धरान खानेपानी बोर्डका अध्यक्ष साम्पाङको कार्यकक्षमा तालाबन्दी
खानेपानीको महसूल अत्यधिक बढाएपछि धरानका बासिन्दा र राजनीतिक दलका नेता तथा कार्यकर्ताले खानेपानी व्यवस्थापन बोर्डको ककार्यालयमा आइतबार तालाबन्दी गरेका छन्।
बोर्डका अध्यक्ष हर्कराज राई (साम्पाङ) र आयोजना प्रमुख राजु पोख्रेलको कार्यकक्षमा ताला लगाइएको हो। आइतबार स्थानीय र राजनीतिक दलका नेता तथा कार्यकर्ता जुलूस सहित बोर्डको कार्यालयमा पुगेका थिए। बोर्डका अध्यक्ष एवं धरानका मेयर साम्पाङले एकल निर्णयबाट महसूल अत्यधिक वृद्धि गरेको विरोधमा तालाबन्दी गरिएको राजनीतिक दलले जनाएका छन्।
यसअघि १० राजनीतिक दल र स्थानीय बासिन्दाले शुक्रबार तीनबुँदे ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले खानेपानीको महसूलमा गरिएको वृद्धि फिर्ता गर्न तीन दिनको समय दिएका थिए।
मागको सुनवाइ नभएपछि खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी गरेको स्थानीय नेता ताजुब लिम्बूले बताए। खानेपानीको बढेको महसूल दर तत्काल खारेज गरी पुरानै दर कायम नगर्दासम्म तालाबन्दी जारी रहने लिम्बूको भनाइ छ।
त्यस्तै, उपमेयर अइन्द्रविक्रम बेघासहित वडाध्यक्षहरूले पनि बोर्डका अध्यक्ष साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन्। उपमेयर बेघा सहित वडा नं. १५ का अध्यक्ष नरेश इवारम, वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएका हुन्।
धरानमा साउन १ गतेदेखि लागू हुने गरी विभिन्न शीर्षकमा महसूल बढाइएको छ। नयाँ धारा जडानमा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म तथा महसूलमा ११ देखि २०० प्रतिशतसम्म बढाइएको छ।