मोदी ३.० : शक्ति खस्किए पनि मिडियाका लागि भारी
![मोदी ३.० : शक्ति खस्किए पनि मिडियाका लागि भारी](https://himal.softnep.website/uploads/posts/800X600/Modi_NYT-1718115685.jpg)
तेस्रो कार्यकालमा नरेन्द्र मोदी तुलनात्मक रूपमा कमजोर हुनु भारतीय मिडियाको स्वतन्त्रता हैन। सञ्चारगृहले सम्पादकीय मूल्यमा डट्ने सामर्थ्य नजुटाए मोदीको खस्किएको शक्ति पनि मिडियाका लागि भारी रहिरहनेछ।
भानु बोखिमलोक सभा निर्वाचन सकिएको साँझ मूलधारको भारतीय मिडिया भारतीय जनता पार्टी (भाजपा)ले पुनः भारी बहुमत ल्याउने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको महिमागानमा मग्न थियो। निर्वाचनअघि भाजपा तथा मोदीले तय गरेको नारा ‘अबकी बार, चार सौ पार’ को वरिपरि नतीजा आउने ‘एक्जिट पोल’ आइरहेका थिए। जसलाई वैकल्पिक मिडिया तथा भाजपा-इतर पक्षका बुद्धिजीवीले मिडियाको हार भनेका थिए।
भारतको मूलधारको मिडिया निसास्सिएको धेरै भइसक्यो। सन् २०१४ को निर्वाचनमा भाजपाले सुविधाजनक बहुमत ल्यायो। त्यसपछि मोदी शक्तिशाली प्रधानमन्त्री भए। मोदीका लागि मजबूत संसदीय गणित भारतीय मिडियाका लागि भार भयो। मिडियामा सत्ताको छाया मडारिन थाल्यो।
सन् २०१९ को लोक सभा निर्वाचनमा भाजपाले बहुमत नल्याउने चर्चा थियो। तर भाजपा र मोदी अझ शक्तिशाली भएर उदाए। यसपछि भारतीय मिडियामा मोदीको दबदबा अझ बढेर गयो। धेरै सञ्चारगृह मोदीको इशारामा चल्न थालिसकेका थिए। मोदीको शासनप्रति आलोचनात्मक दृष्टि राख्ने एनडीटीभी थियो, जसलाई मोदी समर्थक व्यवसायी गौतम अडानीलाई बेच्न बाध्य तुल्याइयो। त्यसपछि एनडीटीभीले पनि सम्पादकीय मूल्यमान्यता अनुरूप काम गर्ने स्वतन्त्रता गुमायो। यस टेलिभिजनमा कार्यरत जल्दाबल्दा पत्रकार रवीश कुमार राजीनामा दिएर बाहिरिए।
टेलिभिजनबाट बाहिरिएपछि उनले भारतीय मूलधारको मिडियाको उपनाम जुराए, ‘गोदी मिडिया’। मिडियाले आफ्नो दायित्व भुल्दै मोदीको शक्ति सामु लत्रेर भक्तिगान गरेकोमा उनले यो शब्दावली प्रयोग गरेका थिए। यो शब्दावली यति चर्चित भयो कि मूलधारको मिडियालाई भाजपा समर्थक बाहेक इतर पक्षले गोदी मिडियाकै नामबाट पुकार्न थाले। रवीशको नजरमा गोदी मिडियाको मिसन र भिजन एउटै थियो, नरेन्द्र मोदीको देवत्वकरण। मूलधारे मिडिया नरेन्द्र मोदीको काखमा लुटपुटिन पुग्दा मिडियाले आलोचनात्मक चेत गुमायो, प्रतिपक्षको काम र तिनको आवाजलाई उपेक्षा गरियो।
आफूले भनेको नमान्दा दबाब दिने प्रवृत्ति पनि मोदीमा बढी होला, तर आलोचना गरेर जोखिम मोल्नु साटो सत्ताकै अनुकूल भाषा बोल्ने सञ्चारगृहहरू पनि कम दोषी छैनन्।
