‘बुद्ध वाज् बर्न इन नेपाल’ भनेर बस्ने कि बुद्ध सन्देश बुझ्ने?
![‘बुद्ध वाज् बर्न इन नेपाल’ भनेर बस्ने कि बुद्ध सन्देश बुझ्ने?](https://himal.softnep.website/uploads/posts/800X600/buddha-(1)-1716444145.jpg)
गौतम बुद्धको शिक्षा र दर्शनको पाटो छाडेर उनी सम्बन्धी घटनाविशेषमा अल्झिनु बुद्धलाई नबुझ्नु हो।
वसन्त महर्जनबुद्धहरू एक होइन, अनेकौं नामका हुन्छन्। बुद्ध भनेको कुनै व्यक्तिविशेषको नाम नभई ज्ञानले दीप्त भएको अवस्था हो। हालसम्म ज्ञात रूपमा २८ बुद्ध छन्। प्रत्येक नामका बुद्धहरूको आआफ्नै समय हुन्छ। कसैले बुद्धत्व लाभ गरेपछि त्यसको प्रभाव रहुन्जेलको समयलाई तत्तत् बुद्धको शासनकाल भनिन्छ। उक्त शासन अवधिभरका बुद्ध उनै रहन्छन्।
अहिले गौतम बुद्ध (इपू ५६३-४८३)को शासन छ। बुद्ध र बौद्ध धर्मबारे हामीले उनी मार्फत थाहा पाएको र अहिले उनैको धर्म देशना अर्थात् शिक्षा र उपदेश विद्यमान रहेकाले उनको शासन मानिएको हो।
गौतम बुद्धको जन्म इपू ५६३ मा वैशाख पूर्णिमाको दिन तत्कालीन शाक्य गणराज्यको पूर्वी सीमा क्षेत्रस्थित लुम्बिनीमा भएको थियो। ३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरी ४५ वर्षसम्म उपदेश दिंदै ८० वर्षको उमेरमा उनको महापरिनिर्वाण भयो। बुद्धको जन्म, बोधिलाभ (इपू ५२८) र महापरिनिर्वाण (इपू ४८३) वैशाख पूर्णिमाकै दिन भएकाले बौद्ध धर्मका अनुयायीहरूले यस दिनलाई विशेष रूपमा सम्झने गर्छन्। यसैले ‘वैशाख पूर्णिमा’ लाई ‘बुद्ध पूर्णिमा’ पनि भनिन्छ।
बुद्धको जीवनका चार घटनालाई बौद्धहरूले अत्यन्त महत्त्वपूर्ण मान्छन्। जन्म (लुम्बिनी), बोधिलाभ (बोध गया), पहिलो पल्ट धर्मोपदेश दिएको (सारनाथ) र महापरिनिर्वाण भएको ठाउँ (कुशीनगर)लाई उनीहरू चार धाम भन्छन्। श्रद्धापूर्वक यी ठाउँको तीर्थयात्रा गर्छन्।
यी चार धाममा किन जाने? बुद्धलाई किन सम्झने? यी दुई प्रश्नमा विमर्श गरे बौद्ध धर्मदर्शनलाई बुझ्न सहज हुन्छ।
माथि उल्लिखित चार धाम अत्यन्तै संवेजनीय रहेको जनाउँदै यी ठाउँको भ्रमण गर्न गौतम बुद्धले नै भनेका थिए। संवेजनीय भन्नाले विशेष भाव वा वैराग्य जाग्ने भएकाले ध्यान गर्न उपयुक्त हुने। बुद्धलाई जीवनको अन्तिम समयमा भिक्षु आनन्दले सोधेको एक प्रश्नको जवाफमा बताएको यो विवरण बौद्ध ग्रन्थ महापरिनिर्वाण सूत्रमा उल्लेख छ।
![buddha (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/Buddha - बुद्ध/buddha (4).jpg)
बुद्ध शिक्षाको सार पक्रन वैराग्य भाव नितान्त आवश्यक हुन्छ। वैराग्य एक पल्ट मात्रै जागेर हुँदैन, यसलाई निरन्तरता दिइराख्नुपर्छ। यसैलाई बौद्ध साधना भनिन्छ। यही साधनाका लागि बुद्धले चार ठाउँलाई बढी उपयुक्त मान्दै संवेजनीय स्थल भनेका हुन्।
चार संवेजनीय स्थलमा प्रायः देखिने एउटा दृश्य हो, यहाँ पुग्ने बौद्धहरू स्वतः गम्भीर हुन्छन् र कतिपय अवस्थामा द्रवीभूत भएर आँखाबाट बरर आँसु झार्छन्। बौद्ध धर्मदर्शनमा ध्यानलाई विशेष जोड दिइन्छ। बौद्धहरूले ध्यानलाई जीवनशैली नै बनाउँछन्। यही ध्यान बौद्ध धर्मको आधारभूत दार्शनिक मान्यता अनित्य, दुःख र अनात्म बुझ्ने माध्यम हो।
ध्यानको अनुभव सबैलाई एउटै हुँदैन र उही व्यक्तिलाई पनि कहिले ध्यान लाग्ने र कहिले नलाग्ने हुन्छ। तर चार संवेजनीय स्थलमा सजिलै र सघन रूपमा ध्यान लाग्ने साधकहरूको अनुभव सुनिन्छ। यही भएर बौद्धहरू दैनिक रूपमा आफ्नै घर वा विहारमा बसेर ध्यान गर्ने भए पनि वेलावेला बौद्ध तीर्थस्थलहरू जाने गर्छन्। यी ठाउँमा पुग्दा गैरबौद्ध धर्मावलम्बीहरू पनि बेग्लै शान्ति महसूस गर्छन्।
