पल्टाउनै लाज लाग्ने पाठ्यपुस्तक
कक्षा ९ को नेपाली पुस्तकमा ‘दिगो’ शब्दको अर्थ ‘अरूलाई पीडा दिनु’ लेखिएको छ भने कक्षा १० मा ‘दुर्गुण’लाई ‘दुर्गुन’ बनाइएको छ। नेपाली भाषाको व्याकरण, स्थापित तथ्य र पाठ्यपुस्तक लेखनका मान्यतालाई चुनौती दिने यस्ता दुर्गुण दुवै पुस्तकमा पानापिच्छे भेटिन्छन्।
काठमाडौं, टोखास्थित फ्लोरोसेन्ट माविका नेपाली विषयका शिक्षक पूर्ण इन्फादा विद्यार्थीलाई अक्सर भन्ने गर्थे, “बाहिरफेर लेखिएका कुरा सबै सही नहुन सक्छन्, त्यसैले पाठ्यपुस्तकमा जे लेखिएको छ त्यही मात्र पत्याउनू, जस्तो लेखिएको छ त्यस्तै लेख्नू।”
जसै कक्षाकोठामा पाठ्यपुस्तक पल्टाउन थालियो, उनकै भनाइ पत्याउन लायक रहेन। कक्षा १० की छात्रा अनुजा कोइरालाले एक दिन ‘शत्रु’ कथाको अभ्यास खण्डमा उल्लिखित ‘दुर्गुन’ शब्द समातेर प्रश्न गरिहालिन्, “सर, पाठ्यपुस्तकमा गल्ती हुँदैन भनेको होइन, यहाँ लेखिएको ‘दुर्गुन’ लाई तपाईंले किन ‘दुर्गुण’ बनाइदिनुभएको त?”
प्रश्न सुनेर अरू विद्यार्थी गलल्ल हाँसे। इन्फादा केही बेर असमञ्जसमा परे। प्रथम स्थानकी छात्रा अनुजाले लगत्तै भैरव अर्यालको ‘पख्नोस्’ कथाको ‘सुनाइ बोलाइ’ अभ्यास खण्डमा लेखिएको ‘रहष्य’ शब्द औंल्याइन्। इन्फादाले उक्त शब्दको हिज्जेमा त्रुटि रहेको भन्दै ‘रहस्य’ लेख्नुपर्ने सुझाएका थिए।
“यसरी पाठ्यपुस्तकमै गल्ती भएपछि हामीले केलाई चाहिं सही मान्ने?” अनुजाले सोधिन्। प्रश्नले इन्फादालाई मर्माहत बनायो। तब पाठ्यपुस्तकका कुरा आँखा चिम्लेर विश्वास गर्न विद्यार्थीलाई सिकाउँदै आएका उनको धारणा पनि फेरियो, “अब हामीले सच्याएर पढ्ने गर्नुपर्छ।”
पुस्तक ज्ञानको मुहान भएकाले यसमा गलत कुरा लेख्ने छूट नहुने भए पनि पाठ्यक्रम विकास केन्द्रले हेलचेक्य्राइँ गर्दा गल्ती नै गल्ती आएको इन्फादा बताउँछन्। कक्षाकोठामा जे-जति भने पनि सही-गलत छुट्याउन नसक्ने विद्यार्थीले एक्लै पढ्दा गलत लेखाइलाई नै पत्याउलान् कि भन्नेमा उनी चिन्तित छन्। “एक-दुई ठाउँ भए पो बनाएर, सिकाएर साध्य हुनु। सच्याउँदा सच्याउँदा किताब कोरिएर विद्यार्थी झन् द्विविधामा परेका छन्,” उनी भन्छन्।
ललितपुरको ठेचोस्थित सरस्वती माविका प्रधानाध्यापक महेन्द्र विष्ट पनि नेपाली विषयमा गल्ती धेरै भएकाले पाठ्यपुस्तकमा ठाउँ ठाउँ कोर्नुपरेको बताउँछन्। उनका अनुसार पुस्तकमा भाषिक त्रुटिसँगै पाठहरूको लेखन र व्याख्यामा पनि समस्या छ। चार-पाँच वर्षयता पुस्तकमा अत्यधिक त्रुटि फेला पर्ने गरेका छन्। “अघिल्लो वर्षका त्रुटि सच्याइएको भनिए पनि नयाँ संस्करणमा नयाँ त्रुटि भेटिने गरेको छ। नेपाली विषयमा व्याकरण समेत गलत लेखिएपछि विद्यार्थीले के सिक्ने?” विष्ट भन्छन्।
