मेलम्ची खानेपानी आयोजना आजबाट बन्द गर्ने निर्णय
![मेलम्ची खानेपानी आयोजना आजबाट बन्द गर्ने निर्णय](https://himal.softnep.website/uploads/posts/15939442691593519116melamchi.jpg)
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजबाट बन्द गर्ने निर्णय गरेको छ।
मेलम्ची नदीमा पानीको बहाव बढी बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको बताए।
“नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेका थियौं,” लामिछानेले भने, “नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेका छौं, अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुनेछ।”
गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी गरिएको थियो। तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको उनको भनाइ छ।
उनका अनुसार परामर्शदाता तथा एशियाली विकास ब्यांकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्चीको पानी वितरण प्रक्रिया बन्द गर्न सुझाव दिइरहेको छ। मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनः शुरू गरिने उनले बताए।
अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन्। मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडवर्क्समा हुन सक्ने क्षति रोक्न वर्षातमा आयोजना बन्द गरिंदै आएको छ।