सहकारीपीडितलाई रास्वपा नेताहरूको प्रलोभन र धम्की
सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनका लागि आह्वान गरिरहेका रास्वपाका नेता तथा कार्यकर्ताले सहकारीपीडितलाई प्रलोभन दिने र धम्क्याउने कार्य गरिरहेको पीडितले बताएका छन्।
‘हामीले रवि लामिछाने एउटा व्यक्तिलाई छुटाउनका लागि तपाईंहरूसँग हारगुहार गरिराख्नु पर्दैन। प्रमाणै नभएको मान्छे, छुट्छ, छुट्छ। प्रमाण कहीं नभएको मान्छे त निर्दोष सावित हुन्छ, हुन्छ। रवि लामिछाने मुक्त भएपछि पनि हाम्रो आन्दोलन जारी रहन्छ। सहकारीपीडितको पाईपाई रकम फिर्ता नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं सांसद डा. तोसिमा कार्कीले कात्तिक ७ मा पोखरा महानगरपालिका–६ को घरदैलोमा पुगेर स्थानीय बासिन्दासँग गरेको अपील हो। सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनका लागि आह्वान गर्न कार्कीसँगै रास्वपाका नेता पोखरामा घरदैलो कार्यक्रम गरिरहेका छन्।
यसअघि सामाजिक सञ्जालबाट आह्वान गरिरहेका उनीहरू कात्तिक ६ देखि भने घरदैलोमा पुगेका छन्। पोखरेली नागरिक उनीहरूको पक्षमा प्रदर्शनका लागि सडकमा नआएपछि घरदैलोमा पुग्नुपरेको रास्वपा नेताहरूको भनाइ छ।
त्यस्तै, रास्वपा नेता स्वर्णिम वाग्लेले पनि सामाजिक सञ्जालमा पोखरेली नागरिकलाई प्रदर्शनमा सहभागी हुने अपील गरिरहेका छन्। वाग्लेले सभापति लामिछानेको पोस्टर सहित लेखेका छन्, ‘पोखरेली ऐक्यबद्धताका लागि अनुरोध।’
सामाजिक सञ्जालबाट अपील गर्दा प्रदर्शनमा सहभागिता नजुटेपछि रास्वपा नेताहरू घर घरमा पुगिरहेका छन्। कात्तिक ६ मा सराङकोट पुगेर स्थानीयसँग संवाद गरेको नेत्री कार्कीले उल्लेख गरेकी छन्।
स्थानीय बासिन्दासँग छलफल गरेको तस्वीर सहित उनले लेखेकी थिइन्, ‘पोखरा सराङकोटसँग अन्तरक्रियात्मक संवाद गरेका छौं। नागरिक तहको यो निरन्तरको साथ, समर्थन र शुभचिन्ता सहितको आशा, भरोसा, विश्वासलाई सदैव सम्मान गर्नेछौं।’
तर सहकारीपीडितले रास्वपाका नेताहरूले घरदैलोमा पुगेर तथा फोनबाट धम्क्याइरहेको आरोप लगाएका छन्। रास्वपाका नेता तथा कार्यकर्ताले कतिलाई प्रलोभन दिइरहेको र कतिलाई धम्की दिइरहेको सहकारी बचतपीडित संघर्ष समितिका पदाधिकारीले बताएका छन्। रास्वपा कार्यकर्ताले घर घरमा पुगेर ‘रवि लामिछाने’ लाई झुटो मुद्दामा फसाइएको भन्दै सहकारीको आन्दोलनमा नजान दबाव दिइरहेको उनीहरूको भनाइ छ।