शासकप्रति मिडियाको यस्तो समर्पणलाई कसरी हेर्ने? कतिले सत्ताको रापताप र दबाबपछिको बाध्यता भन्लान्। तर यो पाटो मात्र देखिंदैन।
भाजपाको एकल बहुमतको शासन चलाउँदा नरेन्द्र मोदीले तानाशाही प्रवृत्ति देखाए। हिन्दू राष्ट्रवादको अजेन्डा हाँकेका उनले फरक विचारलाई आत्मसात् गरेनन्। अल्पसंख्यक समूहप्रति निर्मम भएर विभाजनको राजनीति गरे। विपक्षी आवाजलाई दपेटिरहे। साथै, मोदीमा मपाईं प्रवृत्ति हावी छ। उनी भाजपाको नेता भएकै कारण प्रधानमन्त्री भएका थिए र त्यस हिसाबले सरकार भाजपाको थियो, नीति तथा कार्यक्रम भाजपाको थियो। तर उनले आफू नै सर्वेसर्वा भएको दाबी गरे। सरकारको वा भाजपाको कार्यक्रम भनेनन्, मोदीको कार्यक्रम भन्दै हिंडे। सरकारको ग्यारेन्टी भनेनन्, मोदीको ग्यारेन्टी भने।
कुनै पनि काम सामूहिक प्रयासबाट भएको हो भनेर सबैको अस्तित्व स्विकार्नु साटो मैले गरेको हो भनेर एकल जस लिन प्रवृत्ति खोज्ने व्यक्तिमा तानाशाही प्रवृत्ति हुन्छ। यो प्रवृत्तिको मात्रा मोदीमा प्रचुर देखिन्छ। मोदीको तानाशाही प्रवृत्तिले नै विश्वको ठूलो लोकतन्त्रको मिडियालाई मुट्ठीमा कसेको हो त? यो विश्वास गर्न सकिंदैन। यसमा सरकारको शक्ति, दबाब र प्रभावले मात्र काम गरेको छैन, सञ्चारगृहको लोभलालच पनि उत्तिकै जिम्मेवार छ। अन्यथा निष्पक्ष भएर उभिने स्वतन्त्र संस्थालाई आवधिक रूपमा गठन हुने कुनै पनि सरकारले नियन्त्रण गर्न सक्दैन। पक्कै पनि सत्ताको प्रवृत्ति हुन्छ, मिडियालाई आफ्नो वशमा राख्ने र गुणगान मात्र खोज्ने। यो प्रवृत्ति मोदीमा छ। आफूले भनेको नमान्दा दबाब दिने प्रवृत्ति पनि मोदीमा बढी होला, तर आलोचना गरेर जोखिम मोल्नु साटो सत्ताकै अनुकूल भाषा बोल्ने सञ्चारगृहहरू पनि कम दोषी छैनन्।
अहिले विश्वभरिको १८० देशका मिडियाको र्यांकिङमा भारत १६३औं स्थानमा छ। लोकतन्त्र र मानव अधिकारबारे सधैं प्रश्नको घेरामा रहने कतिपय देशको मिडियाभन्दा भारतीय मिडियाको हैसियत कमजोर देखिनु विश्वकै ठूलो लोकतन्त्रका लागि विडम्बना हो।
डिजिटल मिडिया हुँदैनथ्यो भने भारतमा फरक विचारको आवाजमा पूरै बुजो लाग्थ्यो। तर मूलधारबाट बाहिर आएका पत्रकारले सञ्चालन गरेका यूट्यूब च्यानल तथा ‘नागरिक पत्रकारिता’ को अभ्यास गरिरहेका केही अनलाइन पोर्टलले इतर पक्षका आवाज जीवित राख्ने प्रयास गरेका छन्। यी वैकल्पिक माध्यम हुँदैनथे भने मूलधारको मिडिया मोदीको हिन्दूत्ववादी राजनीति र झूटको जगमा टिकेको शासनलाई तिलस्मी रूपमा प्रस्तुत गर्न निर्बाध दुष्प्रचारक बन्थ्यो।
