काठमाडौं महानगरपालिकाकाे जनसङ्ख्या घट्यो
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको आँकडा सार्वजनिक गरेको छ।
जनगणना अनुसार, ३२ जिल्लामा १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको छ भने ४५ जिल्लामा जनसङ्ख्या बढेको छ। सबैभन्दा रोचक चाहिं काठमाडौं महानगरपालिकामा १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
२०६८ सालको जनगणनाले काठमाडौं महानगरपालिकाभित्र नौ लाख ७५ हजार ४५३ जनसङ्ख्या रहेकामा २०७८ सम्म आइपुग्दा यो घटेर आठ लाख ४५ हजार ७६७ छ। यो एक दशकअघिको तुलनामा १३.२९ प्रतिशत थोरै हो। यसले हरेक वर्ष काठमाडौं महानगरपालिकामा सरदर १.३२ प्रतिशतका दरले जनसङ्ख्या घटिरहेको देखाउँछ।
काठमाडौं महानगरपालिकाभित्र परिवार सङ्ख्या पनि घटेको छ। २०६८ जनगणनाले दुई लाख ५४ हजार २९२ परिवार सङ्ख्या रहेको देखाएकोमा यो २०७८ मा दुई लाख ३१ हजार ७१४ मात्रै रहेको देखिएको छ। सगोलमा रहेका परिवार छुट्टिने क्रम बढेसँगै महानगरपालिकाभन्दा बाहिर सर्ने प्रवृत्तिका कारण जनसङ्ख्या घटेको हुन सक्ने अनुमान छ।
काठमाडौं महानगरपालिकाभित्रको जग्गाको चर्को मूल्यका कारण पनि जनसङ्ख्यालाई महानगरपालिका बाहिर सर्न प्रेरित गरेको हुन सक्ने आकलन छ। घरजग्गाको चर्को मूल्यका कारण महानगरपालिकाभित्रका घर आवासभन्दा व्यावसायिक प्रयोजनमा बढी प्रयोग हुन थालेका छन्।
त्यसै गरी महानगरपालिका भित्रका सपरिवार नै विदेशमा बस्ने क्रमका कारण पनि जनसङ्ख्या घटेको हुन सक्ने केन्द्रीय तथ्याङ्क विभागका अधिकारीहरूले अनुमान गरेका छन्।