अख्तियारलाई निजी क्षेत्र हेर्न दिने कि नदिने विषयमा अध्ययन गर्न उपसमिति गठन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा अनुसन्धान गर्न दिने कि नदिने भन्ने विषयमा अध्ययन गर्न राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ।
समितिको बिहीबार बसेको बैठकले सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिमा रघुजी पन्त, अशोक राई, हितराज पाण्डे, चन्दा कार्की भण्डारी, बुद्धिमान तामाङ, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला र सरिता प्रसाईं सदस्य छन्।
उपसमितिलाई भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा दफावार छलफल गरी विधेयकमा रहेका जटिल विषयमा सहमति जुटाउने जिम्मेवारी दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
२०७९ चैतमा राष्ट्रिय सभाबाट पारित भएर यो समितिमा पुगेको विधेयक मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गरेर निजी क्षेत्रमा अनुसन्धान गर्न पाउने, भ्रष्टाचार मुद्दा दायरको म्याद लगायत विषय परिवर्तन गर्न खोजिएको छ।
यसअघि भदौ १४ गते बसेको बैठकले ‘भ्रष्टाचारजन्य कसूर थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने हदम्याद’ हटाउने निर्णय गरिसकेको छ।
यो पनि पढ्नुहोस् :