लोकतन्त्रको सूचकांकमा भारतको स्थिति खस्किएको छ। यसको प्रमुख कारण भारतको मूलधारे मिडिया लत्तो छोड्नु पनि हो।
मोदी सरकारले डिजिटल मिडियालाई काबूमा राख्ने प्रयास नगरेको पनि होइन। वैकल्पिक धारका धेरै पत्रकारलाई विभिन्न निहुँमा दुःख दिने काम भयो। सरकारको आलोचना गर्ने कतिपय यूट्यूब च्यानल बन्द गरिए। तर वैकल्पिक धारका पत्रकारले एकले भोगेको कष्ट देखेर अरू डराएर भागेनन्। मोदीको दबदबा रहेको वेला पनि तिनले पत्रकारिताको धर्म निर्वाह गरिरहे र फरक विचारलाई ठाउँ दिए।
लोक सभा निर्वाचनको परिणाम मूलधारको मिडियाले अनुमान गरेको भन्दा फरक आएको छ। सरकारको दबाबमा वा सत्तालाई खुशी पार्न गरिएको अनुमानित आँकडा सही नहुनु अनौठो थिएन। मिडिया आकलन गलत निस्किए पनि मोदीको भाजपा नै सबैभन्दा ठूलो बनेको छ, भलै यसको एकल बहुमत आएन। भाजपाले गठबन्धन दलसँग मिलेर सरकार बनाएको छ। अघिल्ला दुई निर्वाचनमा जस्तो बहुमत नआउँदा मोदीले जितेर पनि शक्ति गुमाएका छन्। अर्कातिर, विपक्षी गठबन्धनले हारेर पनि धेरै कुरा हासिल गरेको छ। यो लोकतन्त्रको सौन्दर्य हो, जहाँ जित्नेले सबथोक हासिल गर्दैन र हार्नेले सबै गुमाउँदैन।
नरेन्द्र मोदी एक व्यक्ति मात्र हैन, प्रवृत्ति पनि हो। राजनीतिक प्राणीले परिस्थिति हेरेर भाषा बदल्न सक्छ, तर स्वभाव र प्रवृत्ति फेर्दैन। भाजपाले सुविधाजनक बहुमत नल्याउँदा पक्कै पनि मोदीको शक्ति क्षयीकरण भएको छ। तर यसपछि उनले आफ्नो प्रवृत्ति बदल्ने छैनन्। मिडियामाथि अंकुश लगाउने यात्रा जारी नै राख्नेछन्।
भाजपाको नेतृत्वमा रहेको न्याशनल डेमोक्रेटिक अलायन्स (एनडीए)मा नीतीश कुमारको जनता दल युनाइटेड (जेडीयू) मोदीको दरिलो बैसाखी भएर उभिएको छ। इन्डिया गठबन्धनमा छँदा नीतीश कुमारले मिडियालाई स्वतन्त्र राख्ने बताएका थिए। तर सरकारमा गएपछि मिडियाले गर्ने आलोचना बिझाउन सक्छ। स्वभावैले मानिस आलोचनाभन्दा बढी प्रशंसा रुचाउँछ। समयक्रममा गठबन्धन सरकारको काम र शैलीप्रति स्वाभाविक रूपमा प्रश्न उठ्छन्, त्यो अवस्थामा मोदीको मिडियाको मुख थुन्ने कदममा नीतीश मौन रहन सक्छन्।
लोकतन्त्रको सूचकांकमा भारतको स्थिति खस्किएको छ। यसको प्रमुख कारण भारतको मूलधारे मिडियाले लत्तो छोड्नु पनि हो। तेस्रो कार्यकाल सम्हाल्न आइपुग्दा मोदीको शक्ति खस्किएको छ। तुलनात्मक रूपमा मोदी कमजोर हुनु भारतीय मिडियाको स्वतन्त्रता होइन। मूल कुरा, सञ्चारगृहले सम्पादकीय मूल्यमान्यतामा डटेर काम गर्न सक्नुपर्छ। अन्यथा मोदीको खस्किएको शक्ति पनि मिडियाका लागि भारी नै रहिरहन्छ।