‘इमानदार लेखनले आफ्नो महत्ता साबित गरेरै छाड्छ’
आख्यानकार नयनराज पाण्डेको संस्मरण कृति यार ले पद्मश्री साहित्य पुरस्कार–२०७४ पाएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट दिइने उक्त पुरस्कारबाट पुरस्कृत पाण्डे भन्छन्, “इमानदार लेखनप्रति पाठकहरूको स्नेह र स्वीकारोक्ति जतिको ठूलो पुरस्कार अरु केही हुन्न ।”
यार का लागि पद्मश्री साहित्य पुरस्कार पाउँदा कस्तो अनुभव भइरहेको छ ?
पुरस्कार पाउँदा खुशी अवश्य लाग्छ । यार लाई यसरी पुरस्कृत गर्दा समग्रमा संस्मरण विधा नै सम्मानित भएको अनुभव भइरहेको छ ।
लेखन र पुरस्कारलाई कसरी व्याख्या गर्नुहुन्छ ?
लेखकले आफ्नो शब्द र कलमको सम्मान गर्न जान्नुपर्छ । त्यसपछि मात्र उसको लेखनले पाठकबाट सम्मानित हुने अवसर पाउँछ । इमानदार लेखनमा पाठकहरूको स्नेह र स्वीकारोक्ति जतिको ठूलो पुरस्कार अरु केही हुन्न । यसमा लेखकले जति मरिहत्ते गरे पनि हुन्छ । नगद राशि सहितका पुरस्कार त त्यसपछिका कुरा हुन् । इमानदार लेखनले ढिलोचाँडो आफ्नो महत्ता साबित गरेरै छाड्छ ।
यार अर्थात् साथीहरूबारे नै लेख्न अलि हतार गरे जस्तो लाग्दैन ? उनीहरूसँग फेरि भेट्दा आउन सक्ने प्रसंग वा अब थपिने ‘यार’ हरूबाट पाउन सक्ने नयाँ अनुभवलाई नकार्नुभएको हो वा ‘यार–२’ लेख्नुहुन्छ ?
यार–२ लेख्ने कुनै योजना छैन । यसमै मित्र र मित्रताका धेरै आयामको चर्चा गरेको छु । फेरि त्यही सेरोफेरोमा लेखें भने पात्र फेरिएला, कुराहरू दोहोरिनेछन् । रिपिटेशनले सिध्याउन सक्छ भन्नेमा सचेत छु ।
आजको लेखकको जिम्मेवारी के हो ?
लेखकलाई कुनै राजनीतिक दलले जिम्मेवारी दिने, कसैको आदेश र अजेन्डामा उसले लेख्ने होइन । सचेत लेखकले समय र समाजलाई आफ्नो किसिमले बुझिरहेको हुन्छ, जुन उसको लेखनमा प्रतिबिम्बित हुनुपर्छ । लेखकले समाज, समाजभित्रका चरित्र र समाजका अपेक्षाहरूलाई बुझ्न सकेन भने उसको लेखन शब्दको फजुल खर्च मात्र हुन जान्छ ।
अबको योजना के छ ?
म उभिने जमीन आख्यान हो, आख्यानमै लाग्छु । फेरि मधेशकै कथा बुन्दैछु ।