रास्वपाका नेता तथा कार्यकर्ताले सहकारीपीडितलाई प्रभावमा पारिरहेको सहकारी बचतपीडित संघर्ष समिति तथा सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति, पोखराका संयोजक किरण श्रेष्ठले बताए। “सहकारीपीडितको घर घरमा पुग्ने, रवि त्यस्तो होइन, रवि भगवान् हो भनेर प्रभावमा पार्न खोजिरहेका छन्,” श्रेष्ठले हिमालखबरसँग भने, “यो त चुनावी प्रचारप्रसार जस्तो भयो।”
सहकारीपीडितको आन्दोलनमा नजान भनेर रास्वपा कार्यकर्ताले भड्काइरहेको उनले बताए। कतिपय सहकारीपीडितलाई फोन गरेर रास्वपाको सभामा बोलाएको भनाइ छ। “सहकारीको पैसा फिर्ता दिन बोलाए कि भनेर हाम्रा सहकारीपीडितहरूले मलाई फोन गर्नुभएको छ, यो त राम्रो भएन नि,” संयोजक श्रेष्ठले भने।
घरदैलो र अन्तरक्रियाका नाममा रास्वपाका नेता तथा कार्यकर्ताले प्रलोभन दिने र धम्क्याउने कार्य गरिरहेको मित्रमिलन सहकारीपीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले पनि बताए। यसअघि सहकारीपीडितले जाहेरी दिंदा लामिछानेले नै धम्की दिएको र अहिले अरू नेता-कार्यकर्ताले धम्की दिइरहेको पोखरेलको भनाइ छ। “पहिले जाहेरी दिंदा रवि लामिछानेले धम्की दिएका थिए, अहिले अरूलाई पनि रास्वपा नेता-कार्यकर्ताले धम्की दिइरहेका छन्,” उनले भने।
उनी सहकारीपीडित बचत संघर्ष समितिका सहसंयोजक पनि हुन्। अहिले रास्वपाको नेता तथा कार्यकर्ता सहकारीपीडितको घर घरमा पुगिरहेको उनको भनाइ छ। “रवि लामिछानेसँग हाम्रो केही रिसराग, प्रतिशोध छैन, हामी त हाम्रो बचत फिर्ता पाउन लडिरहेका छौं,” पोखरेलले भने, “रास्वपाका नेता-कार्यकर्ता सहकारी बचतकर्ताको पैसा नै बाँड्न हिंडे जसरी सहकारीपीडित घर घरमा पुगेका छन्। यो त राम्रो भएन।”
रास्वपा नेता तथा कार्यकर्ताको प्रलोभन र धम्क्याउने कार्यले लामिछानेमाथि भइरहेको अनुसन्धानलाई प्रभाव पार्न सक्ने सहकारीपीडितले जनाएका छन्। निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुको सट्टा अशान्ति मच्चाउन खोजेको उनीहरूको आरोप छ। “अहिले त अनुसन्धान मात्रै पो भइरहेको हो, फैसला त भएको होइन नि!” संयोजक श्रेष्ठले प्रश्न गरे, “कुनै पार्टीको अध्यक्षमाथि अनुसन्धान नै गर्न नहुने यो कस्तो नजीर स्थापित गर्न खोजिएको हो?”
