रुपन्देही-२ मा सत्ता गठबन्धनले कसलाई देला साथ?
नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै रुपन्देही-२ मा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने गठबन्धनभित्र अन्योल कायमै छ।
रुपन्देही-२ मा राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि सत्ता गठबन्धन रनभुल्लमा परेको छ। कुन उम्मेदवारलाई सघाउने भन्नेमा गठबन्धनमा रहेका दल छलफलमा छन्।
सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामध्ये यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको थियो। एकीकृत समाजवादीले प्रभावशाली नेता राजु गुरुङलाई उम्मेदवार बनाएको थियो।
तर, ‘कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले’ गुरुङ उम्मेदवार बन्न अयोग्य हुने निर्णय निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो। त्यस विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए। कात्तिक ४ गते सर्वोच्चले आयोगको निर्णयलाई सदर गरिदिएको छ।
अब गठबन्धनले के गर्छ? माओवादीका जिल्ला संयोजक निर्मल जिसी भन्छन्, “एउटा पार्टीको निर्णयले हुँदैन। यो सिङ्गो गठबन्धनको कुरा हो। अब के गर्ने भन्ने कुरा केन्द्रले नै निर्णय गर्नेछ।”
अब बाँकी रहेकामध्ये एउटा बलियो उम्मेदवारलाई गठबन्धनले समर्थन गरेर चुनावमा जाने मोटामोटी समझदारी भएको उनको भनाइ छ। तर, त्यो उम्मेदवार को हुने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन।
यो क्षेत्रमा १८ जनाले उम्मेदवारी दर्ता गरेका थिए। एकीकृत समाजवादीका गुरुङसँगै हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्याललाई अयोग्य ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो। यो निर्णय विरुद्ध गुरुङ र भुसाल सर्वोच्च गएका थिए। भुसालको रिटमाथि सर्वोच्चले कात्तिक १५ गते पेशी तोकेकोे छ।
एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा १५ जना उम्मेदवार कायम छन्। तीमध्ये राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट हरिसुन्दर बासी, नेपाल दलित पार्टीबाट राजु शाही, नेपाली कांग्रेस (बीपी)बाट नमादेवी गौतम, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, रूपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
यो क्षेत्रबाट नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाएको छ। उनी २०६४, २०७० र २०७४ सालको चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। मुख्य प्रतिस्पर्धी मानिएका गुरुङको उम्मेदवारी खारेज भएपछि पौडेललाई चुनाव जित्न निकै सहज भएको एमाले नेताहरूको अनुमान छ।
एमालेको आकलन केही हदसम्म ठीक पनि देखिन्छ। दुई पटक अर्थमन्त्री, जलस्रोत, रक्षा सहित उपप्रधानमन्त्री भइसकेका पौडेल यो क्षेत्रमा प्रभावशाली नेताका रूपमा रहेका छन्। एमालेलाई टक्कर दिने ठूला दल कांग्रेस, समाजवादी र माओवादीका उम्मेदवार अब छैनन्। साना दल र स्वतन्त्र उम्मेदवारको प्रभाव त्यति धेरै देखिन्न।
तथापि, सत्ता गठबन्धन सहजै पौडेललाई जितको माला पहिर्याइदिने पक्षमा भने छैन। एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक भन्छन्, “सत्ता गठबन्धनको कार्यदलको बैठकले गर्ने निर्णय अनुसार अघि बढ्नुपर्ने हुन्छ। जोसुकै उम्मेदवारलाई समर्थन गरे पनि चुनाव जित्ने गरी लाग्छौं।”