शिक्षकहरूका अनुसार कक्षा ९ र १० को नेपाली पुस्तकमा मात्र दुई दर्जनभन्दा बढी गल्ती छन्। कक्षा १० को ‘घरझगडा’ कथाको अभ्यास खण्डमा ‘रमाए’ शब्दलाई अक्षर छुट्याएर ‘र माए’ लेखिएको छ। त्यही पुस्तकको निबन्ध ‘चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा’ मा ‘प्रकार’ शब्द र षष्ठी विभक्तिमा पर्ने ‘का’ छुट्याएर ‘प्रकार का’ लेखिएको छ। नेपाली लेखन परम्परा अनुसार यस्तो स्थितिको विभक्ति शब्दसँग जोडिएर आउँछ। त्यस्तै मनोवाद ‘यस्तो कहिल्यै नहोस्’ मा छुट्याइनुपर्ने शब्द जोडिएको छ। ‘यो मोबाइलभित्रको’ हुनुपर्नेमा ‘योमोबाइलभित्रको’ लेखिएको छ। एकाक्षरी शब्द ‘यो’ कि सर्वनामका रूपमा प्रयोग हुन्छ कि विशेषणका रूपमा। सर्वनामका रूपमा यो नामयोगीसँग जोडिन्छ, नामका अघिल्तिर विशेषणका रूपमा आउँदा भने कसैगरी जोडिंदैन। यहाँ चाहिं मोबाइलको विशेषणका रूपमा प्रयोग भएकाले जोड्नु सरासर गल्ती भएको छ।
यही पाठमा अर्को गल्ती छ– नफसुन्, नडुबुन् र नघटुन् शब्दको उकार ह्रस्व लेखिनु। जबकि नेपाली व्याकरणको शिष्ट परम्परा अनुसार इच्छार्थक क्रियापदमा आउने अन्तिम उकार दीर्घ हुन्छ। अर्थात्, यी शब्द यसरी लेखिनुपर्थ्यो– नफसून्, नडुबून्, नघटून्।
‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनी पाठमा जोड्नै नमिल्ने शब्दहरू जोडेर एउटै लाइन बनाइएको छ–
पठनपाठनमाअनिवार्यविषयकारुपमालागुगर्नेगराउनेकार्यमाउनैकोविशेषपहलकदमी
अर्को जीवनी लेख ‘पाब्लो पिकासो’ मा पनि यही समस्या छ–
पिकासोकाकलाकृतिसिर्जनाप्रवृत्तिगतदृष्टिलेविविधप्रकारकाछन्।स्पेनिसचित्रकारपिकासो।
यही पाठको अर्को अनुच्छेदमा छ–
धेरैकलाकृतिनिकैबिकाउरचर्चितबने। उनका१३५००हाराहारीमाचित्र,१२२८मूर्तिकला,२८८०।
यसरी एउटै ‘लाइन’ मा सबै शब्द जोडिंदा भद्दा त देखिएकै छ, पढ्न र बुझ्न समेत सकस परेको छ। कतिपय विद्यार्थीले उत्तर लेख्दा यही ‘लाइन’ हूबहू सार्ने गरेको शिक्षकहरू बताउँछन्।
कक्षा १० मा विद्यार्थीलाई चिठी लेख्न सिकाउने प्रयोजनले राखिएको ‘व्यावसायिक चिठी’ पाठमा उक्त चिठी कसलाई सम्बोधन गरिएको हो भन्ने खुल्दैन। शीतोष्ण बागवानी केन्द्र, मकवानपुरले मुस्ताङको शीतोष्ण बागवानी केन्द्रलाई लेखेको व्यहोराबाट बुझिए पनि सूचना अधिकारी, कार्यालय प्रमुख वा कार्यालय सहयोगी कसलाई सम्बोधन गरिएको हो, छुट्टिंदैन। शिक्षक इन्फादा पाठमा सम्बोधन नभए पनि चिठी लेख्दा यो कुरा छुटाउन नहुने भनी विद्यार्थीलाई कक्षाकोठामा सिकाउने गरिएको बताउँछन्।
यस्तै, भैरव अर्यालको कथा ‘पख्नोस्’ मा ‘झसबीरेकी बुहारी’ वाक्यांश लेख्दा झसबीरे र की विभक्त छुट्याइएको छ। यही कथाको अभ्यास खण्डमा पनि जोड्न नमिल्ने शब्दहरू एकै डिकोमुनि हालिएको छ–
तरिकाबारेफर्केरहेर्नुहो।
यसैलेकक्षाकोठामाविद्यार्थीलाईकुनैपनिविषयमाआफैँलेसोच्नगरी...
