रुपन्देही-२ मा मतगणना शुरू गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले रुपन्देही-२ मा मतगणना सुचारू गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।
मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धन दलले मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका छन्।
निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।
विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई राय सहितको निर्देशन दिंदै आयोगले भनेको छ, ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू।’
गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतीजा प्रकाशन गर्न आयोगले निर्देशन दिएको छ। मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगलाई आफैं गणना गरी नतीजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ।
मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो।