नारीवादको भ्रम तोड्न ‘जुनकिरी’
महिलाका मुद्दा, महिलाका समस्या अनि महिलाका पीडा विभिन्न मिडियाका ‘हेड लाइन’ बन्छन्, सामाजिक सञ्जालमा तर्क, वितर्क गर्ने गतिलो विषय बन्छ ।
केही थान अधिकारकर्मी, महिलावादी लगायत अन्य संघसंस्थाका टोली माइतीघर मण्डलामा जान्छन्, विरोध स्वरूप कालो झन्डा देखाउँछन्, सम्बन्धित विषयमा भाषण हुन्छ, समवेदना प्रकट गर्न मैनबत्ती जलाउँछन्, केही समूहले चित्र मार्फत पनि समवेदना प्रकट गर्छन् । यी सबै क्रियाकलाप भने गलत होइनन्, तर २, ४ दिनको चिया बहसपछि स्वात्तै बिलाउँछ । कहीं कतै छलफल भएपनि कोठामा मात्र सीमित हुन्छ, वर्कसप, तालिमको विषय त बन्छ तर मुद्दा उस्तै हुन्छ ।
यस्ता, घटनाले आम मानिसलाई जस्तै ‘भ्वाइसेज अफ वुमन’ टिमलाई पनि सोचमग्न बनाउँथ्यो । यस्ता घटना हुनुको मुख्य कारण ‘पितृसत्तात्मक चेत’ भन्ने छ, तर उक्त चेत कहाँबाट सृजित हुन्छ भन्नेतर्फ ध्यान नदिएको पाएपछि यसैमा काम गर्ने निर्णय उक्त टिमले लियाे।
छाउपडीमा बस्नुपर्ने बाध्यता, त्यही बाध्यता नै मृत्युको कारण बन्छ, साना नानीहरू बलात्कारमा पर्नुपर्छ, दिनानुदिन युवती एसिड आक्रमणको सिकार हुनुपरेको छ, यावत समस्याहरू महिलाले झेल्दै, सहँदै आएको देखेका टिमका सदस्यहरु (विकिल स्थापित, मञ्जु जीसी, अनिता कर्माचार्य र नग्मा माली) ले समस्याको समाधानको पहिलो माध्यम विद्यालय हुन्छ भनी विद्यालयबाट काम शुरु गर्ने निर्णय लिए।
नारीवाद अर्थात नारीको राजनीतिक, आर्थिकलगायत स्थानमा पहुँच होस् भन्ने विचारको बारेमा विद्यार्थी उमेरमा नै बुझाउनुपर्ने देखेपछि काम शुरु गरेको टिमका एक सदस्य विकिल स्थापितले बताए।
‘अहिलेको पुस्तामा जस्तो नारीवादलाई लिएर भ्रमित नहोस् भनी विद्यार्थीबाटै सुरुवात गर्ने योजना बनाएको उनले बताए । “हाम्रो हुर्काइसँगै हाम्रो सोचाइ कतिसम्म साँघुरो छ,” उनी भन्छन्, “त्यही सोचाइले समाज रूपान्तरण सम्भव छैन, समाज रूपान्तरणका लागि सोच परिवर्तन गर्न पुस्तकबाट मात्र सम्भव देखेपछि मैले पुस्तक रोेजें ।”
नारीवादप्रतिको भ्रामक सोच परिवर्तनका लागि पहिलो रोजाइ विद्यालयका विद्यार्थी हुन् भन्ने लागेपछि उनी र उनको टिम मिलेर एक वर्षसम्म गरेको कसरतको फल हो, जुनकिरी ।
“पुस्तकालयमा आवश्यक पुस्तकको जोहोका लागि चार महीना दौडधूपमा लाग्यो”, उनले भने । फरक अवधारणा स्थापित गर्न सहज नहुने भन्दै उनले भने, “आज सोचे अनुसारको पुस्तकालय स्थापना गर्ने अभियान सफल भयो ।” जुनकिरी अर्थात फिमेनिस्ट लाइब्रेरीको नाम राख्दा पनि लोपोन्मुख किराको (जसलाई अहिलेको पुस्ताले देख्नै दुर्लभ भइसकेको छ) नाम उपयुक्त लागेकाले यही नाम रोजेको उनले बताए । “जुनकिरी आफैमा फ्यामिनेन् छ, हाम्रो प्रयास अनि सबैको सहयोगले सचेतनाकोे जुनकिरी फर्किने छ र फेरि उज्यालो हुनेछ भनेर यही नाम राख्यौं”, उनले भने ।
