‘चिनियाँ विमानलाई लिएर प्रचारबाजी गरिएको छ’
मन्त्रिपरिषद्बाट भर्खरै नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका मदन खरेल भन्छन्, “दशैंमा ढुक्कसँग नेपाल एअरलाइन्सको टिकट काट्नुस् ।”
नेपाल वायुसेवा निगमलाई अगाडि बढाउने योजना के छ ?
भर्खरै दुइटा एअरबस–३३० विमान आएका छन् । साना–ठूला सबै विमानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु अहिलेको प्राथमिकता हो । तत्काल विमान नकिनेर भएकैको व्यवस्थापनमा जोड दिन्छौं । एअरलाइन्स कम्पनीले बजारको माग अनुसार विमान थप गर्नु नियमित प्रक्रिया हो, त्यसका लागि अध्ययन गर्छौं ।
निगमले कहिलेदेखि विमान उडाएरै नाफा कमाउला ?
वायुसेवा कम्पनीले अन्य सहायक व्यवसायको नाफाले मात्रै कम्पनी राम्ररी चलाएको छौं भन्न मिल्दैन । संस्थाभित्रका समस्या सुधार्दै निगमलाई नाफामा लैजान्छौं ।
नियमित उडान नहुने समस्या हट्ला त ?
निगमको समग्र अवस्थामा सुधार गर्न सकियो भने नियमित र तोकिएको समयमा उडान भर्न सकिन्छ । सबैको सहयोग लिएर कर्मचारी, इन्जिनियरिङ क्षमता, पाइलट, टिकट प्रणाली लगायतमा सुधार गर्नेछु । एक साताभित्र चालक दल व्यवस्थापन सम्बन्धी योजना बन्छ ।
निगमसँग भएका चिनियाँ विमानहरू नियमित उडानमा छैनन् नि !
चिनियाँ विमान धेरै देशमा चलिरहेका छन् । तर, हामीकहाँ यसलाई लिएर प्रचारबाजी गरिएको छ । हाम्रो हकमा सपोर्ट सिस्टम राम्रो नभएर चिनियाँ विमान नउडेको हो । दशैंमा चिनियाँ विमान उडाउने गरी काम गरेका छौं । ढुक्क भएर नेपाल एअरलाइन्सको टिकट काट्न म आग्रह गर्छु ।
महाप्रबन्धकको कार्यकारी अधिकार तपाईंलाई दिइएको छ, काम गर्न समस्या पर्दैन ?
हामीबीच कुनै समस्या छैन । महाप्रबन्धक (सुगतरत्न कंसाकार) ले बोर्ड र कार्यकारी अध्यक्षले दिएको काम गर्नुहुन्छ । सुगतजीले पनि काम गर्न कुनै टसल नहुने बताउनुभएको छ । केही मिडियाले हामीबीच फाटो पार्ने असफल प्रयास गरेका छन् ।