लोकार्नोले चिनाएकी थिन्ले
आफूलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड दिलाउने शाम्बालाप्रति थिन्ले कतिसम्म गम्भीर थिइन् भने उनलाई अहिले पनि डोल्पाको विकटताभन्दा पेमाको भूमिकामा डुब्न गरेको संघर्ष बढी याद आउँछ।
स्वीट्जरल्यान्डमा हालै सम्पन्न ७७औं लोकार्नो फिल्म महोत्सव नेपाली चलचित्र क्षेत्रका लागि खास रह्यो। महोत्सवमा नेपालबाट सहभागी चलचित्र शाम्बालाका लागि थिन्ले ल्हामो उत्कृष्ट अभिनेत्री (बोक्कालिनो डिओर) घोषित भइन्। यो यस्तो उपलब्धि हो जुन यति प्रतिष्ठित चलचित्र महोत्सवमा यसअघि दक्षिणएशियाकै कुनै अभिनेताले पाएको छैन।
त्यसैले त शाम्बालाका निर्देशक मीन भामले महोत्सव लगत्तै हिमालखबरलाई भनेका थिए, “थिन्लेको जित भनेको नेपाली चलचित्रले अन्तर्राष्ट्रिय जगत्मा ठाउँ बनाउनु हो, नेपाली युवा अभिनेतालाई झन् राम्रो गर्न प्रेरणा मिल्नु हो।” यो चलचित्र बर्लिन फिल्म महोत्सवमा पनि प्रदर्शन भएको थियो।
बाँसुली र कालोपोथी चलचित्र बनाएर अन्तर्राष्ट्रिय ख्याति पाएका भामले शाम्बालामा हिमाली भेगको जनजीवन, खासगरी बहुपति प्रथालाई मियो बनाएका छन्। हिमाली भेगमा दाजुभाइले एउटै केटी बिहे गर्ने प्रचलन छ। हिमालमा खेतीयोग्य जमीन कम हुने भएकाले एउटै पत्नी राख्दा दाजुभाइ छुट्टिन नपर्ने र सम्पत्ति जगेर्ना हुने विश्वासले यो प्रथालाई जिउँदो राखिरहेको थियो। सोही प्रथामा जोडिएकी महिलाले भोगेको व्यथा र संघर्ष लोकार्नोमा प्रदर्शित हुँदा निर्देशक भामसँगै अभिनेत्री थिन्लेले वाहवाही पाइन्।
भर्खर तेस्रो चलचित्र खेल्दै गरेकी २७ वर्षीया थिन्लेलाई त आफू अभिनेत्री हुँ भन्ने नै लाग्दैनथ्यो। उत्कृष्टताको अवार्ड थापेपछि बल्ल उनलाई लाग्दै छ– अब चाहिं साँच्चै अभिनेत्री बन्नुपर्छ। “मलाई त आफूले अभिनेत्री भनेर चिनिने गरी काम गरे जस्तै लागेको थिएन। यो जितले अब अभिनयमै केही गर्ने आत्मविश्वास दिएको छ,” थिन्ले भन्छिन्।
चलचित्रमा उनी पेमाको भूमिकामा छिन्। पेमाको विवाह तासी र उसका दुई भाइसँग हुन्छ। तासी ल्हासा गएका वेला गाउँमा नयाँ युवकको प्रवेश हुन्छ। त्यही छेका पेमा गर्भवती हुन्छिन्। समाजले गर्भबारे प्रश्न उठाउँछ। पेमा तासीलाई सत्य बताउन ल्हासातिरै लाग्छिन्। यही यात्रा पेमाका लागि आफूलाई चिन्ने अवसर बन्छ। थिन्लेका लागि चाहिं आफ्नो अभिनय क्षमता जाँच्ने र सपना छुने अवसर।
