तत्काल स्थानीय चुनावको मिति तोक्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले स्थानीय चुनावको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ।
स्थानीय निर्वाचनको मिति घोषणामा जति ढिलाइ भयो उति नै निर्वाचन व्यवस्थापन कार्य जटिल बन्ने भन्दै आयोगले यस्तो आग्रह गरेको हो। आयोगले यसअघि नै १४ वैशाख र २२ वैशाखमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरिसकेको छ।
आगामी वैशाख मसान्तभित्र चुनाव गराउन आयोग तयार रहेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
२०७४ सालमा वैशाख, असार र असोजमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो। तर कानुन अनुसार ५ जेठ २०७९ मा ७५३ वटै पालिकाहरू जनप्रतिनिधिविहिन हुँदैछन्।
संविधानले एक दिन पनि स्थानीय सरकारहरू रिक्त हुने कल्पना गरेको छैन। यो विषयमा आयोगले पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवालाई अवगत गराईसकेको छ।
आयोगले स्थानीय तहमा प्रतिनिधित्व गर्ने १६ दलसँग सर्वदलीय बैठक आयोजना गरिसकेका छ। सर्वदलीय बैठकमा सहभागी दुई दल बाहेक सबैले आगामी बैशाखमा निर्वाचन गर्नुपर्ने राय दिएका छन्।