यी हुन् जनसङ्ख्या घटेका ३२ जिल्ला
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा अनुसार, देशका ३२ जिल्लामा जनसङ्ख्या घटेको छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको आँकडा सार्वजनिक गरेको छ। गत मंसीरमा भएको जनगणनाको प्रारम्भिक तथ्याङ्कका अनुसार, देशमा जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत छ।
प्रारम्भिक प्रतिवेदनका अनुसार, देशका ३२ जिल्लामा १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको छ। मृत्युदरका तुलनामा जन्मदर कम भएको वा बसाइँसराइँका कारण जनसङ्ख्या घटेको अनुमान छ।
सबैभन्दा धेरै रामेछापमा वार्षिक १.६५ प्रतिशतका दरले जनसङ्ख्या घटेको छ। खोटाङमा १.५६ प्रतिशत, मनाङमा १.४१ प्रतिशत र भोजपुरमा १.३२ प्रतिशतका दरले बर्सेनि जनसङ्ख्या घटिरहेको छ।
रामेछापमा १० वर्षअघि २०६८ सालमा दुई लाख दुई हजार ६४६ जनसङ्ख्या रहेकोमा २०७८ मा आइपुग्दा त्यो एक लाख ७० हजार ६२० मा ओर्लिएको छ।
तेह्रथुम, गुल्मी, स्याङ्जा, अछाम, अर्घाखाँची, पर्वत, पाँचथर, सिन्धुपाल्चोक, लमजुङ, धनकुटा, दोलखा, पाल्पा, गोरखा, बाग्लुङ, ताप्लेजुङ, म्याग्दी, नुवाकोट, ओखलढुंगा, धादिङ, काभ्रे, इलाम, दैलेख, बझाङ, डोटी, बैतडी, डडेल्धुरा, सल्यान र सोलखुम्बुमा १० वर्षअघिको तुलनामा जनसङ्ख्या घटेको छ।
बाँकी ४५ जिल्लामा भने जनसङ्ख्या बढेको छ। सबैभन्दा धेरै भक्तपुरमा वार्षिक ३.३२ प्रतिशत, रुपन्देहीमा २.३० र चितवनमा २.१० प्रतिशतका दरले जनसङ्ख्या बढिरहेको छ।