घाँटी रेटी हत्या गरिएकी किशोरीको सनाखत
धरान उपमहानगरपालिका-१८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको सनाखत भएको छ।
प्रहरीका अनुसार मृतक धरान-१६ की २१ वर्षीया सुमना श्रेष्ठ रहेकी छिन्। इलाका प्रहरी कार्यालय, धरानका प्रहरी निरीक्षक भीमराज राईका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ भने प्रहरी परिचालन गरी खोजी कार्य पनि तीव्र पारिएको छ।
घटनामा एकभन्दा बढीको संलग्नता पाइएको राईले बताए। उनीहरूको खोजीका लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए।
बुधबार दिउँसो अढाई बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सीमा मृतकको शव भेटिएको थियो। घाँटीमा दुई ठाउँमा धारिलो हतियारले रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको थियो। शवभन्दा केही पर सानो आकारको खुकुरी पनि भेटिएको प्रहरीले जनाएको थियो।