संक्रमितलाई बोकेर अस्पताल पुर्याउने गाउँपालिका अध्यक्ष
१४ जेठमा खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकाकी ४८ वर्षीया सावित्रा देवकोटा १४ जेठमा बेहोश भइन्। १० जेठमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकी उनलाई उद्धार गरेर अस्पतालसम्म लगिदिने कोही भएनन्। आफन्तले खबर गरेपछि गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई आफैं गाडी लिएर देवकोटाको घरसम्म पुगे। उनले देवकोटालाई बोकेरै गाडीसम्म ल्याए र अस्पताल पुर्याए।
गाउँगाउँमा कोरोना संक्रमित बढेपछि यस्तो काम आजभोलि गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष सपना राईको दैनिकी नै बनेको छ।
नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित दुवैजना हिजोआज कार्यालयमा कम,जनताको घरदैलोमा बढी भेटिन्छन्। उनीहरु गम्भीर संक्रमितलाई अस्पताल पुर्याउन मात्र होइन, एन्टिजेन परीक्षणका लागि टोलटोलमा स्वास्थ्यकर्मीको साथ लागेर जान्छन्। अध्यक्ष राई भन्छन्, “स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बलियो हुन्छ भनेर हामी साथै जाने गरेका हौं।”
अध्यक्ष राईले आफैंले चढ्दै आएको महिन्द्राको स्कार्पियो गाडीलाई यतिबेला एम्बुलेन्सको रुपमा प्रयोग गरिरहेका छन्। गाउँपालिकाको एउटा मात्रै एम्बुलेन्स छ। एम्बुलेन्स पुरानो भएकाले बिग्रिरहने समस्या पनि उस्तै थियो। त्यसैकारण जनताको उपचार र उद्धारमा समस्या नहोस् भनेर अध्यक्ष राईले आफूले प्रयोग गर्ने गाडीलाई ‘एम्बुलेन्स’ बनाए, अनि चालक आफैं बने।
राई पीपीई लगाएर संक्रमितलाई अस्पतालसम्म पुग्न गाडी मात्रै चलाउँदैनन्, आवश्यक परेको ठाउँमा गाडीसम्म पुर्याउन आफैं बोक्छन् पनि। अरुले बोकेर गाडीसम्म ल्याउँदा संक्रमण फैलिने डर भएकाले आफैं खटिएको उनी बताउँछन्। “म पीपीई सेट लगाएर उद्धारमा खटिएको छु, त्यसैले त्यति डराउनु परेन,” उनी भन्छन्, “सुरक्षाका उपायविना आफन्तले संक्रमितलाई सघाउँदा फैलिने डर हुन्छ।”
सबै ठाउँमा सडक सञ्जाल नभएकाले कतिपय ठाउँका संक्रमितलाई लामो समय पनि बोक्नुपरेको उनको अनुभव छ।
अध्यक्ष राईको साथमा उपाध्यक्ष सपना राई पनि खटिएकै छिन्। बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टिजेन परीक्षण गराउने, संक्रमण पुष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन अध्यक्ष र उपाध्यक्ष व्यस्त हुने गरेका छन्।
उपाध्यक्ष राई संक्रमितको उपचारसँगै संक्रमण नियन्त्रणका लागि नागरिकमा जनचेतना बढाउने काम पनि गरिरहेको बताउँछिन्। “संक्रमितको उपचारसँगै अरुलाई संक्रमणबाट बच्ने उपाय पनि सिकाइरहेका छौं,” उनी भन्छिन्। सिकिस्त बिरामीलाई अन्य ठाउँमा उपचारका लागि पठाइने र त्यसको लागि पनि गाउँपालिकाले नै समन्वय गरिरहेको राईको भनाइ छ।
टोलटोलमा परीक्षण
खोटाङमा निषेधाज्ञा छैन। दिप्रुङ चुइचम्मा गाउँपालिकाले स्थानीयलाई आवश्यक कामबाहेक नहिँड्न सुझाव दिँदै आएको छ। पालिका प्रवेश गर्न पीसीआरको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।
कोरोनाको दोस्रो लहरपछि पालिकामा हालसम्म तीन सय जनाको कोरोना परीक्षण गरिँदा ९३ जना संक्रमित देखिएका छन्।जसमध्ये १४ जना संक्रमणमुक्त भइसकेका छन्।
अवस्था थप जटिल हुन नदिन र संक्रमण रोकथामका लागि टोलटोलमा परीक्षण बढाएको अध्यक्ष राई बताउँछन्।
गाउँपालिकामा २५ बेडको आइसोलेसन सेन्टर छ। अक्सिजनसहितको आइसोलेसनमा कडा लक्षण भएका संक्रमितलाई राखिएको छ। “लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बसाएका छौं,” राई भन्छन्, “कडा लक्षण भएकालाई मात्रै आइसोलेसनमा राख्छौं।”
यो समय अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय नभएको उनको भनाइ छ। “अरुलाई खटाएर आफू घरमै बस्ने समय यो होइन,” उनी भन्छन्, “जनताको काम गर्नकै लागि त निर्वाचित भएका हौं।”
घरमा छुट्टै बसाइँ
करीब एक महीनादेखि प्रत्यक्ष रुपमा संक्रमितको उद्धारमा खटिएका राई घर पुगेर परिवारसँग घुलमिल हुँदैनन्। छुट्टै कोठामा बस्छन्। परिवार बसेको कोठा र भान्छामा जाँदैनन्।
बाहिरबाट घर पुग्नासाथ नुहाउँछन्। परिवारले खाना उनको कोठामा ल्याइदिन्छन्। आफूले खाएको भाँडा आफैं माझ्छन्। “एक महीनादेखि परिवारका कोही सदस्यको नजिक परेको छैन,” राई भन्छन्, “अहिले सबै मिलेर संक्रमण रोक्न सके भोलि उज्यालो दिन त आउने नै छन्।”