काठमाडौंको, मखनस्थित महादेव प्लाजाको पाँचौं तलामा जुनकिरीः द फेमिनिस्ट लाइब्रेरीको स्थापना गरिएको छ । यसलाई भ्वाइसेज अफ वुमन मिडियाको मातहतमा सञ्चालन गरिने विकिलले जानकारी दिए । वि.सं. २०६३ सालबाट शुरु गरिएको ‘भ्वाइसेज अफ वुमन’ को कार्यालयस्थित बिहीबार महिला अधिकारकर्मी रिता थापा, लेखक आन्विका गिरी, सीएनएन हिरो पुष्पा बस्नेत, अनुसन्धानकर्ता प्रनिका कोयू, आभा लाल, अभियन्ता रुक्साना कपाली र पत्रकार देउराली चाम्लिङ राईद्वारा रिबन काटेर जुनकिरी पुस्तकालयको उद्घाटन गरिएको थियो ।
‘भ्वाइसेज अफ वुमन’ ले महिलामाथि हुने विभेदका विरुद्ध प्रविधिकाे प्रयाेग गरेर मिडिया मार्फत काम गर्छ । सरकारले पुस्तक आयात गर्दा लगाएको करलाई चुनौती दिदै, काठमाडौंमा पुस्तकालय खोलेको, जुनकिरी पुस्तकालय टिम पुस्तक संकलन कार्यमा व्यस्त छ । “यहाँ हामीसँग उपलब्ध सम्पूर्ण पुस्तकहरू सबैको सौजन्यबाट जम्मा गरिएको हो”, उनले भने । उनका अनुसार जुनकिरी पुस्तकालयमा अहिले तीनसय अनुसन्धानात्मक रिपोर्ट र पाँचसय पुस्तक उपलब्ध छन् ।
महिला सम्बन्धी लेखिएका नेपालमा उपलब्ध नभएका धेरै पुस्तक जुनकिरीमा राख्ने योजनामा रहेको उनले बताए । स्वदेशी तथा विदेशी लेखक महिलाद्वारा महिलाका बारेमा महिलाका लागि लेखिएका पुस्तकहरू जुनकिरीमा पढ्न पाइने उनले जानकारी दिए । जुनकिरी पुस्तकालयका लागि भारतबाट मगाइएका पुस्तकहरू सीमापारि नै रहेको उनी बताउँछन् । “सरकारले आयातित पुस्तकमा दश प्रतिशत भन्सार महसुल बढाएपछि जुनकिरीका लागि मगाएका पुस्तक उतै नै छन्”, उनले भने । भन्सार महसुल बढाएपछि पुस्तकको मूल्यले पाठकलाई पठनको भोक मार्नु नपरोस् भनी पुस्तकालय स्थापना गरिएको उनले बताए ।
जुनकिरी पुस्तकालयमा विद्यार्थीका लागि निशुल्क पुस्तक उपलब्ध गराइने छ, त्यसका लागि विद्यालयको पत्रलाई अनिवार्य गरिएको उनले जानकारी दिए । व्यक्तिगत रूपमा आउन चाहाने पाठकका लागि एकसय रुपैयाँको फर्मसँगै परिचय खुल्ने नागरिकता, लाइसेन्स वा शैक्षिक संस्थाको परिचयपत्रको फोटोकपी र एकप्रति फोटो आवश्यक पर्ने उनले बताए । “हामीले पाठकसँग उठाएको शुल्क पुस्तकालयबाट प्रदान गरिने परिचयपत्रकै लागि हो”, उनले भने । जुनकिरीबाट लिएको पुस्तक १५ दिनसम्म राखेर पढ्न पाइने व्यवस्था रहेको उनले जानकारी दिए । उनी भन्छन्, “१५ दिनभन्दा बढी राख्नुपरेमा सात दिनका निम्ति समय थपेर राख्न सकिन्छ ।”
कुनै कारणबस पुस्तक ढिलो फिर्ता गर्नुपरेमा जरिवाना स्वरुप पाँच रुपैयाँ पाठकले तिर्नुपर्ने उनी बताउँछन् । यदि कारणबस जुनकिरीको पुस्तक च्यातिए उक्त पुस्तकमा तोकिएको मूल्यको दोब्बर मूल्य तिर्नुपर्ने उनले बताए । जुनकिरीको पुस्तक च्यातिएमा त्यसको भागिदार पुस्तक लैजाने पाठक नै हुने भन्दै उनी भन्छन्, “सामान्यतया पुस्तकप्रतिको सम्मान र संवेदना नभएर नै च्यातिने अवस्था आउँछ, सतर्कताका लागि पनि नियम लागु गरिएको हो ।” जुनकिरी पुस्तकालयको बारेमा अनलाइन मार्फत जानकारी लिन सकिने उनले बताए ।