रास्वपाका नेता तथा कार्यकर्ताका गतिविधिले लामिछानेमाथिको छानबिन प्रभावमा पर्ने हो कि भनेर सहकारीपीडित सशंकित छन्। सहकारी बचत संघर्ष समितिले कात्तिक ७ मा प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँजसो पोखरामा भइरहेका छन्, पार्टीका कार्यकर्ताबाट पीडित लखेटिएका छन्, पिटिएका छन्।’
दुई वर्षदेखि सहकारीपीडितले गुहार गर्दा र रास्वपा सरकारमा हुँदा ज्ञापनपत्र बुझाउँदा समेत सहयोग नभएको संघर्ष समितिले उल्लेख गरेको छ। तर अहिले सभापति लामिछाने नै अनुसन्धानको दायरामा आउँदा ‘झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी’ नेताहरूले टोल टोलमा भाषण गरिरहेको पीडितले आरोप लगाएका छन्। संघर्ष समितिले भनेको छ, ‘जब पार्टी सभापति पक्राउ परे, तब घैंटोमा घाम लागे जस्तो देखिएको छ। यो विषयले हामी सहकारीपीडित झनै सशंकित भएका छौं।’
रास्वपा सहप्रवक्ता प्रतिभा रावलले भने सहकारीपीडितलाई प्रलोभन र धम्की दिएको विषयमा विस्तृत जानकारी आइनसकेको प्रतिक्रिया दिइन्। “सहकारीपीडितको विज्ञप्ति मैले पनि पढें, धम्की दिएको भन्ने लेखेका छन्,” रावलले हिमालखबरसँग भनिन्, “सहकारीपीडितलाई धम्की दिएको हो कि होइन भन्ने विषय छानबिनकै क्रममा छ।”
त्रासमा सहकारीपीडित
सहकारी ठगी, कीर्ते र संगठित अपराधमा छानबिन गर्न प्रहरीले कात्तिक २ गते पूर्व गृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई त्यही राति पोखरा ल्याइएको थियो।
उनीसँगै आएका सांसदहरू स्वर्णिम वाग्ले, तोसिमा कार्की, सोविता गौतम, सुमना श्रेष्ठ लगायत रास्वपा नेताहरू पोखरामा छन्। त्यसयता पोखराको सडकमा दैनिकजसो प्रदर्शन गरिरहेका छन्। सडक प्रदर्शनका भिडिओ र तस्वीर सार्वजनिक सञ्जालमा राखेर सहभागिताका लागि पोखरेलीसँग अपील गरिरहेका छन्।
यसअघि कात्तिक ४ गते लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा झडप नै भएको थियो। रास्वपा कार्यकर्ताले निषेधाज्ञा तोडेर अदालत बाहिर प्रदर्शन गरेका थिए। दिनभर नै अदालत क्षेत्र तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्नुपरेको थियो।
त्यही दिन सहकारीपीडितले पनि प्रदर्शन गरेका थिए। उनीहरूले लामिछानेलाई कारबाही र आफ्नो बचत फिर्ताका लागि दबाब दिन प्रदर्शन गरेका थिए।
त्यति वेला रास्वपाका कार्यकर्ताले सहकारीपीडतलाई कुटपिट गरेको संघर्ष समितिले जनाएको छ। अहिले धम्की दिन थालेपछि सहकारीपीडित त्रासमा रहेको संघर्ष समितिका पदाधिकारीको भनाइ छ।
लामिछाने पक्राउ परेपछि शान्त रहेका सहकारीपीडित फेरि सडकमा उत्रिने भएका छन्। रास्वपा नेता तथा कार्यकर्ताले प्रलोभन र धम्की दिन थालेपछि बाध्य भएर सडकमा आउनुपरेको पीडितले जनाएका छन्।
रास्वपाका नेता तथा कार्यकर्ताले दैनिकजसो प्रदर्शन गरेर अनुसन्धान प्रभावित गर्न खोजेकाले आफूहरू पनि सडक आन्दोलन गर्ने निर्णयमा पुगेको सहकारी बचतपीडित संघर्ष समितिका संयोजक श्रेष्ठले बताए। “हामीले रास्वपाका नेताहरूलाई काठमाडौंमै आन्दोलन गर्नुस् पनि भनेका थियौं, तर पोखरामा झन् अराजक बनेपछि हामी पनि सडकमा आउनुपरेको छ,” श्रेष्ठले भने, “रास्वपाको प्रदर्शनले गर्दा हामी पनि सडकमा उत्रिन बाध्य हुनुपरेको छ।”
पोखराका सहकारीपीडितले अनुसन्धान प्रभावित हुन नदिन खबरदारीका लागि कात्तिक ८ गते पोखरामा प्रदर्शन गर्ने निर्णय गरेका छन्। यता रास्वपा नेता तथा कार्यकर्ताले भने कात्तिक ७ मा पनि पोखराको सिर्जना चोकमा प्रदर्शन गरेका छन्।
यो पनि पढ्नुहोस् :