चार महीनासम्म यातायात व्यवस्था कार्यालय कोशीको करोडौं रुपैयाँ राजस्व हाकिम र कर्मचारीको खल्तीमा
यातायात व्यवस्था कार्यालय कोशीको सवारी शाखाले चार महीनासम्म उठाएको राजस्व सरकारी खातामा जम्मा नगरी प्रमुख र कर्मचारीको मिलेमतोमा हिनामिना गरेको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा ४ महीनामा कार्यालय प्रमुख बनेका ४ जनाले लेखा अधिकृत र कम्प्युटर अपरेटरसँगको सहयोगमा आफू प्रमुख भएको अवधिमा उठेको राजस्व हिनामिना गरेको भेटिएको हो । आयोगले आइतबार यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन चार प्रमुख, लेखा अधिकृत र कम्प्युटर अपरेटर सहित १७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि यसको खुलासा भएको हो।
आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले भेहिकल रजिष्ट्रेशन सिस्टमका लागि निजी कम्पनीबाट खटिएका कर्मचारी समेतको मिलेमतोमा राजस्व हिनामिना भएको बताए । उनका अनुसार सवारी दर्ता, नवीकरण र जाँचपास लगायतका शीर्षकमा उठेको राजस्व कार्यालय प्रमुखबाट हिनामिना भएको बताए ।
आयोगले नागरिक समाज इटहरीले यातायात व्यवस्था कार्यालय कोशीको सवारी शााखामा आर्थिक वर्ष २०७३\०७४ को २०७३ चैत देखि २०७४ आसार मसान्तसम्मको राजस्व रकम हिनामिना भएको भन्दै उजुरी गरेको थियो।
आयोगका अनुसार तत्कालीन कार्यालय प्रमुखहरु नयराज नेपालले एक करोड ८ लाख २९ हजार, तीर्थराज लम्सालले तीन करोड ३० लाख ७९ हजार, गोपाल थपलियाले एक करोड ३० लाख ७२ हजार र भूपेन्द्र राईले ५६ लाख १२ हजार रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको हो । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार हिनामिना गरेको राजस्वको दोब्बर असुलउपर र कैद सजाय माग गरिएको छ।
आयोगले तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी एक करोड २५ लाख ४८ हजार, लेखापाल सुरेश अधिकारी ३ करोड ७२ लाख ४४ हजार, लेखापाल रुद्रप्रसाद दाहाल तीन करोड ४८ लाख ९३ हजार, अर्जुन भट्टराई दुई करोड १७ लाख ३२ हजार, लेखापाल कृष्णप्रसाद कट्टेल ७३ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दर्ता भएको हो । यस्तै आयोगबाट करारमा रहेका कम्प्युटर अपरेटर सुजन राईसँग २२ लाख ४४ हजार रुपैयाँको दोब्बर बिगो मागदाबी गरिएको छ ।
आयोगले यातायात कार्यालयलाई सघाउन निजी कम्पनी फोकस वान नेपालबाट कम्प्युटर अपरेटरका रुपमा खटिएका राकेश रोशन मस्राङ्गी मगर, रमेश पौडेल, र हरिमदन ढुङ्गेललाई पाँच करोड ९४ लाख ९८ हजार असुल उपर गर्दै दुई वर्ष कैद सजाय माग गरिएको छ । यस्तै कम्प्युटर अपरेटर दीपेन्द्रकुमार मण्डललाई एकलाख ४६ हजार मैयाकुमारी चापागाईंलाई २२ लाख ४४ हजार र रविनकुमार विश्वासलाई ४५ हजार ४ सय रुपैयाँ जरिवाना सहित भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय माग गरिएको प्रवक्ता कोइरालाले बताए।