बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ
नेपालमा १६ वर्ष उडान गरेको बुद्ध एअरको सबैभन्दा पुरानो ‘एटीआर ४२-३२०’ विमानलाई बिदाइ गरिएको छ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई बिदाइ गर्दै बुद्ध एअरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपालको हवाई क्षेत्रको इतिहासमा पहिलो पटक विमानलाई बिदाइ गरिएको बताए। “यो क्षण बुद्ध एअर र नेपालको हवाई क्षेत्रको इतिहासमा महत्त्वपूर्ण छ। यो पहिलो पटक हो, जब कुनै विमानले आफ्नो पूरै सेवा अवधि पूरा गरेर सेवानिवृत्त भएको छ।”
सन् २००८ मा बुद्ध एअरले यो विमान खरीद गरेको थियो। त्यति वेला तीन वटा विमान खरीद गरिएका थिए।
![buddha air (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Aviation/Bangla Air/buddha air (2).jpg)
‘९एन-एआईएन’ कल साइनको यो विमान सन् १९९५ मा निर्माण भएको थियो। ४७ सीटे विमानको एटीआर सिरियल नम्बर ४०३ हो।
यसले सन् २००७ सम्म फ्रान्सेली प्रशान्त उपनिवेशको एअर क्यालेडोनियाका लागि उडान गरेको थियो। त्यसपछि बुद्ध एअरले किनेको थियो।
नेपालमा धेरैजसो विमान आफ्नो जीवनचक्र पूरा गर्नुअघि नै बेचिने वा कवाडीमा परिणत हुने गर्छन्। सामान्यतया प्रेसरयुक्त विमानको जीवनकाल ३० वर्षको हुन्छ। २९ वर्ष पुरानो यो विमानले लगभग ७० हजार पटक उडान र अवतरण गरिसकेको थियो।
यस विमानका केही ककपिट उपकरण, ल्यान्डिङ गियर र ‘प्राटी एन्ड ह्वीट्नी पीडब्लू-१२१’ इन्जिनहरू कम्पनीका बाँकी दुई ‘एटीआर-४२’ विमानमा प्रयोग गरिने बुद्ध एअरले जनाएको छ। विमानको बाहिरी भाग भने काठमाडौं विमानस्थलले आगलागी नियन्त्रण र उद्धार अभ्यासमा प्रयोग गर्नेछ।
![buddha air (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Aviation/Bangla Air/buddha air (4).jpg)
मंगलबार बिहान यस विमानले आफ्नो अन्तिम उडान सगरमाथा अवलोकन उडानका रूपमा गरेको थियो। यस उडानमा एटीआर सिंगापुरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी, एअरलाइनका लगानीकर्ता र कर्मचारी सहभागी थिए। विमान अवतरणपछि सीधै बुद्ध एअरको ह्यांगरमा लगिएको छ।
बिदाइ समारोहमा एटीआर एसिया प्यासिफिकका पवन तनवानी, काठमाडौंस्थित फ्रान्सेली दूतावासकी एल्सा कैली र बुद्ध एअरका कार्यकारी अध्यक्ष बस्नेत तथा कर्मचारी उपस्थित थिए।
बुद्ध एअरले सन् २००८ मा भित्र्याएका अन्य दुई ‘एटीआर ४२-३२०’ विमानले ‘९एन-एआईटी’ र ‘९एन-एआईएम’ भरतपुर र सिमरा क्षेत्रमा उडान गर्दै आएका छन्। अहिले बुद्ध एअरसँग १७ विमान छन्।
![buddha air (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Aviation/Bangla Air/buddha air (5).jpg)