ग्याबिन पर्खाल भत्काएको आरोपमा धरानका नगर प्रहरी सहित चार जना पक्राउ
धरानका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा खहरेमा ग्याबिन पर्खाल भत्काएको आरोपमा नगर प्रहरी सहित चार जनालाई पक्राउ गरिएको छ।
नगर प्रहरीका असई सुरेश मग्रातीलाई आइतबार बिहान पक्राउ गरिएको हो। मग्रातीलाई धरान-१४ स्थित उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीले बताए। “सुरेश मग्राती अहिले प्रहरी नियन्त्रणमा छन्,” डीएसपी भण्डारीले हिमालखबरसँग भने।
उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि शुक्रबार नै प्रहरी टोली नगर प्रहरीको कार्यालय रहेको धरान-८ स्थित सभागृह पुगेको थियो। धरानका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले आइतबार आफैंले प्रहरीमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि प्रहरी टोली फर्केको थियो। तर आइतबार बिहान उनलाई घरबाटै पक्राउ गरेर इनरुवा लगिएको छ।
यसअघि साउन २४ मा तीन जनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा भारती राई, राजकुमार राई र दिलकुमार राई छन्। उनीहरूलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धरान-१३ स्थित खहरेमा पहिरो नियन्त्रण गर्न ग्याबिन पर्खाल लगाइएको थियो। स्थानीय टोल विकास संस्थाले कोशी प्रदेश सरकारको २० लाख रुपैयाँमा पर्खाल निर्माण गरेको थियो।
तर स्थानीय भारती राईले यस विरुद्ध मेयर साम्पाङलाई गुनासो गरेकी थिइन्। त्यसपछि मेयर साम्पाङले नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई डोजर लगेर भत्काइदिन आदेश दिएका थिए। उनी भत्काउन गए पनि स्थानीय बासिन्दाको विरोधपछि फर्किएका थिए। आदेश पालना नगरेको भन्दै मेयर साम्पाङले उनलाई प्रहरी प्रमुखबाट हटाइसकेका छन्।
त्यसपछि मेयर साम्पाङले नगर प्रहरीका असई मंग्रातीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो। प्रहरी टोलीले भारती राई लगायतको सहयोगमा पर्खाल भत्काएको थियो।
स्थानीय बासिन्दाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालयको टोलीले स्थलगत अनुगमन पनि गरेको थियो। यसमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।