मन्त्री यादवको अभिव्यक्तिको नेताहरूद्वारा विरोध
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्तिको सबैतिरबाट विरोध गरिएको छ।
रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्। यसको मधेश प्रदेशका राजनीतिक दलका नेताहरू विरोध जनाएका छन्।
‘गलत अभिव्यक्ति’
परमेश्वर साह, नेता, लोकपा
प्रजातन्त्रमा हरेक राजनीतिक दलले शान्तिपूर्ण रूपमा आआफ्ना गतिविधि गर्न पाउँछन्। तर, प्रजातान्त्रिक रूपमा विरोध प्रदर्शन हुँदा त्यसलाई धाकधम्कीको राजनीतिक गर्नु गलत हो।
राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु कुनै पनि हिसाबले उचित होइन। शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गरेर जनताको विश्वास जित्नुपर्छ।
‘सभ्य राजनीतिमा शोभनीय विषय होइन’
ज्वाला साह, नेत्री, नेकपा (एमाले)
मन्त्री रेणुकुमारी यादव जनताकी सेवक हुन्, मालिक होइनन्। उनको अभिव्यक्ति सेवकको जस्तो नभई मालिक जस्तो भएर आएको छ। यो गलत छ।
प्रजातन्त्रमा आन्दोलन गर्ने अधिकार हुन्छ। त्यसलाई निषेध गर्नु उचित होइन। नरसंहार गरिदिन्छु भन्नु गम्भीर विषय हो। यो सभ्य राजनीतिमा शोभनीय विषय होइन।
‘मन्त्री यादवको अभिव्यक्ति दुःखद’
शिवचन्द्र चौधरी, नेता, नेपाली कांग्रेस
अहिले सीके राउतका गतिविधि पनि आउने निर्वाचन लक्षित नै देखिएका छन्। तैपनि जनतालाई दुःख पुगिरहेको छ।
यस्तो भन्दैमा उनलाई निषेध गर्नुपर्छ भन्ने होइन। मन्त्री रेणुकुमारी यादवले जसरी आफ्नो अभिव्यक्ति दिएकी छन्, त्यो दुःखद हो। अराजकताले कसैको हित गर्दैन। हत्याहिंसाको राजनीतिले देशलाई ठीक ठाउँमा ल्याउँदैन।
‘उत्तेजना फैलाउने अभिव्यक्ति दिनु उचित होइन’
रामकुमार शर्मा, नेता, नेकपा (माओवादी केन्द्र)
गौर घटना त्यो समयमा स्थानीय प्रशासनको कमजोरीका कारण भएको थियो। त्यो घटना गर्व गर्नुपर्ने विषय होइन।
कुनै घटनालाई लिएर यसरी अभिव्यक्ति दिनु उत्तेजना फैलाउनु बाहेक अरू केही होइन। त्यस कारणले मन्त्रीबाट उत्तेजना फैलाउने अभिव्यक्ति दिनु उचित होइन।