नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर दुई हजार ३१० बिन्दु पार गरेको हो।
करीब २६ महीनापछि नेप्से परिसूचक दुई हजार ३१० बिन्दु नाघेको हो। लामो समय शिथिल शेयर बजारमा पछिल्लो समय सुधार आइरहेको छ। दुई साताअघिसम्म दुई हजार बिन्दुको हाराहारीमा थियो। मंगलबार मात्रै नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अर्थमन्त्री विष्णु पौडेल बनेपछि कतिपय लगानीकर्ताले बजार बढ्ने अपेक्षा गरेका थिए। पौडेलको शेयर बजारप्रति सकारात्मक धारणा रहने गर्छ। पौडेलले शेयर बजारमैत्री नीतिहरू भने अघि सारिसकेका छैनन्।
पद बहालीका क्रममा मन्त्री पौडेलले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो धारणा मिल्ने बताएका थिए। लगानीकर्ताले अर्थमन्त्री पौडेलको समन्वयबाट नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा शेयर बजार सम्बन्धी खुकुला नीतिहरू आउने अपेक्षा गरेका छन्।
मंगलबार शेयर बजारमा रु. नौ अर्ब १३ करोडभन्दा बढी रकमको शेयर किनबेच भएको छ। बजार सुस्त भएका वेला कारोबार रकम रु. एक-दुई अर्बमा खुम्चिने गरेको थियो। पछिल्ला दिनमा कारोबार रकम लगातार बढ्नुले बजारमा क्रेता र विक्रेता सक्रिय भएको देखाउँछ।
मंगलबार २३४ कम्पनीको शेयर मूल्य बढेको छ। मूल्य घट्ने कम्पनी जम्मा आठ वटा मात्रै छन्। जलविद्युत्, विकास ब्यांक समूहका शेयरको मूल्य १० प्रतिशत हाराहारीसम्मले बढेको छ।
सर्वाधिक सिन्धु विकास ब्यांक, वरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट ब्यांक, मन्दाकिनी हाइड्रो लगायत कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
योसँगै शेयर बजारको कुल पूँजीकरण मूल्य रु. ३६ खर्ब ६६ अर्ब पुगेको छ।