विद्यालय गइरहेका बालकलाई खोलाले बगायो
मोरङको केराबारीमा स्कूल गइरहेका एक विद्यार्थीलाई खोलाले बगाएको छ।
केराबारी गाउँपालिका-४, याङ्सिलाका ११ वर्षीय श्याम राई मंगलबार गोबिने खोलामा बगेका हुन्। बगेको स्थानबाट करीब १०० मिटर तल उनको शव भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए।
स्कूल गइरहेका बालकलाई खोलाले बगाएको खबर पाएपछि परिवार र स्थानीय बासिन्दा खोजीमा लागेका थिए। बगेको करीब आधा घण्टापछि शव भेटिएको वडाध्यक्ष तामाङले बताए। उनी केराबारी-४, चिउरीभन्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।
याङ्सिला र चिउरीभन्ज्याङ आसपासमा सोमबार रातिदेखि वर्षा भइरहेको छ। खोलामा बाढी आएकाले तर्ने क्रममा उनलाई बगाएको वडाध्यक्ष तामाङले बताए।
त्यस्तै, सुनसरी र मोरङको सीमा पर्ने बुढी खोलामा आएको बाढीले बगाउँदा सुन्दरहरैंचा-५, फोक्सीमा एक जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। खोलामा माछा मार्ने क्रममा बाढीले बगाउँदा फोक्सीकी २३ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
माछा मार्ने क्रममा पाँच जना बगेका थिए। उनीहरूमध्ये ३५ वर्षीया फूलकुमारी चौधरी, ६० वर्षीया अप्सरा चौधरी र एक जना युवक हराइरहेको सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईंले बताए।
उनीहरूमध्ये स्वस्तिका चौधरी रूखको हाँगामा अल्झिएकी थिइन्। स्थानीय बासिन्दाले देखेपछि उनको उद्धार गरिएको मेयर गुरागाईंले बताए। हराइरहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।