अमेरिकामा नेपाली संग्रहालय खोल्न दौड
![अमेरिकामा नेपाली संग्रहालय खोल्न दौड](https://himal.softnep.website/uploads/posts/800X600/bal-joshi-1717487643.jpg)
अमेरिकामा नेपाली म्यूजियम खोल्न केही वर्षदेखि म्याराथन र अल्ट्राम्याराथनमा दौडिरहेका बाल जोशी यस पटक भने सगरमाथा क्षेत्रमा कुदे।
सगरमाथा क्षेत्रमा जेठ १६ मा आयोजित ‘तेन्जिङ हिलरी एभरेस्ट म्याराथन, २०२४’ मा नेपाली मूलका अमेरिकी नागरिक बाल जोशी पनि प्रतिस्पर्धी थिए। उनी खेलाडी त होइनन्, तैपनि संसारकै अग्लो स्थान र जोखिमपूर्णमध्ये मानिएको दौडमा प्रतिस्पर्धा गर्न अमेरिकाबाट सगरमाथा क्षेत्र पुगे।
म्याराथनको उपाधि भने नेपाली धावक सुमन कुलुङले जिते। जोशीले आठ घण्टा ५६ मिनेटमा दौड पूरा गरे। उपाधि जित्न नभई अमेरिकामा नेपाली संग्रहालय खोल्न सहयोग जुटाउने हेतुले दौडिएको जोशी बताउँछन्। “मैले यो दौड पूरा गरें, अब नेपाल हेरिटेज म्यूजियम बनाउने खास दौड शुरू भएको छ,” जोशी भन्छन्।
उनी अमेरिकामा नेपाली संस्कृति जगेर्ना गर्न ‘नेपाल हेरिटेज म्यूजियम’ स्थापना गर्न लागिपरेका छन्। त्यसका लागि स्रोत जुटाउन एभरेस्ट म्याराथनमा सहभागी भएका हुन्। “आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यहरूबाट पनि उठाउन सकिन्थ्यो होला। तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने उद्देश्य हो,” जोशी भन्छन्।
अमेरिकामा ‘नेपाल हेरिटेज म्यूजियम’ खोल्ने योजना करीब तीन वर्षअघि जन्मिएको हो। त्यति वेला उनी ‘नेप्लिज अमेरिकन चेम्बर’ का अध्यक्ष थिए। चेम्बरकै परिकल्पनामा उनले म्यूजियमको योजना अघि सारेका थिए। चेम्बरबाट पनि भरथेग पाएका थिए।
अमेरिकामा स्थायी आवासीय अनुमति पाउने नेपालीको संख्या एक लाख हाराहारी पुगिसकेको छ। नेपाली मूलको बसोबास बढ्दै गएसँगै अवसरको खोजीमा नेपाल छाडेर अमेरिका पुग्नेहरू पनि बढ्दै छन्।
अबको केही दशकपछि अमेरिकामा रहेको नेपाली समुदायको तस्वीर कस्तो देखिएला? उनीहरू नेपाल र नेपाली संस्कृतिसँग कसरी जोडिएर रहलान्? यही प्रश्नले चिमोटेपछि म्यूजियमको परिकल्पना गरेको उनी सुनाउँछन्।
अहिले अमेरिकामा थोरै संख्यामा मात्र नेपाली मूलका दोस्रो पुस्ता छन्, जो नेपाली मूलका बाबुआमाबाट अमेरिकामा जन्मिएका हुन्। बाहुल्य भने पहिलो पुस्ता अर्थात् नेपालमै जन्मिएर अमेरिका पुगेका नेपालीको छ। अबको केही दशकमा अधिकांशको परिवार अमेरिकाको मिश्रित संस्कारमै घुलिसक्ने उनी बताउँछन्।
नयाँ पुस्तालाई नेपालसँग जोडिराख्नुपर्ने उनको भनाइ छ। “नयाँ पिढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नै पर्छ भन्ने लाग्यो,” जोशी भन्छन्, “यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्यूजियम निर्माण गर्नु हो।”
टेक्ससको युलेसमा नेपाली मन्दिर बनेको छ। त्यसकै परिसरमा अलग्गै संरचना सहित नेपाल हेरिटेज म्यूजियम बनाउने योजना रहेको उनी बताउँछन्। जोशीका अनुसार यसलाई ‘मिनी-नेपाल’ अवधारणाका रूपमा अघि बढाउन खोजिएको छ।
यसका लागि नेप्लिज अमेरिकन चेम्बरले नेपालको पुरातत्त्व विभाग, पुरातत्त्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थासँग विभिन्न चरणमा छलफल गरिसकेको छ। धेरैले सघाउने वचन पनि दिएका छन्। “यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपाली मूलका सबैले गर्व गर्न सक्ने गरी पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,” उनी भन्छन्।
यही सपनालाई पछ्याउँदै उनी सगरमाथा क्षेत्र पुगेका हुन्। यसका लागि उनी तीन-चार वर्षदेखि म्याराथन र अल्ट्राम्याराथन दौडिइरहेका छन्। गत वर्ष मात्रै पाँच वटा म्याराथन र दुई वटा अल्ट्राम्याराथनमा सहभागी भएको उनी सुनाउँछन्। “अबका दुई/अढाई दशक नेपाल हेरिटेज म्यूजियमका लागि दिने निधो गरेको छु,” जोशी भन्छन्।
यतिका दौडमा सहभागी भइसकेका उनले किन तेन्जिङ हिलरी एभरेस्ट म्याराथन रोजे? यसका लागि उनी सगरमाथा आरोहणलाई सम्झिन्छन्। ७० वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। त्यही दिनको सम्झनामा हरेक वर्ष २९ मेमा सगरमाथा दिवस मनाइँदै आएको छ। उक्त दिवसको अवसरमा सगरमाथा क्षेत्रमा तेन्जिङ हिलरी एभरेस्ट म्याराथन आयोजना हुने गरेको छ।
जसरी सगरमाथाले संसारको ध्यान तानेको छ, त्यसरी नै सगरमाथा क्षेत्रबाट संसारभर रहेका नेपालीको ध्यानाकर्षण गर्न दौडिने गरेको उनी सुनाउँछन्। “दौडेर ‘फन्ड रेज’ गर्नु मात्रै मेरो उद्देश्य होइन,” जोशी थप्छन्, “विदेशमा रहेका भावी पुस्तालाई एक म्यूजियम चाहिन्छ भन्ने भावनाको विकास गर्नु पनि हो।”