थिन्लेलाई सानैदेखि नृत्य र गायनमा रुचि थियो। त्यसैले नेपाल-तिब्बत ओपेरा संघमा आबद्ध भइन्। त्यहीं धेरथोर अभिनय पनि सिकिन्। “त्यसअघि मञ्चमा कहिल्यै केही गरेकी थिइनँ,” उनी भन्छिन्, “नाच्दा कसरी प्रस्तुत हुने भन्ने त्यहीं सिकें। नाटकहरूमा काम गर्दै जाँदा चलचित्रको दुनियाँमा ढल्किन सहज भयो।”
थिन्लेलाई सानैदेखि कलाक्षेत्रमै लाग्छु भन्ने थियो, तर चलचित्रमा अभिनेत्री नै बन्छु भन्ने थिएन। त्यसैले २०७४ सालमा नाका चलचित्र खेल्नुलाई नै संयोग मान्छिन्। त्यसमा उनी तिब्बती युवतीको भूमिकामा छिन्। त्यसपछि चलचित्रतिरै उत्सुकता बढ्दै गयो। केही महीनामै हरि चलचित्रबाट प्रस्ताव आयो। दुवै चलचित्रमा उनले विपिन कार्कीसँग काम गरेकी छन्।
यसपछि उनी अर्को प्रस्तावको प्रतीक्षामा थिइन्। नआएपछि डेढ वर्ष जति एक निजी संस्थामा काम गरिन्। तर अब अभिनयको चस्का यसरी पसेको थियो कि चलचित्रकै दुनियाँ याद आइराख्यो। उनलाई आफ्नो खास रुचि र सपना नै अभिनय हो भन्ने लाग्न थाल्यो।
यहीबीच शाम्बाला बन्ने गाइँगुइँ चल्दै थियो। उनले पहिले अनुप बरालका अभिनय कार्यशालाहरूमा भाग लिइन्। अनि अरू कलाकारसँग प्रतिस्पर्धा गर्दै शाम्बालामा ‘अडिसन’ दिइन्।
पेमाको भूमिकामा छनोट भइहालिन्। चलचित्रमा छानिए पनि कुशल निर्देशक भामलाई खुशी पार्न सहज थिएन। मुख्य पात्रकै भूमिका रहेकाले थिन्लेको काँधमा ठूलै भार थियो। यो चरित्रलाई न्याय गर्न नसकिएला कि भन्ने ठूलो चिन्ता थियो उनलाई। अर्कातिर भारतीय तिब्बती अभिनेता तेन्जिङ दाल्हा, तिब्बती गायक-अभिनेता सोनम तप्देन र नेपालकै कर्म शाक्य जस्ता अनुभवी कलाकारसामु फिका भइएला कि भन्ने संकोच पनि थियो। “तर उहाँहरूकै सहयोगले मेरो काममा निखार आए जस्तो लाग्छ अहिले,” उनी भन्छिन्।
यो चलचित्रका लागि थिन्लेले तीन महीना डोल्पामा बिताइन्। पहिलो दुई महीना टोलीलाई त्यो ठाउँसँग परिचित गराइयो। छायांकन चाहिं २३ दिन जतिमा पूरा गरियो। गाडी नपुगेको, जताततै हिउँले ढाकिएको विकट भेग थियो त्यो। तर त्यहाँको बसाइभन्दा पेमाको भूमिकामा डुब्नु बढी गाह्रो लागेको थियो थिन्लेलाई। घरीघरी त भूमिकामा पस्नै सक्दिनथिन्।
यस्तो वेला अनुभवी सहकर्मीहरूसँग छलफल गर्थिन् र सिक्थिन्। सकारात्मक विचार, मद्दत माग्न नहिचकिचाउने र सिक्ने ढिपीले नै अन्तिममा उनले आफ्नो जिम्मेवारी पार लगाइछाडिन्। त्यो पनि उत्कृष्टतापूर्वक। यसको प्रमाण लोकार्नो महोत्सवले नै दिइसकेको छ। तर यो उपलब्धि नै अन्तिम होइन। थिन्लेले यो कुरा राम्ररी बुझेकी छन्। “पेमाको भूमिकामा मैले सके जति इमानदारी दिएँ,” उनी भन्छिन्, “तर मैले आफूलाई अझै थुप्रै ठाउँमा सुधार गर्न बाँकी छ।” शाम्बाला भदौ २८ देखि काठमाडौंमा प्रदर्शन हुँदै छ।