‘प्रधानमन्त्रीले नमस्ते मात्रै गरे हुन्थ्यो’
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको स्वास्थ्यमा कस्तो जोखिम हुन्छ ?
मिर्गौला प्रत्यारोपण गरेपछि शरीरको रोग प्रतिरोधी क्षमताले प्रत्यारोपण गरिएको अंग आफ्नो नभएको तुरुन्तै जानकारी पाउँछ । उसले प्रत्यारोपित मिर्गौलालाई शत्रुको रुपमा चिन्ने भएकोले प्रत्यारोपण गरिएको मिर्गाैला जोगाउनका लागि विशेष औषधि दिइन्छ । पछि गएर प्रत्यारोपण गरिएको अंगलाई शरीरले विस्तारै स्वीकार्न थाल्छ ।
पहिलो एक वर्षमा संक्रमणको जोखिम एकदमै उच्च हुन्छ । यस्तो बेला सामान्य अवस्थाका मानिसलाई छुन नसक्ने र स्वस्थ व्यक्तिको शरीरमा रहने कीटाणुले पनि आक्रमण गर्दछ । जस्तै सामान्य अवस्थामा फंगस शरीरमा रहँदा फरक नपर्न सक्छ तर, रोग प्रतिरोधी क्षमता कम भएका बेला यसबाट पनि संक्रमणको जोखिम धेरै हुन्छ । त्यसकारण सफाइ र खानामा निकै ध्यान दिनु जरुरी छ ।
सामान्य मानिसले पचाउन सक्ने खाना पनि मिर्गौला प्रत्यारोपण गरेका मानिसले पचाउन सक्दैनन् । यस्ता व्यक्तिमा झाडापखालाले पनि ज्यानकै जोखिम गराउँछ ।
मिर्गौला ‘फेल’ हुने कारण के हो ?
हालसम्मको अध्ययन अनुसार मिर्गौला ‘फेल’ हुनुको पहिलो कारण मधुमेह हो भने दोस्रो उच्च रक्तचाप र तेस्रो ग्लोमेरुलोनेफ्राइटिस । प्रोटिनको मात्रा बढी भएर पिसाबबाट चुहिने रोगलाई ग्लोमेरुलोनेफ्राइटिस भनिन्छ । यो रोग लागेको सजिलै भेउ पाइँदैन । अन्त्यमा यसले मिर्गौलालाई ‘ड्यामेज’ गर्छ ।
मिर्गौला फेल हुन थालेको पहिल्यै थाहा पाउन सकिंदैन ?
अहिलेसम्मको ‘ट्रेण्ड’ नै अन्तिम चरणमा अस्पताल आउने छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउने, मधुमेह, उच्च रक्तचाप र ग्लोमेरुलोनेफ्राइटिसबाट बच्न सावधानी अपनाउने हो भने अन्तिम अवस्था भन्दा पहिल्यै जानकारी पाउन सकिन्छ । र, त्यसको सहज उपचार पनि सम्भव छ ।
मिर्गौला प्रत्यारोपण गरेका मानिसले के के कुरामा बढी ध्यान दिनुपर्छ ?
यस्ता व्यक्तिले सेवन गर्ने औषधिले शरीरमा चिनीको मात्रा तलमाथि बनाउँछ र मोटोपन पनि बढाउन सक्छ । त्यसकारण खानामा निकै सावधानी अपनाउनुपर्छ । प्रत्यारोपण गरिएका व्यक्तिमा मुटु रोगको सम्भावना अरुलाई भन्दा बढी हुन्छ । नूनको मात्रा पनि मिलाएर सेवन गर्नुपर्दछ । मिर्गौला रोगीले अचार, निम्की, भुजिया जस्ता बजारिया र नुनिला पदार्थ खानुहुँदैन ।
रोग प्रतिरोधी क्षमता कम हुने हुँदा प्रत्यारोपण गरिएका व्यक्ति रुघाखोकीले मात्रै पनि अरुभन्दा चाँडै सिकिस्त हुन्छन् । नियमित औषधि लिइरहने हुँदा ज्वरो कम आउँछ र रोगको लक्षण अरु व्यक्तिमा भन्दा ढिलो देखिन्छ । तर, रोगले भित्रभित्रै असर गर्ने हुँदा समयमै उपचार गरिएन भने निको पार्न एकदमै गाह्रो हुन्छ ।
प्रधानमन्त्रीलाई अहिले भएको के हो ?
प्रधानमन्त्रीलाई रुघाखोकी लागेको हो । संक्रमण बढ्दै गएर छातीसम्म पुग्यो र श्वासप्रश्वासमा समस्या देखियो । प्रत्यारोपणपछि लिने औषधिले उहाँको शरीरमा चिनीको मात्रा बढी हुन्छ । त्यसको नियन्त्रणका लागि इन्सुलिन लिइरहनुभएको छ । रुघाखोकी लागेर खान मन नलागेपछि प्रधानमन्त्रीले मधुमेहको औषधि बन्द गर्नुभएको रहेछ, त्यसले शरीरमा चिनीको मात्रा बढायो र सँगै संक्रमण पनि चाँडै फैलियो ।
नियमित अनुगमन गर्न सजिलो हुने भएकाले उहाँलाई अस्पतालमा भर्ना गरिएको हो । इन्फेक्सन भएको बेलामा खाना नखाए पनि मधुमेहको औषधि लिनुपर्दछ, औषधि नखाँदा पनि समस्या आएको हो ।
दशैंको बेला धेरै जनासँग सम्पर्कमा आउँदा पनि प्रधानमन्त्री बिरामी भएको चर्चा छ, त्यस्तो हो ?
कतै न कतैबाट शरीरमा भाइरस प्रवेश नगरी संक्रमण हुँदैन । दशैंमा धेरै मानिसलाई टीका लगाउँदा रुघा लागेकाहरू पनि आएको र त्यहींबाट भाइरस सरेर बिरामी भएको हुने सम्भावना धेरै छ ।
अब संभावित संक्रमणको जोखिम कसरी कम गर्ने ?
प्रधानमन्त्री र अन्यको हकमा पनि रुघाखोकी वा अन्य संक्रमण भएका व्यक्ति नजिक नआउन सूचना प्रकाशित गर्न सकिन्छ । भेटघाटका बेला ‘मास्क’ को प्रयोग गर्न सकिन्छ । फेरि हात मिलाउँदा र छुँदा पनि संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले प्रधानमन्त्रीले अरुसँग हात मिलाउने काम पनि बन्द गर्नुपर्छ । नमस्ते गर्दा नै पुग्छ ।
विगत पाँच वर्षदेखि प्रधानमन्त्रीको उपचारमा संलग्न हुनुहुन्छ, स्वास्थ्यप्रति उहाँ कति सजग हुनुहुन्छ ?
मानव शरीरलाई आराम पुगेन भने तनाव बढ्छ । तनावले रक्तचाप र मधुमेह बढाउँछ । उमेरका हिसाबले प्रधानमन्त्री कम्तीमा पनि ६–७ घण्टा सुत्नुपर्दछ । तर उहाँले यी कुरालाई ध्यान दिएको देखिंदैन । उहाँको अधिकांश समय सधैं भीडभाड र ब्रिफिङमा बित्छ ।
प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण भेटघाटको मात्रै समय मिलाउने र राजनीतिक नेता कार्यकर्ताले पनि प्रधानमन्त्रीलाई भेट्न मरिहत्ते गर्ने कामलाई बन्द गर्नुपर्छ ।
प्रस्तुतिः मुकेश पोखरेल
पढ्नुहाेस् ।