बौद्ध वातावरणको रक्षा
बौद्ध स्थलहरूमा पुग्ने कतिपय मानिसको अपाच्य र अशोभनीय व्यवहारले नेपालमा बौद्ध शिक्षाको स्थिति निकै कमजोर देखाउँछ। बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हुन्, बौद्ध स्थल। यी ठाउँमा अन्य धर्मका मानिसले पनि निर्बाध प्रवेश पाउँछन्। उनीहरू पर्यटकका रूपमा जान्छन्, वस्तुस्थिति हेर्छन् र रमाउँछन्।
तर कुनै पनि ठाउँमा घुम्न जाँदा पर्यटकले त्यहाँको संरचनामा दखल दिने, वातावरण बिथोल्ने काम गर्नु हुँदैन। विडम्बना के भने, बुद्धसँग जोडिएको चार संवेजनीय स्थलमा जाने कतिपय पर्यटकले सामान्य मर्यादा पनि पालना नगरी अशान्ति फैलाइरहेका हुन्छन्। त्यसमा पनि बौद्ध वातावरण बिथोल्ने गरी सबैभन्दा बढी होहल्ला लुम्बिनीमा हुने गरेको छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र। तस्वीर: सागर पाण्डे‘पिकनिक खाने ठाउँ नबनाए लुम्बिनीमा को आउँछ र?’ भन्ने मानसिकताबाट पिकनिक स्थल पनि बनाइएको छ। त्यहाँ सामान्य अवस्थामा पनि हल्ला हुने भइहाल्यो, त्यसमाथि मदिरा सेवनकर्ता र उग्र स्वभावका व्यक्तिहरू आपसमा झगडा गरेर वातावरण झनै खलबल्याउँछन्। लुम्बिनीको छविमा दाग लगाउने यस्ता क्रियाकलाप तत्काल रोक्नुपर्छ। बुद्ध र बौद्ध धर्मदर्शन सबैले बुझेकै हुनुपर्छ भन्ने आग्रह भाव राख्नु व्यावहारिक हुँदैन। तर कुनै पनि तीर्थस्थल जाँदा त्यहाँको वातावरणलाई बिथोल्नु हुँदैन भन्ने न्यूनतम चेतना त हुनै पर्छ।
बुद्धको मर्म भुलेर दाबीमा जोडबल
माथि नै चर्चा गरियो, गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाण वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा)कै दिन भएकाले यी तीन वटै घटनाको सग्लो आयाममा यस दिनको विशेष महत्त्व छ। बुद्ध पूर्णिमा यी तीन वटै पाटो जोडेर गरिने बुद्धको विशेष सम्झना हो। तर नेपालमा बुद्ध पूर्णिमालाई संकुचन गर्दै लगिएको पाइन्छ। बुद्धको जन्म र जन्मस्थलमा केन्द्रित संकुचनकै सिलसिला हो, बुद्ध पूर्णिमालाई ‘लुम्बिनी डे’ मा सीमित गर्न खोजिनु।
बुद्धको जन्मसँगै बोधिलाभ र महापरिनिर्वाण समेतको सन्दर्भमा ‘बुद्ध जयन्ती’ मनाउने प्रचलन श्रीलंका र भारतबाट नेपालमा राणाकालमा भित्रिएको हो। त्यसअघि यो शब्दावलीको प्रयोग हामीकहाँ गरिंदैनथ्यो। यो सग्लो पाटो छाडेर जन्म र जन्मस्थल लुम्बिनीको विषयमा खुम्चिनु राम्रो होइन।
![buddha (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/Buddha - बुद्ध/buddha (5).jpg)
अर्कातिर, बुद्धको दर्शनको मर्म बुझ्नु साटो हामी बोक्रे कुरामा रमाउँदै आएका छौं। 'बुद्ध वाज् बर्न इन नेपाल' भन्ने रटान लगाइरहन्छौं, तर बुद्धको मार्गदर्शन र सन्देश आत्मसात् वा विस्तार गर्न चुकिरहेका छौं। नेपालले बुद्ध मार्फत विश्वमा आफूलाई चिनाउन उनको जन्मको दाबी गर्न नसक्ने होइन। तर बुद्ध भनेकै के हो, यो धर्मदर्शनले के कुरामा जोड दिन्छ, त्यसलाई कसरी हासिल गर्ने लगायत प्रश्नलाई उपेक्षा गरेर विश्व रंगमञ्चमा नेपालले बुद्धप्रति अपनत्व दर्शाउनुको अर्थ रहँदैन।
वैशाख पूर्णिमाको दिन बुद्धलाई सम्झनुको तात्पर्य बुद्धको शिक्षा मनन गर्नु हो र त्यसलाई जीवनमा उतार्न प्रतिबद्ध हुनु हो। विश्वले बुद्धको शिक्षाकै कारण उनलाई मानेको हो। बुद्धलाई उनको जन्म जस्तो घटनाविशेषका आधारमा मात्रै बुझ्ने हो भने बुद्ध र बौद्ध धर्मदर्शन भोलिका दिनमा नेपाल र भारतमा मात्रै सीमित हुन सक्छन्। बुद्ध जयन्तीका कार्यक्रमहरू अन्य उत्सव जस्तो रामरमाइलोका लागि नभई बुद्ध र उनको शिक्षालाई सम्झने र साधनामा अझ समर्पित हुन प्रतिबद्धता जनाउने अवसर हो।