एकीकृत समाजवादीका नेता गुरुङको उम्मेदवारीलाई लिएर यसअघि पनि गठबन्धनभित्र अन्तर्विरोध थियो। ब्यांकिङ कसूर सम्बन्धी मुद्दालाई लिएर गठबन्धनका नेताहरूले उम्मेदवारी खारेज हुन सक्ने आशङ्का गरेका थिए।
यो क्षेत्रबाट कांग्रेस नेता युवराज गिरी उम्मेदवार हुन चाहन्थे। उनी २०७४ सालको निर्वाचनमा एमालेका पौडेलसँग पराजित भएका थिए। पौडेलले ४४ हजार नौ र गिरीले २१ ह्जार ९४६ मत पाएका थिए। त्यति वेला माओवादीले पौडेललाई सघाएको थियो।
मनोनयन दर्ता गर्नुअघि पनि गुरुङको योग्यताबारे गठबन्धनमा पटक पटक कुरा उठाउँदै कांग्रेसले उम्मेदवारी दिनुपर्ने उनको तर्क थियो। अहिले गुरुङको उम्मेदवारी खारेज भएपछि नेताहरूले आफ्नो कुरालाई बेवास्ता गर्दा ‘गठबन्धनले मैदान खाली गर्नुपरेको’ भनी उनले आफू निकट नेताहरूसँग गुनासो गर्दै आएका छन्।
कांग्रेसका स्थानीय नेता पनि गिरीको तर्कसँग सहमत देखिन्छन्। उनीहरू उम्मेदवार चयनमा केन्द्रले गरेको निर्णयप्रति असन्तुष्ट छन्। कांग्रेसका एक जिल्ला नेता भन्छन्, “अहिले सहजै चुनाव जित्न सकिने वातावरण थियो, तर निर्णय गलत भयो।”
गठबन्धनको प्राथमिकता
अन्तर्विरोधका बावजूद तेस्रो शक्तिलाई समर्थन गर्दै पौडेल विरुद्ध चुनावमा होमिनुको विकल्प नभएको गठबन्धनका नेताहरू बताउँछन्। कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गठबन्धनले तेस्रो शक्तिलाई समर्थन गर्नु स्वाभाविक हुने भए पनि त्यसबारे निर्णयमा पुगी नसकेको बताउँछन्। “कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं।”
रुपन्देही-२ मा एक लाख २८ हजार ६७७ मतदाता छन्। यो क्षेत्रमा गठबन्धन र एमालेपछि तेस्रो शक्तिका रूपमा राष्ट्रिय जनमुक्ति पार्टी छ। २०७४ सालको निर्वाचनमा पनि जनमुक्ति पार्टी तेस्रो स्थानमा थियो। जनमुक्ति पार्टीका रूपबहादुर पुनले तीन हजार ५६८ मत पाएका थिए।
यससँगै गत स्थानीय चुनावमा पनि बुटवल उपमहानगरको मेयरमा गठबन्धनका खेलराज पाण्डेलाई जनमुक्तिले सहयोग गरेको थियो। त्यसैले पनि जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने सम्भावना रहेको गठबन्धनका स्थानीय नेता बताउँछन्।
कसलाई समर्थन गर्ने भन्ने विषयमा छिटै निर्णय हुने माओवादी जिल्ला संयोजक जिसी बताउँछन्। “सरसर्ती हेर्दा अरू विकल्प नभएकाले कुनै एक उम्मेदवारलाई समर्थन गर्ने भन्ने नै निर्णय आउँछ।”
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन अदालतको आदेश मान्नुको विकल्प नभएकाले गठबन्धनले आगामी कदमबारे छिटै निर्णय गर्ने बताउँछन्। सभापति पुन भन्छन्, “गठबन्धनका धेरै चुनावी कार्यक्रम छन्। रुपन्देही-२ को विषयमा छिटो निकास निकालेर चुनावमा जानुपर्छ।”
२०७४ को निर्वाचनमा रुपन्देही-२ मा १० दल सहित १६ जना उम्मेदवार थिए। त्यति वेला दलहरूले पाएको मत:
१) नेकपा (एमाले): ४४,००९
२) नेपाली कांग्रेस: २१,९४६
३) राष्ट्रिय जनमुक्ति पार्टी: ३,५६८
४) विवेकशील साझा: १,३२३
५) संघीय समाजवादी फोरम: ४३५
६) नयाँ शक्ति पार्टी: ४११
७) राष्ट्रिय जनमोर्चा: ३७७
८) देशभक्त गणतान्त्रिक मोर्चा: १६०
९) एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी: १२०
१०) नेपाल मजदूर किसान पार्टी: ५७