भीमनिधि तिवारीको ‘घरको माया’ कथामा कान्छो नामक पात्रले बोलेको संवादमा पनि गल्ती छ। यहाँ ‘थोपा’ शब्दलाई छुट्याएर ‘थो पा’ बनाइएको छ भने ‘जमानसिंह दाम लिएर आउँछ’ वाक्यांशको क्रियापद ‘आउँछु’ बनाइएको छ। यही पाठको अर्को संवादमा ‘घरमा’ शब्दको विभक्ति अलग्गै लेखिएको छ। कति स्थानमा जमानसिंहको नाम समेत छुट्याएर ‘जमान सिंह’ बनाइएको छ।
यस्तै पाठ १६ मा रहेको बिना थिङको कथा ‘आयाम’ मा क्षितिज शब्दको हिज्जे ‘क्षीतिज’ अनि ‘दिनचर्या’ लाई ‘दिनदर्या’ लेखिएको छ।
डा. सन्दुक रुइत सम्बन्धी पाठमा ‘ओलाङचुङगोलामा’ लेखिनुपर्नेमा ‘ओलाङचुङगो लामा’ हुन पुगेको छ भने रुइतले लामो खोज–अनुसन्धानबाट मोतीविन्दु उपचारमा सबैभन्दा सस्तो मूल्य पर्ने गरी तयार पारेको विश्वस्तरीय ‘इन्ट्राओकुलर’ लेन्सको नाम छुट्याएर ‘इन्ट्राओ कुलर’ बनाइएको छ। यही गल्ती गर्दा सोही पाठमा ‘प्रयोग’ शब्द ‘प्रयो ग’ तथा ‘बिरामीको’ शब्द ‘बिरा मीको’ हुन पुगेको छ। अर्को एक ठाउँमा ‘सङ्घर्ष’ शब्दको हलन्त र ‘घ’ छुटाएर ‘सङर्ष’ लेखिएको छ। यही पाठको अभ्यास खण्डमा ‘त्यही’ शब्दलाई ‘त्यहीँ’ लेखिंदा वाक्य यस्तो बनेको छ–
पल्लो गाउँ घर भएका चिकित्सा शिक्षा अध्ययन गर्दै गरेका हिमलाल थापा त्यहीँ बाटो भएर अस्पताल जाँदै थिए।
यस्तै, ऐतिहासिक घटनामा आधारित कथा ‘घरझगडा’ मा बहादुर शाहले रानी राजेन्द्रलक्ष्मीलाई भनेको ‘वास्तवमा नायबी सिनोका निम्ति मरिमेट्ने गिद्ध म होइन’ वाक्यमा सिनोलाई सेना बनाइएको छ।
“पहिलेका पुस्तकमा यति धेरै त्रुटि हुँदैनथे। पछिल्लो वर्ष आएका पुस्तकमा धेरै हेलचेक्र्याइँ भएको छ,” साहित्यकार समेत रहेका इन्फादा भन्छन्, “यस्तो पढेर विद्यार्थीले नेपाली भाषा कसरी शुद्ध लेख्लान्?”
