिया पसलदेखि चोकसम्म चुनावको चर्चा छ। निर्वाचनबारे थरिथरिका अनुमान भइरहेका छन्।
निर्वाचनको मिति नजिकिएसँगै वडा तथा टोल–टोलमा विभिन्न दलका उम्मेदवारहरू नेता तथा कार्यकर्ता सहित भोट माग्न पुगेका छन्। उनीहरू प्रायः सबै घरमा पुगिरहेका छन्। मेलापातमा व्यस्त मतदातालाई रिझाउन मेलापातमै पुगिरहेका छन्। कतिपय कार्यकर्ता नमूना मतपत्र देखाएर आफ्नो प्यानलमा भोट हाल्न सिकाइरहेका पनि देखिन्छ।
चुनावी परिणाम आफ्नो पक्षमा पार्न ठाउँ–ठाउँमा चुनावी सभा गरिरहेका छन्। चुनावी नाराले गाउँ गुञ्जिनरहेको छ। उम्मेदवार र कार्यकर्तालाई बेलामा खाने र आराम गर्ने फुर्सद छैन। घरको काम छाडेर पार्टीका समर्थक तथा कार्यकर्ताहरू गाउँगाउँ पुगेका छन्।
प्रायः घरमा विभिन्न पार्टीका चिह्न अङ्कित झण्डा झुण्ड्याइएका छन्। घरको भित्ता तथा पर्खालमा रातो, पहेंलो र हरियो रङका पर्चा टाँसिएको देखिन्छ। छापखाना सञ्चालकलाई पर्चा, पम्प्लेट र प्रतिवद्धतापत्र छाप्न भ्याइनभ्याइ छ। केन्द्र, प्रदेश र जिल्ला तहका नेतालाई चुनावी सभामा सम्बोधन गर्न व्यस्त छन्।
यस पटकको स्थानीय तह निर्वाचनमा धेरैजसो स्थानीय तहमा सत्ता गठबन्धन (नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र‚ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) र एमाले बीच प्रतिस्पर्धा हुने आँकलन छ। तर‚ निर्वाचनमा होमिएका सबै दल आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक चुनावी माहोल राम्रो देखिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एमालेबाट मेयरका उम्मेदवार कुमार आचार्य बताउँछन्। उनले भने‚ “चुनावी चहलपहल राम्रो छ। गत निर्वाचनभन्दा माहोल उठेको छ।”
आचार्यका अनुसार, यस पटक निर्वाचन आचार संहिता पनि पालना भएको छ। “बजारमा विकृति देखिएन, चुनावी चहलपहल स्वस्थ तरिकाले छ,” उनले भने, “पहिला जस्तो ज्याकेट, टिसर्ट बाँड्ने, भित्ते लेखन गर्ने, ठूल–ठूला फ्लेक्स बोर्ड, झण्डा र व्यानर राखिएको छैन। यसले चुनावमा कम खर्च हुने देखिन्छ। चुनावलाई अलि मर्यादित पनि बनाएको छ।”
स्थानीय तहको पहिलो पाँच वर्षे अवधिमा जनप्रतिनिधिहरूले जनतामा केही आशा जगाएका छन्। तर, गर्नुपर्ने काम धेरै छन्। कतिपयले भने ‘सिंह आए दरबार आएन’ भनी टिप्पणी गरेका छन्।
सत्तारुढ गठबन्धनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार तीर्थराज भट्टराई यसअघिका जनप्रतिनिधिबाट भएका कमीकमजोरी सच्याउँदै आस्था, विश्वास र भरोसा जगाउने जनप्रतिनिधि छनोट गर्ने बताउँछन्। “पाँच वर्षमा स्थानीय सरकारबाट पनि अपेक्षित काम भएनन् भनेर जनतामा एकखालको निरशा छ। भ्रष्टाचार, बदमासी र बेथिति मौलाए भन्ने गुनासो छ,” कांग्रेसबाट उम्मेदवार बनेका भट्टराई भन्छन्, “भ्रष्टाचार तथा बेथिति अन्त्य गरी आशा र भरोसा जगाउने जनप्रतिनिधि छनोट गर्ने छन्।”
अयोग्यलाई फाल्ने र योग्य व्यक्तिलाई जिताउने अवसर भएकाले पनि मतदाताहरू उत्साहित रहेको धनकुटा नगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रहेका दिनेश राई बताउँछन्। उनी नेपाली कांग्रेसका नेता हुन्। “हामी घर दैलोमा गइरहेका छौँ,’ राईले भने, ‘जनता एकदमै उत्साहित हुनुहुन्छ।”
इलामको सूर्योदय नगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार दुर्गादेवी भट्टराईले भने अघिल्लो चुनावभन्दा यस पटक मतदातामा कम उत्साह देखिएको बताइन्। “सबै दल आ–आफ्नो पाराले लागेका छन्। अहिल्यै चुनावी आँकलन गर्न सकिन्न। तर, पहिलाको तुलनामा यसपल्ट अलि कम उत्साह पाएको छु,” उनले भनिन्, “कारण‚ एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बन्यो, त्यसले पनि एउटा पङ्क्तिमा निराशा सिर्जना गर्योे। गठबन्धनभित्र पनि आफ्नै खालका समस्या खडा भएको देखिन्छ।”