कक्षाकोठामा शिक्षकले गल्ती बताइदिने भए पनि घरमा वा एक्लै पढ्दा विद्यार्थीले गलत कुरालाई नै सही ठानिदिने र परीक्षामा त्यस्तै लेखिदिने जोखिम बढेको छ।
कक्षा ९ को नेपाली विषयक पुस्तकमा पनि यस्ता गल्ती अनेक छन्। ध्रुवचन्द्र गौतमको ‘स्वाद’ कथामा ‘साँढे पाँच बजेतिर लोग्ने आयो’ भन्ने वाक्य छ। नेपाली बृहत् शब्दकोश अनुसार साँढे भनेको गोरु हो। तर यहाँ वाक्यको आशय समय बुझाउने रहेकाले ‘साढे पाँच’ लेखिनु सही हुन्थ्यो। यस्तै ‘निवेदन’ पाठको पुच्छरमा शब्दार्थ दिंदा ‘दिगो : अरूलाई पीडा दिने वा असर पुर्याउने काम’ लेखिएको छ। शब्दकोश अनुसार यस्तो अर्थ ‘बिगो’ शब्दको हुन्छ।
‘पर्यावरण सन्तुलन’ पाठमा ‘ओजोन’ तहलाई ‘ओजन’ लेखिएको छ। पाठमा पृथ्वीको सतहबाट १५ देखि ३५ किलोमिटरसम्म उचाइमा रहने वायुमण्डलीय तहलाई बुझाउन खोजिएको हो। तर पुस्तकमा लेखिएको हिज्जेले त्यो तह नभएर तौल बुझाउँछ।
राजेन्द्रमान डङ्गोलको ‘कञ्चनजङ्घालाई नियाल्दा’ शीर्षक नियात्राको गृहकार्यमा विद्यार्थीलाई ‘अब हामी...रहेछ’ बाट शुरू हुने अनुच्छेद पढेर त्यहाँ दिइएका प्रश्नको उत्तर लेख्न भनिएको छ। तर पाठमा गएर हेर्दा गृहकार्य खण्डमा उल्लेख गरिएका शब्दबाट शुरू हुने अनुच्छेद नै भेटिंदैन। ती प्रश्नहरूको उत्तर ‘यति वेला हामी...’ बाट शुरू हुने अर्कै अनुच्छेदमा भेटिन्छ।
अर्को, पद्मावती सिंहको कथा ‘समय पीडा’ मा ‘रङ्गीन’ शब्दको हिज्जे ‘रङ्गिन’ लेखिएको छ। जबकि इन प्रत्यय लागेको स्वरवर्ण दीर्घ हुने कुरा नेपाली पुस्तकमै लेखिंदै आएकै हो।
वैज्ञानिक माइकल फेरुडेको जीवनी पाठमा ठाउँ ठाउँमा उनको थर ‘फराडे’ लेखिएको छ। चिठी लेखनमा कक्षा १० कै जस्तो समस्या कक्षा ९ को पुस्तकमा पनि छ। ‘कार्यालयीय चिठी’ पाठमा चिठी कुन पदका व्यक्तिलाई लेखिएको भन्ने खुल्दैन।
‘नेपाली लोकबाजा’ पाठमा डम्फु र मुर्चुङ्गालाई मगर जातिको तथा टुङना र बिनायोलाई किरात जातिको बाजा लेखिएको छ। मौलिक रूपमा डम्फु तामाङ र मुर्चुङ्गा राई जातिका बाजा हुन्। त्यस्तै टुङ्ना तामाङ र बिनायो राई जातिका हुन्।
शिक्षाविद् केदारभक्त माथेमाका बुझाइमा गल्तीको जिम्मेवारी कसैले नलिने परिपाटीले गर्दा पाठ्यपुस्तकमा यस्तो लापरवाही मौलाएको हो। गल्ती हुन नदिन शुरूमा पुस्तक तयार पार्ने संस्था र लेखक नै सजग हुनुपर्ने उनी बताउँछन्। “तर यहाँ यति धेरै त्रुटि हुँदा पनि कोही कारबाहीमा पर्दैन। गल्तीलाई पनि सामान्य रूपमा लिन थालिएको छ,” माथेमा भन्छन्, “पहिलेका पुस्तकमा यति गल्ती हुँदैनथ्यो। गल्ती भेटिइहाले लेखक र संस्थालाई कारबाही हुन्थ्यो।”
कक्षा ९ र १० को नेपाली पुस्तक लेखनमा संलग्न पाठ्यक्रम विकास केन्द्रकी कर्मचारी चिनाकुमारी निरौला पुस्तक लेखिएपछि १२ पटक हेर्दा पनि त्रुटि नसकिएको बताउँछिन्। पुस्तक लेख्न कम समय पाइने र हतारमा काम गर्दा यस्तो भएको उनको प्रस्टीकरण छ। लेखन, सम्पादन र भाषा संशोधनको जिम्मेवारी पाएकी निरौला भन्छिन्, “मान्छेबाट गल्ती हुन्छ। अर्को पटक सुधारेर प्रकाशन गर्छौं।”
यो पनि पढ्नुहोस् :